स्थानीय सरकारका कारण इटाभट्टा उद्योगीहरु समस्यामा छन् : नातिभाइ ह्योम्वा

news-details

सविता नयाँजू/ इटाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इटाभट्टामा इटा पोल्न आगो लगाउने तयारी गरेका हुन् । व्यवसायीले करिब पाँच महिना निरन्तर इटा पोल्ने बताएका छन् । यसै सिलसिलामा २०४६ सालदेखि इटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इटा पोल्ने कामको तयारी भइरहेको बताए । भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्ष समेत रहेका ह्योम्वासँग उद्योगका समसामयिक विषयमा गरिएको कुराकानी :

काँचो इटाको तयारीदेखि कारखानासम्म निर्माणको प्रक्रिया कसरी गरिन्छ ?

सुरुमा हामीले इटालाई जम्मा गरेर राखेका हुन्छौ । त्यसलाई मेशिनले पेल्छौं । त्यो पेलेको माटो इटा बनाउनेहरुको खलमा लैजान्छौं । त्यसपछिको इटा बनाएर सुकाउने काम त्यही हुन्छ । त्यसपछि सुकेको इटा भट्टामा ल्याउने काम गर्छौ ।

भट्टामा इटा पोल्ने काम कहिले हुन्छ, त्यसको उपयुक्त समय कुन हो ?

औद्योगिक प्रवद्र्धन बोर्ड, नेपाल इटा उद्योग महासंघ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ । नेपाल अधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकाले पुष मसान्तसम्म इटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ । वातावरण प्रदूषण हुने भएकाले पुषसम्म इटा उद्योगमा आगो नलगाउँदा ठिक होला भन्ने हाम्रो पनि बुझाइ छ ।

पुष महिनामा धेरै हावा चलेको हुदैँन्, सबै इटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभाव पार्ने हुदाँ माघ लागेपछि मात्र काम सुरु गर्दा उपयुक्त हुन्छ । यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामा भट्टाहरु सञ्चालन हुन्छन् ।

भट्टामा आगो लगाउदाँ के के विधिहरु अपनाउनु हुन्छ ?

पहिला पहिला इटा उद्योगमा प्रविधि नजान्दा धेरै दाउरा बाल्ने गरिन्थ्यो । विगत २० वर्षदेखि कोइला सल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौं । अहिले ग्यासको प्रयोग गर्ने गरेका छौ । यसले दाउरा पनि बच्यो र वातावरणको हिसाबले पनि दाउराभन्दा ग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो । खर्चको हिसाबले पनि दाउरामा धेरै खर्च हुन्थ्यो । ग्यास केही मात्रामा सस्तो पर्छ ।

इटाभट्टा व्यवसायको अहिलेको अवस्था के छ ?

समग्र उद्योगको स्थिति नै ठिक छैन् । समग्र व्यवसायी र व्यापारीहरु पनि समस्यामा छन् । आर्थिक क्रियाकलाप नै कम भइरहेको छ, इटा उद्योग पनि त्यसमा अछुतो रहेन् । उत्पादन भएका तीन–चार वर्षदेखिका इटा स्टकमा छन् । विक्री छैन् । विक्री कम छ । रेटपनि राम्रो छैन् । अन्य उद्योग जस्तो बन्द गरेर पनि राख्न सकिदैन् । जग्गा भाडामा हुन्छ, गाडीहरु छन्, कामदारहरु छन् । जसले गर्दा बाध्य भएर पनि चलाउनुपर्ने अवस्था छ । पोहोर साल ७५ दिन मात्र आगो लगाउने काम गर्यौं । त्यसमा पनि इटा खपत भएन् । अहिले पनि हामीसँग धेरै स्टकमा छ । अहिले बजारमा इटाको माग धेरै कम छ ।

माग कम हुनुको मुख्य कारण के होला ?

