नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । बर्सेनि आत्महत्याका संख्या बढी नै रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउँछ । महिलाको आँकडालाई हेर्दा त तेश्रो स्थानमा पर्न आउँछ ।

लकडाउन अवधिभरमा देशभरमा आत्महत्या गर्नेको संख्या १५्सयको हाराहारीमा पुगेको प्रहरीको तथ्यांक रहेको छ, जसमा युवाहरुको संख्या धेरै रहेको छ । लक्षण पहिचान गरि रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिने मनोविश्लेषकहरु बताउँछन् ।

आत्महत्याको यो कहालीलाग्दो तथ्याकं देखेर रोट्रयाक्ट क्लब अफ राजधानी र आरआईडी ३२९२ ले ‘आत्महत्या जागरूकता र रोकथाम’ विषयक भर्चुअल सत्र आयोजना गर्यो । ‘ऐ अनमोल आत्मा, तपाईको अस्तित्व छ।’ मूल नारासहित सञ्चालित उक्त अनलाइन सत्रमा मनोपरामर्शकर्ता कृपा सिग्देलले सहजिकरण गरेकी थिइन् । रोट्रयाक्ट लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध विभिन्न उमेर समूहका ३५ भन्दा बढी व्यक्तिहरुले उक्त सत्रमा सहभागिता जनाएका थिए ।

उक्त सत्रमा आत्महत्या गर्न सिर्जना हुने विचार र कारणहरु, आत्महत्या पूर्व देखाउने लक्षण, समाधानका उपाय र आत्महत्या निरुत्साहित गर्नका लागि जनजागरण सम्बन्धमा जोड दिइएको थियो । सहजकर्ताले सहभागीहरुलाई नजिकका व्यक्तिहरु वा चिनजानका व्यक्तिहरुमा आत्महत्या गर्ने व्यक्तिमा देखिने लक्षण देखिएमा के गर्ने र उपचारका लागि कहाँ लैजाने भन्ने मार्गदर्शन गरेकी थिइन् ।

उनले सकारात्मक दृष्टिकोण भएमा जुनसुकै कठिन समस्याहरुसँग समेत जुध्न सकिने हुँदा हरसमयमा सकारात्मक दृष्टिकोण लिनका लागि प्रेरित गरिन् । जुम एप्स मार्फत सञ्चालन गरिएको उक्त फलदायी सत्रमा लकडाउनका कारण मानसिक समस्या भएका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमकी सहभागी प्रयास सुवेदीले आफ्नो विचार राख्दै भनिन् –‘मलाई रोट्रयाक्ट क्लव अफ राजधानीले आयोजना गरेको अनलाइन सेसन एकदमै उपयोगी लाग्यो । सहजकर्ताको प्रस्तुति साहै्र राम्रो थियो । सहजकर्ताले मानसिक समस्या र आत्महत्या रोकथामका विषयमा उब्जिएका प्रश्नहरुको एकदमै सरल र सजिलै बुझ्न सकिने गरी जानकारी गराउनुभयो । उहाँले सिकाएको आत्मविश्लेषण गर्ने विधि चाखलाग्दो थियो । मैले सेसनबाट निकै मज्जा लिएँ ।’