नेपाली साहित्यको विश्वव्यापीकरणका लागि प्रज्ञा अगाडि बढ्नु पर्छ 

सुभद्रा भट्टराई, प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान
news-details

नेपाली काव्य विधामा निरन्तर सकृय स्रष्टा हुनुहुन्छ– सुभद्रा भट्टराई । उहाँका फुटकर कविता, वैचारिक आलेख एवम् चिन्तनपरक रचनाहरु प्रकाशित छन् । स्मृतिका डोबहरु उहाँको हालै प्रकाशित कविता कृति हो । अध्ययन, अध्यापन र भ्रमणमा विशेष अभिरुचि छ स्रष्टा भट्टराईको । भानु प्रतिष्ठान, प्रश्रित प्रतिष्ठान लगायत अनेक साहित्यिक संस्थामा उहाँ आबद्ध हुनु हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हालै प्रज्ञा सभामा मनोनित साहित्यकार भट्टराई सुदुर पूर्वको सिमानाको शहर काकडभित्ता निवासी हुनुहुन्छ । बुबा शुकदेव भट्टराई तथा आमा दुर्गादेवी भट्टराईको सुपुत्री नेपाल साहित्यमा सकृय र प्रतिबद्ध रहिआउनु भएको छ । प्राज्ञ भट्टराईसँग गरिएको वार्ताको संक्षिप्त रुप–

कविता के हो ?
सरल वैचारिक दृष्टिकोणले पूर्ण अभिव्यक्तिले सजिएको सुन्दर र स्वरमय काव्यात्मक मनोवेगको स्वच्छन्द प्रवाह नै कविता हो । जसले प्रकृति, जीवन र जगत्को प्रतिनिधित्व गर्दछ ।

किन लेख्नु हुन्छ कविता ?
कविता लेखन मेरो रुचि मात्र होइन, नियमित प्रवाह सहितको अभिन्न अंग बनिसकेको छ । जीवनका भोगाइहरुलाई शान्तिमय बनाउन विचार प्रवाह र सन्देश प्रवाहको माध्यमबाट सामाजिक चेतना अभिवृद्धिमा केही आयाम पुगोस् भन्ने ध्येयले म कविता लेख्छु ।

साहित्यले समाजमा परिवर्तन ल्याउँछ ?
अवश्य नै ल्याउँछ, साहित्य समाजको दर्पण हो । साहित्य सृष्टि हो । साहित्य अन्तर्गत रहेर सारा वाङ्मयको सृजना गर्न सकिन्छ । जसले ज्ञान प्रदान गर्नुको अतिरिक्त समाजलाई सुसंस्कृत, व्यवस्थित र मर्यादित गराउने भएकोले सामाजिक परिवर्तनमा श्रृङ्गार प्रदान गर्दछ भन्ने लाग्दछ ।

कुन विधा बढी मनपर्छ ?
साहित्यका सबै विधा मनपर्छ । विशेष गरी कविता विधाको विद्यार्थी भएको हुँदा कवितासँग अलि बढी प्रेम छ । आख्यान, नियात्रा र सामाजिक दर्शन मेरो मनपर्ने विधा हो ।

तपाईंको लेखनले दिने सन्देश के हो ?
मेरो विचारमा सम्पूर्ण सन्देशले दिने विचार भनेको सामाजिक रुपान्तरण, चेतना, आनन्द र परिवर्तन नै मेरो सवालमा भन्नुपर्दा नारी जागरण, मानवताको प्रेम, प्रकृतिको पूजा र सन्देश हो जस्तो लाग्छ ।

कुन समयमा लेख्नु हुन्छ ?
मेरो लेख्ने निश्चित समय छैन । मनमा भाव तरङ्ग, साहित्यिक चेतना जागृत भएको कुनै समय मेरो लेखनहरु भएका छन् । अनायास नै म लेख्न बसेकी हुन्छु । यति बेला, यो स्थान भन्ने छैन । परिवेशले नै मलाई लेख्ने उत्प्रेरणा दिन्छ जस्तो लाग्छ । हुन त यो मेरो सवालमा मात्र हो ।

