युरोपमा ज्ञान–सीप सिकें, नेपालमा सयौलाई रोजगारी दिलाएँ : लोकराज शर्मा
- माघ २६, २०८१
- 0
दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना मैंले देखेको थिइन् । उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइँन् । पहिलेका धेरै समस्या र कठिनाइहरु पार गर्दै, आइपर्ने समस्याहरु समाधान गर्दै, कठोर मेहेनत र आइपर्ने चुनौतिहरुलाई पार गर्दै यहाँसम्म आइपुगेको हुँ । पढाइकै कुरा गर्ने हो भने कक्षा ८ सम्म जुम्लामै पढें । ९ र १० पढ्ने समयमा मुलुकमा चर्को द्वन्द्व थियो । जुम्लामा रहँदा पढाइमा बाधा पर्छ कि भनेर काठमाडौं आएँ । जुम्लाको मान्छे काठमाडौंमा स्कूल भर्ना हुँदा थुप्रै समस्याहरु आए । पछि शान्ति शिक्षा स्कुलले जुम्लाको केटो भनेर भर्ना लियो ।
पढाइ कमजोर थिएन् । त्यस बखत हाजिरी जवाफ प्रतियोगितामा प्रथम पटक विद्यालय मेरै कारणले सहभागिता जनायो । हामीले पुरस्कार जित्यौं । समय वित्दै गयो । विद्यालय शिक्षा पार गरेर उच्च शिक्षामा सिभिल इन्जिनियरिङको कोर्ष रोजें । तत्कालको कोर्ष पूरा गरेर त्यसपछि म विदेश गएँ । त्यहाँको बिजनेश स्कुलमा पढ्दापढ्दै टप गरें । स्कलरसिपमा इन्टरनेशनल बिजनेश स्कुल पढ्न पाएँ । सबै विषयहरुमा उत्कृष्ट अंकहरु ल्याएकाले स्टडी कोचका रुपमा काम गर्ने अवसर मिल्यो । काम गर्दै पढ्न थालें । पढ्दापढ्दै पढाउन पनि थालें । डेनमार्कबाट स्नाकोत्तर पूरा गरेको हुँ । अहिले पनि विद्यार्थी नै छु । इटालीबाट पिएचडी गरिरहेको छु ।
डेनमार्कमा मेरो पहिलो प्राथमिकता पढाइ नै थियो । त्यसकारण उत्कृष्ट नम्बरहरु पनि आयो र आर्थिक रुपमा सर्पोट पनि भयो । र केही पैसा कलेजबाट पनि आउन थाल्यो । सबै कुरा ठिक हुँदै थियो । अलिअलि पैसा जम्मा हुन थालेकाले विस्तारै मैले पढाईसँगै बिजनेश सुरु गरें । पढाइ चल्दै नै थियो बिजनेश सुरु गरिसकेको थिएँ । सन् २००८ तिर नै साना स्तरको व्यवसाय आफ्नो नाममा दर्ता गरें । विस्तारै आइटीमा व्यवसाय तिर पनिसुरु गरें । व्यवसायसँगै कलेजमा पढाउने काम पनि गर्थें । र आफू पनि पढ्थे । यसरी तीन चारवटा कामहरु लगातार चलि नै रहन्थ्यो । कहिले १७–१८ घण्टासम्म खटेर काम गरिरहेको छु । निरन्तरको संघर्ष र मेहेनतले म विस्तारै यसरी आर्थिक र शैक्षिक हिसावले स्थापित हुँदै गएँ ।
आर्थिक र शैक्षिक रुपमा सक्षम हुँदै गएकाले जीवनमा पछिसम्म सम्झने काम गर्ने इच्छाहरु पलाउन थाले । एक बारको जीवनमा दुःख देखेर र भोगेको व्यक्ति भएकाले केही न केही गर्नुपर्छ भन्ने सोच आयो । त्यो पनि आफू जन्मेकै ठाउँमा गरौैं भन्ने लागिरहन्थ्यो । त्यही भएर विदेशमै बसेर पनि नेपालमा हामीले विभिन्न क्षेत्रमा सामूहिक लगानीमा केही काम गरेका थियौं । तर त्यो सामूहिक लगानी प्रतिफलमूखी भएन । विदेशमा बसेर नेपालमा सामुहिक लगानी गर्दा राम्रोसँग काम हुन सकेन् ।
नेपालमा विग मार्ट खुल्नुअघि नै हामीले इजी मार्ट सुरु गरेका थियौं । तर धेरै समस्याहरु भोग्यौं । र सफल पनि भएनौं । विदेशमा बसेर यहाँ मोनिटरिङ हुन सकेन । त्यसपछि नेपालमै बसेर केही काम गरौं भन्ने सोच बनिरहँदा डेनमार्ककै एउटा कम्पनीमा डाइरेक्टरका रुपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ राम्रा मान्छेहरु हुनुहुन्थ्यो । जहाँ राम्रा राम्रा कुराहरु सिक्ने अवसर मिल्यो । मेरो आइटी व्यवसाय भएका कारणले विभिन्न आइटी व्यवसायीहरुसँग समन्वय हुन थाल्यो ।
धेरै ठाउँका राम्रा आइटी र फाइनान्ससँग सम्बन्धित व्यक्तिहरुसँग सहकार्य गर्न पाएँ । जसमा आइटीकै प्रयोगबाट सिर्जनात्मक कामहरु गर्ने सहयोग मिल्यो । जस कारणले गर्दा नेपालमै बिजनेश गर्ने वातावरण सिर्जना भयो ।
