विदेशबाट फर्कने नेपाली राख्न उपत्यकाका यी स्थानमा ‘होल्डिङ सेन्टर’ तय, रोकिएका शव पनि ल्याइने

news-details

नगेन्द्र सापकोटा/भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो । सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) बाट विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी आवश्यक तयारी गरिरहेको छ ।

त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरिएको जिल्ला समन्वय समिति काठमाडौंँका प्रमुख एवं सीएमसी काठमाडौंँका सल्लाहकार शिवसुन्दरराज वैद्यले जानकारी दिए ।

उनका अनुसार बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस वसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

त्यस्तै भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्सङ केन्द्र कीर्तिपुर र राधा स्वामी सत्सङ व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

भक्तपुरमा प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए ।

ललितपुर सीएमसीका सदस्य एवं राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्को मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ बमोजिम सम्बन्धित व्यक्ति स्वयंले नै भुक्तानी गर्नेगरी क्वारेन्टाइनका रूपमा प्रयोग गर्न होटलको सूची सीएमसीले तयार गरेको छ । उक्त होटलको सूची आफ्नो वेबसाइटमा प्रकाशन गर्ने वैद्यले बताए । होल्डिङ सेन्टरमा काउन्टर राखी निःशुल्क सिमकार्ड र वाइफाईको व्यवस्था गरिनेछ ।

विदेशमा रोकिएका शव पनि ल्याउने तयारी

यसैबीच सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव पनि ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न देशमा रोकिएका शव पनि ल्याउने निर्णय गरिएको हो ।

कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने नीतिअनुरूप जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले बेर्होनुपर्ने छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्न सकिने भनिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार बन्दाबन्दी (लकडाउन)को अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *