वीरगंजस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार गराई रहेका वीरगंज आदर्शनगर निवासी ६५ वर्षीय श्याम सुन्दर बगरीयाको निधन भएको छ ।
मुटु रोगी समेत रहेका उनलाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागि नारायणी अस्पताल लगिएकोमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको आज बिहान साढे ६ बजे मृत्यु भएको र मृतकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिए ।
यसअघि वीरगंजमा भारत माइती भई वीरगञ्ज– २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी गत मङ्गलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अर्को आदेश नभएसम्मका लागि वीरगंज महानगर क्षेत्र भित्र शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।
अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये ४ जनाको अबस्था गभ्भीर रहेको छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिए।