यतिबेला नेपालमा आफैंले स्थापना गरेका कम्पनीहरुमा लगभग २१ सय जनाले रोजगारी पाएका छन् । तर केही कम्पनी विक्री भएकाले रोजगारी गर्नेको संख्या केही कम भएको होला । गृह जिल्लालाई जोड्नका लागि लघुवित्तले ठूलो सहयोगीको भूमिका खेलेको छ । मलाई धेरैले माइक्रो फाइनान्सकै माध्यमबाट चिन्ने गरेका छन् ।
अन्यतिर पनि लगानी बढाएको छु । गृह जिल्लासँगको सम्बन्ध जोड्ने काम एक लघुवित्त र अर्को काठ उद्योग हो । त्यसअघि मैंले त्यहाँ बच्चा हुँदा नै युवा क्लव खडा गरेको थिएँ । त्यसले समाजसेवा गर्न अवसर सिर्जना गरायो । ६–७ कक्षा पढ्दादेखि नै खडा गरेको युवा क्लवमा अंकल साइनो लाएर बोलाउनुपर्ने व्यक्तिहरु सदस्य बस्नुभयो । धेरै उमेर ग्याप भएकाले म निर्माता र अन्य एकजनालाई अध्यक्ष राखेको थियौं । उहाँ क्षमतावान नै हुनुहुन्थ्यो । क्लब अझैपनि सञ्चालनमा छ । क्लबबाटै पुल, बाटो, मन्दिर बनाएका छौं । म १२–१३ वर्षको उमेरकै गरेको यो ऐतिहासिक थियो मेरो । अझै स्मरणमा छ । यो विगतको कुरा भयो ।
पछि काठको कारखाना खोलेपछि धेरैले रोजगारी पाउनुभएको छ । एक पटक कारखानामा पुग्दा एकजोडी महिला र पुरुष आएर मेरो अगाडि धेरैबेर रुनुभयो । किन रुनुभएको भन्दा काराखानामा काम गर्नुअघि गिटी कुटेर महिनाको चारदेखि आठ हजार रुपैंयाँसम्म कमाउनु हुँदोरहेछ । काठ उद्योगमा काम पाएपछि मासिक ७० हजार सम्मको आम्दानी हासिल गरेपछि खुसीले रुनुभएको रहेछ । यसले मलाई खुवै खुशी तुल्यायो । किन खुसी मिल्यो भने मेरो व्यवसाय मात्र भन्दा पनि कसैको जीवन नै परिवर्तन ल्याइरहेको रहेछ । त्यसैले मैंले आफूले आफंैलाई चिनाउनुपर्दा म उद्यमी भन्दापनि सामाजिक उद्यमी भन्न रुचाउँछु । जतिपनि मेरो व्यवसाय छ, फाइदाका लागि मात्र छैन् । सामाजिक योगदानको लागि पनि छ ।
तर जुम्लाको प्रसंगमा अरु सिर्जनात्मक कामहरु गर्न खोजिरहेको छु तर सकिरहेको छैन् । काठ उद्योग, युवा क्लव र लघुवित्तका माध्यमबाट गाउँसँग जोडिएको छु । लघुवित्तको शाखा खोलेर हजारौं गाउँलेहरुका निम्ति योगदान गरिरहेको छु । विना धितो कर्जा दिएर सेवा गरिरहेको छु । समूह बनाउने, तालीम दिने र उद्यमी बनाउने कामहरु भइरहेका छन् । आर्थिक पहुँचमा बृद्धि गराउने काम भइरहेको छ ।
त्यसमाथि हामीले स्थापना गरेको मातृभूमि लघुवित्त एउटा यस्तो संस्था हो जसले राष्ट्रबैंकले क्याप ल्याउनुभन्दा पहिले १५ प्रतिशतको क्याप ल्याउनुभन्दा पहिला १५ प्रतिशत भन्दा बढी चार्ज कहिल्यै गरेनौं । कुनै जमानामा हाम्रो कष्ट अफ फण्ड १६ प्रतिशत थियो । तर हामीले १५ प्रतिशतमा दिइरहेको थियौं ।
मैंले डाटा लिएको त छैन् तर आम रुपमा बुझ्दा लघुवित्त भनेको ग्रामीण अर्थतन्त्रको यस्तो ठूलो माध्यम हो जसले आम गाउँबासीको जीवनमा पुरै परिवर्तन ल्याइदिन्छ । कामगर्दै गयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण पस्केका छौं । मेरो जीवनको मन्त्र नै इमान्दार र मेहेनत हो । म अहिले पनि १८ घण्टा, कहिले काही रातभर नसुतेर काम पनि गर्छु । इमान्दारिताका साथ खट्न सक्नुपर्छ । इमान्दारिता र मेहेनत जोसँग छ उसले संसार जित्न सक्छ जस्तो लाग्छ र हरेक जनताले त्यो मन्त्र अपनाउनुपर्छ । यो भयो भने राज्य, संस्था र क्षेत्र सफल बन्न धेरै समय लाग्दैँन् । कुनै नयाँ संस्था वा ओरालो लागेको संस्थालाई माथि उठाउन अठोट र मेहेनतका साथ काम गर्यो भने सफलता मिल्छ भन्ने उदाहरण हामीले देखाइरहेका छौं ।
(विभिन्न आइटी एवम काठ उद्योगका संचालक एवम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष लोकराज शर्मासँग गरेको कुराकानीमा आधारित )