‘नेपाली साहित्यको अवस्था भुटानभित्र अति नाजुक छ’ केशव वैरागी माइला
- पुस १, २०८१
- 0
साहित्यकार केशव वैरागी माइलोको जन्म दक्षिण भुटानमा भएको हो । बुबा स्वः पर्शुराम घिमिरे र आमा भागवती घिमिरेका उनी सुपुत्र हुन् । दक्षिण भूटानमा नेपालीहरुको विशेष उपस्थिति छ । त्यहीँबाट नै भुटानमा परिवर्तनको बिगुल पनि फुकिएको थियो । शिक्षामा औपचारिक अवसर मात्र पाएका माइलोले धेरै विधामा कलम चलाएका छन् ।
उनी धेरै संघसंस्थामा आबद्ध छन् ।.त्रिवेणी साहित्य मञ्च अमेरिकाका संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष, मातृभाषा संरक्षण समूहका संस्थापक सदस्य, मधुवन साहित्यिक प्रतिष्ठान नेपालका आजीवन सदस्य तथा स्रष्टा समाज नेपालका आजीवन सदस्य रहेका उनी निरन्तर साहित्य कर्ममा क्रियाशील छन् ।
उनका हालसम्म कुलागाङ्ग्रीको फेदीबाट– एकल गजल संग्रह, समुद्रपारिका कलमहरु ः सहलेखन– गजल संग्रह, त्रिरत्न बाछिटासंग्रह– सहलेखन, पञ्चरत्न बाछिटासंग्रह– सहलेखन, इन्द्रेनी ः बाछिटसंग्रह– सहलेखन, दबाइएका आवाजहरु– गजलसंग्रह सहलेखन आदि कृति प्रकाशित छन् ।
साहित्यकार वैरागीले पुरस्कार–सम्मानका हकमा पहिलो साधना म्युजिक अवार्ड २०७६, सगरमाथा म्युजिक अवार्ड २०७६, पुण्य फाउन्डेसन अस्ट्रेलिया– कविता प्रतियोगिता २०२२ प्रथम, कदरपत्र भाषा सेवा तथा सम्पादन तर्फ– साहित्य परिषद २०२४ क्यानाडाबाट प्राप्त गरिसकेका छन् ।
नासाउ, बामाहास, कतार, क्यानाडा र नेपाल लगायतका देशमा साहित्यकार वैरागीले भ्रमण गरी जनजीवनका अनेकौँ अनुभव हाँसिल गरिसकेका छन् । यो उनको लेखनका लागि प्राप्त भएको उपलब्धि पनि हो । हाल मिडलटाउन, पेन्सलभेनिया अमेरिकामा स्थायी बसोबास छ उनको ।
नेपाली भाषाको संरक्षण समूहमा रहेर अहिले औधी क्रियाशील लेखक वैरागीसँग गरिएको वार्ता प्रस्तुत छ –
किन लेख्नु हुन्छ साहित्य ?
–मनका अनेकन काउकुती पोख्न लेख्छु प्रायःजसो । यसो गर्दा मन हलुको हुन्छ । समाज परिवर्तन र सन्देश प्रवाह गर्न पनि लेख्ने गरेको छु ।
मुल कुन विधामा पोखिन मन लाग्छ ?
साहित्य लेखनको सुरुवात गद्य कविताबाट गरेको थिएँ । त्यसपछि गजलको लहर आयो अनि गजल लेख्न थालेँ । गजल लेख्दालेख्दै गीत लेख्ने भुत जाग्यो । त्यो पनि हाराहारी ६ दर्जन जति लेखेँ । सन् २०२० मा बाछिटा विधामा कलम चलाएँ । थाहै नपाई २५०० जति लेखेछु बाछिटा कविता पनि । कथा, हाइकु र ताङ्कामा पनि कलम चलाएको छु । त्यसैले म कुनै एक विधामा पोखिएँ भन्ने छैन ।
नेपाली साहित्यको समकालीन अवस्था कस्तो लाग्दै छ ?
नेपाली साहित्यमा पछिल्लो अवस्थामा थुप्रै प्रगति भएको छ । साथै साहित्यको नाममा पैसाको भरमा साहित्य लेखाएर नाम कमाउनेको होडबाजी देख्दा उदेक लागेको अवस्था हो । यो निश्चय नै दुःखद् कुरा हो । यसले गुणस्तरीय साहित्य जन्माउँदैन ।
कस्तो छ नेपाली अमेरिकी साहित्य ?
