पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार २ र सोमबार १ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण निधन भएको छ । सङ्क्रमित वृद्ध निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी रहेका थिए ।
यस्तै हिजो आइतबार धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवाको धनुषाको प्रादेशिक अस्पतालबाट धरान रिफर गरेर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यता आइतबार नै वीरगञ्ज महानगरपालिका वडा नं १० का ६५ वर्षीय एक वृद्धको गण्डक अस्पताल बिरगञ्जमा उपचारका लागि भर्ना गराइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । उनी मधुमेह र मुटु रोगीसँगै कोरोनाबाट सङ्क्रमित थिए ।
योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।