नयाँ कृति के आउँदैछ ?
विभिन्न पत्रपत्रिकामा प्रकाशित समसामयिक लेख, रचनाहरुको सँगालो प्रकाशित गर्ने जमर्कोमा छु । छिट्टै मेरो दोस्रो कविता कृति ल्याउने तयारी गरिरहेकी छु ।

पूर्वमा तपाईंको सकृयता निकै छ । समाजसेवा, व्यवसाय, साहित्यमा कार्यरत हुनुहुन्छ । कसरी समय दिनु हुन्छ ?
सकृयता भन्नुभन्दा पनि मेरो भूमिका र दायित्व हो जस्तो लाग्छ । सामाजिक, साहित्यिक, व्यवसायिक र आफ्नो शिक्षण पेशाको विविध जिम्मेवारीहरु छन् । मैले यसलाई सिक्ने र आपूm परिस्कृत हुने अवसरका रुपमा लिएकी छु । समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने भएकाले समयलाई व्यवस्थित गरेर कर्तव्य र जिम्मेवारीलाई पालना गरिरहेकी छु जस्तो लाग्छ ।

अनेक संघ, संस्थामा जोडिनु भएको छ । साहित्यमा यी संस्थाले के कस्तो सघाएका छन् ?
मलाई विभिन्न संस्थाहरुले सिकाएका र संघसंस्थामा रहनुहुने अग्रज व्यक्तित्व, समकालीन साथीहरु, आफ्ना अनुजहरु तथा भाइबहिनीहरुको ऊर्जाले नै मलाई बहुपक्षीय सहयोग पु¥याइरहेका छन् । यो मेरो सम्पत्ति ठानेकी छु । त्यसैले मैले सिक्ने ठाउँहरुलाई एउटा पाठशालाको रुपमा लिएकी छु ।

प्रज्ञा प्रतिष्ठानमा मनोनित हुँदा कस्तो लाग्यो ?
म जस्तो साहित्यको सामान्य विद्यार्थीलाई सरस्वतीको मन्दिरको प्रतीक, साहित्यको तीर्थस्थल प्रज्ञा प्रतिष्ठानको मनोनयनले मलाई प्रशस्त सिक्ने अवसर प्राप्त गरेको अनुभूति भएको छ । जुन मेरा लागि गौरव ठानेकी छु ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आगामी लक्ष्य कस्तो हुनु पर्छ ?
नेपाल प्रज्ञा प्रतिष्ठानले सबै भाषाभाषी, जातजाति र समग्र मुलुकको साहित्यलाई उन्नयन गर्ने र गराउने संस्था भएको हुँदा बहुभाषी, बहु साँस्कृतिक पहिचानलाई उच्च बनाउन गहन र बृहत्तर अध्ययन अनुसन्धान गरी सबैको साझा साहित्यिक थलो बन्न सक्नु पर्दछ जस्तो लाग्छ । नेपाली साहित्यको विश्वव्यापीकरणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले ठोस योजनाको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा विना आग्रह, पूर्वाग्रह अगाडि बढ्नु पर्छ भन्ने मेरो धारणा हो ।

प्रज्ञा प्रतिष्ठानले नगरी नहुने काम के के छन् ?
हुन त यस प्रतिष्ठानको नियम ऐनले के कस्तो व्यवस्था गरेको छ हेर्न र अध्ययन गर्न बाँकी छ । तर पनि प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा सात वटा प्रदेश अर्थात् प्रान्तीय राज्यहरुमा प्रतिष्ठानको गठन गर्नु पर्छ । साथै विभिन्न भाषामा लेखिएका साहित्यका विधाहरुलाई समष्टिगत गरी अनुवाद सहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु पर्छ । नयाँ पुस्ताका लेखक, सम्पर्क स्रष्टाहरुलाई उत्प्रेरणासहित कला, साहित्य र साँस्कृतिक क्षेत्रमा अगाडि बढ्ने एउटा मार्ग प्रशस्त गराउने कुरामा मेरो अहम् भूमिका रहनेछ भन्ने मलाई लाग्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *