धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको निधन भएको छ । मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो । उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो ।
बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो । अस्पताल ल्याएको दिन उनको स्वाब परीक्षण गरीएको थियो। सोही दिन पोजिटिभ आएको उनले जानकारी दिए । प्रवक्ता डा सापकोटाका अनुसार साँझ नै मृतकको शवलाई महोत्तरी पठाइसकिएको छ ।
यसअघि पनि सप्तरीको राजविराज निवासी एक वृद्धको पनि वीपीमा उपचारको क्रममा निधन भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ४१ जनाको निधन भएको छ । यद्यपी स्वास्थ्य मन्त्रलायले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन् ।








