साहित्यवार्ता : ‘नेपाली र मणिपुरेलीहरुबीच नङ–मासुको साइनो रहेको छ’-सीतादेवी छेत्री
- असार ५, २०७८
- 0
भारतीय नेपाली साहित्यमा धेरै साधकहरु सिर्जनशील छन् । पूर्वोत्तर भारतको मणिपूरमा रहेर साहित्यकार सीतादेवी छेत्रीले गहकिलो योगदान पु¥याउनु भएको छ । काव्य र आख्यान विधामा विशेष अभिरुचि भएको बताउने उहाँ सरल र सहज शैलीका रचना गर्न मन पराउनु हुन्छ ।
माता स्व. तारादेवी लामिछाने छेत्री र पिता स्व. गोपालसिंह लामिछाने छेत्रीकी वहाँ सन्तति हुनुहुन्छ । स्नातक, बी.एड. उहाँको शैक्षिक उपाधि रहेको छ । साहित्यकार छेत्रीकी एक छोरी सन्तानको रुपमा छिन् ।
उहाँका कृतिहरू एउटै धरामा (कविता संग्रह), मूल परेको छोरो (कथा संग्रह) चर्किएको मन (कथा संग्रह) प्रकाशित भइसकेका छन् । प्रस्तुत छ, साहित्यकार सीतादेवी छेत्रीसँग गरिएको छोटो कुराकानी :
साहित्य के हो ? किन लेख्नु हुन्छ ?
साहित्य समाज र जातिको दर्पण हो । कुनै पनि जातिको समाजमा साहित्य छैन भने त्यसको विकास हुँदैन । म समाजको उन्नतिको निम्ति लेख्छु ।
कुन कुराले छोएर साहित्यतिर लाग्नु भयो ?
पहिल्यैबाट साहित्यमा रुचि भए तापनि आफू बसेको क्षेत्रमा परिवेश नमिलेर लेख्न सकेको थिइनँ । जब म नेपाली साहित्य परिषद्, मणिपुरकी कोषाध्यक्ष बनेँ । तब मैले पनि लेख्नु पर्ने रहेछ भन्ने सोचेर साहित्य सिर्जनातिर लाग्न शुरू गरेंँ ।
कुन–कुन विधामा लेख्नु हुन्छ ?
मैले आजसम्म कविता, कथा, लेख, यात्रा संस्मरण मात्र लेखेकी छु ।
मणिपुरमा कस्तो छ नेपाली साहित्यको स्थिति ?
मणिपुर भारतको पूर्वाञ्चलको सानो राज्य हो । यहाँ नेपालीको जनसंख्या पचार–पचपन्न हजार जति छन् । त्यसको हिसाबले हेर्दा साहित्यको स्थिति राम्रो छ । भारतीय नेपाली साहित्यमा सर्वप्रथम अंग्रेज सिपाही भएर आएका लेसनायक तुलाचन आलेले सन् १८९४ मा मणिपुरको लडाइँ सवाई पुस्तिकामा उल्लेख गरी श्रीगणेश गर्नुभएको छ । आफ्नो भाषा संस्कृति जगेर्ना गरी राख्न साहित्यकार अग्रसर भई बालबालिकालाई बाटो देखाउनमा सधैँ तत्पर छौंँ ।
मणिपुरी भाषामा नेपाली साहित्य अनुवाद भएको छ कि छैन ?
अहिलेसम्म त भएको छैन ।
तपाईं धेरैतिर आबद्ध हुनुहुन्छ । साहित्यको लागि समय कसरी छुट्याउनु हुन्छ ?
जसरी तिर्खा लागेपछि पानी खोजी गरी पिउने गरिन्छ । त्यस्तै साहित्यको निम्ति समय तिर्खा लागेझैं सम्झिएर निकाल्नुपर्ने रहेछ । म दिनभरि कार्यक्षेत्रमा रहे पनि साँझ छ बजेबाट सात बजेसम्म साहित्यको लागि समय छुट्याउने गर्छु ।
कतिको पढनु हुन्छ नेपाली साहित्य ?
मणिपुरमा नेपाली पुस्तकका पसल छैनन् । आफू हिँड्दा फेला परेका पुस्तक या कसैले सम्झनाले माया गरी पठाइदिएको पुस्तक मात्र पढ्न जुर्छ । मैले फेला पारेका पुस्तक अवश्य पढने गर्छु ।
साहित्यकार बनेकोमा कस्तो अनुभव गर्नु हुन्छ ?
साहित्यको फाँट धेरै ठूलो रहेछ । म शिक्षिका मात्र थिएँ भने मेरो यति धैरै इष्ट–मित्र सायद हुन्नथिए होलान् । आज एउटा उच्चकोटिको साहित्यकार नभए पनि साहित्यकारहरू बीच उभिनु पाउँदा आफूलाई धेरै खुशी लाग्ने गर्छ ।
तपाईको कुनै साहित्यिक स्वप्न योजना छ कि ?
सबै साहित्यकारहरुले स्वप्न योजना बनाएर लेख्नु होला सायद । मलाई पनि आफ्नो समाजका लागि कुनै एउटा राम्रो कृति लेख्न सकौंँ भन्ने अवश्य लाग्ने गर्छ ।
हालै कथा संग्रह आएको छ । तपाईंलाई बधाई छ । यो संग्रहका कथाहरूको मुख्य सन्देश के होला ?