निक्कै संवेदनशील अवस्थामा गुज्रिएको अवस्था छ । कृति लेखे पनि पाठक हराउँदै गइरहेका छन् । डिजिटलको जमानाले किताबलाई ओझेल पारिरहेको छ । र अबको साहित्य डिजिटलमा ल्याउन अति नै आवश्यक देखिन्छ ।
नेपाली साहित्यले अमेरिकी समाजमा बलियो उपस्थिति जनाउन सक्ला ?
सम्भावना छ । तर नेपाली भाषाको बलियो गरी संरक्षण गर्न सकिए मात्र । अन्यथा अरु प्रयास फितलो नै हुनेछ ।
त्यहाँका पाठकले नेपाली साहित्यको कुन विधा मन पराउने संकेत पाइन्छ ?
अहिले आएर छोटा र छरिता विधा रुचाउँछन् । जस्तै गजल, बिम्ब कविता, लघु कथा आदि ।
मातृभाषा संरक्षण समूहको परिकल्पना कसरी भयो ?
मातृभाषाको विलयको लक्ष्यण देखापर्दै गरेको अवस्थालाई युवा सर्जकहरुले सन् २०१४ मा मातृभाषा बचाउ अभियानका रुपमा स्थापना गरिएको हो । यस समूहले हालसम्म २९ वटा कृति प्रकाशन गरेर नेपाली साहित्य र मातृभाषाको श्रीवृद्धिमा सहयोग पु¥याएको छ । मातृभाषा बचाउ कार्य अहिलेका लागि अत्यावश्यक पनि छ ।
यो संस्थाले हालसम्म के कस्ता प्रकाशन गरेको छ ? प्रकाशनका आधार के–के छन् ?
यस संस्थाले सबै किसिमका कृति प्रकाशन गरेको छ । पछाडि परेका सर्जकलाई प्रोत्साहन दिदै मातृभाषाको संरक्षक हो यो मातृभाषा संरक्षण समूह । यस संस्थाबाट कृति प्रकाशन गर्न सबैलाई खुला गरिएको छ ।
आगामी लक्ष्य के–के छन् संस्थाका ?
यसको एउटै मात्र लक्ष्य हो मातृभाषाको संरक्षण गर्नु । प्रत्येक वर्ष निरन्तर कृति प्रकाशन गरेर मातृभाषा र साहित्यको सेवा गर्नु नै यस संस्थाको मूल धर्म हो । हामी यो कर्ममा निरन्तर छौँ ।
नेपाली साहित्यमा प्रकाशन निकै भएका छन् । अब संसारभर छरिएका नेपाली भाषाका साहित्यकार एकै थलोमा उभिन बेर भएन र ?
भाषा–साहित्यको सेवा गर्न अबेर कहिल्यै हुन्न मेरो बुझाइमा । किनभने भानुभक्त, मोतीराम हुँदै अहिलेसम्मका कवि लेखकहरुसम्म आइपुग्दा केही नयाँ चमत्कार भइरहेको छ । एउटा मात्र कुरा भन्न मन छ, साहित्य लेखन होस् या भाषा संरक्षणमा बरु केही नगरौंँ । तर नराम्रो हुने काम चैँ गर्दै नगरौँ ।
भुटानमा अहिले नेपाली साहित्यले गति लिएको छ त ?
यो प्रश्न अत्यन्त महत्वपूर्ण राखिदिनु भयो र समय सान्दर्भिक पनि । यही डिसेम्बर १७ मा भुटानमा कविता महोत्सव गरेर राष्ट्रिय दिवस मनाइँदैछ । तर त्यो देशमा जन्मिएका मानिस अहिले बाहिर अन्य देशमा भएकालाई कविता महोत्सवमा सामेल गर्नबाट वन्चित गरिएको छ । भुटानमा त्यहाँको शासकले नेपाली भाषाका किताब नब्बेको दशकमा जलाएर नेपाली पठनपाठन रोक लगाएको इतिहास आलै छ । तर नेपाली भाषा भने अहिलेसम्म बोल्ने गरिन्छ । नेपाली साहित्यको अवस्था अति नाजुक छ भुटानभित्र ।
अन्त्यमा, नेपाली साहित्यका तिर्खालु पाठकले तपाईंको कुन कृति पर्खन मिल्ला ?
आगामी वर्ष भित्रमा लघुकथा लिएर आउने सोचेको छु । अन्य कृतिहरुलाई बिस्तारै समय दिएर पाठकमाझ ल्याउने नै छु । आखिर लेखकले समाजकै लागि त लेख्ने हो नि ।
साहित्यकार केशव वैरागी माइला सँग गरिएको कुराकानी