नीजि क्षेत्रका यातायात व्यवसायीले साउन ८ गतेदेखि सम्पूर्ण यातायातका साधन सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि यातायातका साधन पूर्णरुपमा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

गत चैत्र ११ गतेदेखि सरकारले सार्वजनिक यातायात संचालनमा लगाएको रोक असार २६ गतेदेखि काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सञ्चालन गर्न पाउनेगरी खुल्ला गरेपनि व्यवसायीहरुले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न मानेका थिएनन ।

अहिले मौद्रिक नीतिमार्फत व्यवसायीहरुको अधिकांश माग सरकारले सुनुवाई गरेपछि व्यवसायीहरु यातायात संचालनका लागि राजी भएका हुन । महासंघले पत्रकार सम्मेलनमा आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।