पहिला त म बधाई पाएकोमा हार्दिक आभार व्यक्त गर्दछु । म एउटा नारी भएर होला कि धेरैजसो नारी विषयमा कलम चलाएकी छु । नारीहरूलाई यो सन्देश दिन चाहन्छु कि पुरुषको दाँजोमा नारीशक्ति दुर्गाशक्ति बन्न सकून् र आत्मनिर्भर भएर उभिन सकून् । घर परिवार, इष्टमित्रमा एकताको मन्त्र रहोस् । अरूहरूले गरेका गल्ती र सही देखेर आफ्नो पाइला राम्रो बाटोमा चाल्न सकून् ।
यो संग्रहबाट सन्तुष्ट हुनुहुन्छ ?
आफ्नो छोरो कानै भए पनि माया लाग्दो रहेछ । त्यस्तै आफूले लेखेका कृति आफैंलाई माया लाग्दो रहेछ । मलाई पनि आफूले लेखेको कुरामा सन्तुष्टी त हुन्छ नै । तर मलाई मात्र सन्तुष्टी भएर भएन । प्रिय पाठकवर्ग सन्तुष्ट हुनु नै मेरो सन्तुष्टी हो ।
पूर्वी भारतको मणिपुर लगायत क्षेत्रमा नारी साहित्यकारको अवस्था कस्तो देख्नु हुन्छ ?
पूर्वी भारतको मणिपुर लगायत क्षेत्रहरूमा नारीहरू प्राय आज साक्षर छन् । हरेक क्षेत्रमा आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेका छन् । मणिपुरमा अंग्रेजको शासनकालबाटै नारी जागरण सुरु भएको हो । यताका नारीहरूको जीवन अवस्था एक प्रकारले राम्रो छ भन्दा अत्युक्ति नहोला ।
भारत सरकारको नेपाली लेखकहरूलाई हेर्ने धारणा र दृष्टिकोण कस्तो छ ?
भारत संविधानको आठौं अनुसूचीमा नेपाली भाषाको मान्यता प्राप्त छ । हिजोआज स्कूल, क्याम्पसमा नेपाली विषय पठन–पाठन सुविधा उपलब्ध छ । भारतको राजधानी दिल्लीमा स्थित “साहित्य अकादेमी” भारत सरकारको एउटा राष्ट्रिय साहित्यिक संस्था हो जसले भारतका संविधानमा भान्यता प्राप्त भएका भाषा औं साहित्यकारहरूलाई विविध सुविधाहरू उपलब्ध गराई आएको छ । जसभित्र नेपाली भाषा पनि पर्दछ ।
पाठकहरूले तपाईंबाट अब कस्तो खालको कृति पाउँछन् आगामी दिनमा ?
हालै एउटा कथा संग्रह तयारी अवस्थामा छ । आगामी दिनमा उपन्यास लेख्ने प्रयासमा छु ।
यति लामो शैक्षिक जीवन पूरा गरेर अवकाश पाउँदै हुनुहुन्छ । शिक्षण पेशा गरेको अनुभव लेखेर समाजलाई अर्पण गर्ने सोचाइ बनाउनु भएको छैन ?
शैक्षिक जीवन पूरा गरेर अवकाशका दिन नजिकै आउँदै छन् । समाजप्रतिको आफ्नो जिम्मेवारीकारुपमा अबको कृतिमा शिक्षाप्रतिको अनुभव उतार्ने जमर्को त अवश्य नै रहने छ ।
मणिपुरी नेपाली समाजबारे संक्षेपमा बताई दिनु हुन्छ कि ?
मणिपुर पूर्वोत्तर भारको सीमान्त क्षेत्रको एउटा सुन्दर सानो राज्य हो । यहाँको भू–भाग पहाडी क्षेत्र धेरै मात्रामा छ । यहाँ नेपालीको जनसंख्या पचास, पचपन्न हजार जति छन् । वर्षौबाट नेपालीहरू पहाडी र समतलमा छरिएर बसोबास गरेका छन् । यहाँ पहाडी क्षेत्रमा ट्राइभल (जनजाति) समुदाय र समतल क्षेत्रमा मणिपुरी जातिको बसोबास छ । जहाँ–जहाँ नेपालीहरू बसेका छन् उहाँ इमानदारीतासँग नङ र मासुको साइनो सरह रहेको देखिन्छ । मणिपुरेली नेपालीहरूले अनेक संघ संस्था स्थापित गरेका छन् ।
मणिपुरमा नेपालीहरूको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक र मानवीय अधिकारको लागि अग्रसर छन् । मणिपुर राज्यको विकासमा नेपालीहरूले पुर्याउँदै आएको योगदान उल्लेखनीय छ । आफूलाई स्थापित गराउनमा मणिपुरेली नेपालीहरू कुनै कसर छाडेका छैनन् । यहाँ विभिन्न सरकारी सेवाहरूमा आज नेपाली कार्यरत छन् । आफ्नो कार्यलाई कुशलतापूर्वक गरेर एउटा उदाहरण दिन सक्षम बनेका छन् ।