अहिले निर्माण कार्य नै कम भएको जस्तो लाग्छ । धेरैजसो युवाहरु विदेश पलायन भएकाले काठमाडौंमा घर निर्माण नभएजस्तो लाग्छ । हाम्रो अनुमान पनि मान्छेको जनघनत्व र आयस्रोत नै कम भएर पनि घर बनाउने काम कम भएको जस्तो लाग्छ ।

स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन् ?

स्थानीय सरकारले सहयोग गरेको छैन् भन्न पनि मिल्दैँन् । तर सहयोग भन्दा पनि बढी दुःख पाइरहेका छौं । स्थानीय सरकार आएपछि दुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ । किनभने हाम्रो उद्योग चलिरहँदा पनि यो ठाउँको माटो निकाल्न मिल्दैन्, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिदाँ पनि कर लिने जस्ता विभिन्न किसिमबाट नगरपालिकाले दुःख दिइरहेको छ । जनप्रतिनिधिहरु आएपछि धेरै समस्याहरु आइरहेका छन् । मेयरहरुले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छ तर स्थानियबासीले अवरोध गर्ने गरेका छन् । खुल्ला ठाउँमा गर्नुपर्ने काम हो, चोरेर गरेको काम होइन् । विभिन्न समस्याहरु आएपनि समाधान गर्दै अगाडि बढेका छौ । इटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागि पनि नयाँ प्रविधिमा गइसकेका छौ । विगत आठ नौं वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ । चिम्नीले कालो धुवा फाल्दैँन् । अब नयाँ प्रविधि प्रयोग गर्दा, प्रदूषण जाँच गर्छौ र सरकारले तोकेको भन्दा पनि धेरै कम प्रदूषण हुनेगर्छ । त्यसलाई पनि अझ कम गर्नको लागि अझै अध्ययन भइरहेको छ ।

हालै इन्जिनियरहरुले इटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनु भएको छ । यसलाई पनि धेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा मात्र भट्टाहरु बढि भयो, यसले असर पारेको छ भन्ने गुनासो छ । यसप्रति तपाईको धारणा के छ ?

निश्चित रुपमा उद्योगमा काम गर्दा, अलिकति असर त हुन्छ । नगरपालिकामा मात्र भट्टा उद्योग हुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इटा उद्योग दर्ता भएको छैन् । नगरपालिकामा पहिला घरहरु थिएन्, फाँट थियो । हामीले उद्योग सञ्चालन गरेको समयमा यहाँ कुनैपनि घर थिएन् । त्यो बेलादेखि नै यहाँ काम गर्दै आएको हो । अहिले यहाँ जग्गा किनबेचले गर्दा बस्तीहरु बस्न आएको हो । तर चाँगुनारायण नगरपालिका मात्र होइन भक्तपुर जिल्लामा एक समयमा एकसय १८ वटासम्म इटा उद्योग सञ्चालनमा थियो । अहिले संख्या घटेर ६०–६२ वटा पुगेको छ । त्यसमा पनि यसपाली ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ ।

इटा व्यवसाय सञ्चालनका लागि कस्तो कस्तो कच्चा पदार्थको आवश्यक पर्छ ?

कच्चा पदार्थ भन्दा मुख्य कुरा माटो नै हो । अहिले माटो नै सकिदैँ गएको छ । बिना माटो इटा उद्योग सञ्चालन हुदैँन् । यसका साथै कोइला र भुस इन्धनको रुपमा प्रयोग गर्छौ । चिम्टाइलो खालको माटो हुन्छ । त्यसले इटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ । अहिलेका लागि भक्तपुरमा माटोको त्यस्तो कमी छैन् । हामीले माटोको सदुपयोग गर्न सकेनौं र माटो लिन जाने ठाँउमा समस्याहरु आइरहेको छ । काम नलाग्ने, खेती योग्य नभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्य पनि हुन्छ । त्यो घडेरीको रुपमा पनि प्रयोग हुन्छ । त्यसकारण निकाल्नैपर्ने माटो मात्र प्रयोग गरेका छौ । भक्तपुर इटा उद्योग छेउमा भने माटो छैन् । अहिले छिमेकी जिल्लाहरुबाट पनि माटो ल्याउने काम भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *