‘पुस्तक लेखिसकेपछि मन धेरै हलुका भएको छ’ : शुभेच्छा घिमिरे
- बैशाख ४, २०७८
- 0
‘क्यान्सर, करी एण्ड मी’ लेखेर थोरै समयमा नै बेग्लै र विशेष परिचय बनाउनु भयो शुभेच्छा घिमिरेले । सहज, सरल र सरस लेखकीय शैलीले गर्दा यो कृति निकै पाठकहरुले रुचाएर मन पराएका छन् । आफैँ क्यान्सर रोगबाट आक्रान्त हुँदाहुँदै पनि आफ्ना अनुभव लेखी समाजका लागि स्वास्थ्य जनचेतना अभियन्ताको रुपमा कार्यरत घिमिरेको यो कार्य अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ । बुबा शंकर घिमिरे र आमा लिली घिमिरेकी सन्तति शुभेच्छाले मानव अधिकारमा (मास्टर्स) र एक्जुकेटिभ एमबिएसम्मको शिक्षा आर्जन गर्नु भएको छ । अमेजन मार्फत इ बुकमा आए पनि लगत्तै नेपालमा पनि प्रकाशित भयो–क्यान्सर, करी एण्ड मी । असाध्यै मीठो भाषामा आफ्ना अनुभूति लेख्ने लेखिका एवं स्वास्थ्य जनचेतना अभियन्ता घिमिरेसँग गरिएको कुराकानीको सानो अंश–
आफु बिरामी भएको कहिले थाहा पाउनु भयो ?
मैले २०१६ मा नुहाउन जाँदा स्तन अलग–अलग देखिए । त्यो बेला के हो भनेर थाहा पाउन सकिनँ । किनभने ब्रेस्ट क्यान्सरको कुनै संकेत मेरो शरीरमा थिएन । यो अलग–अलग देखिएपछि किन यस्तो भो भनेर म इन्भेस्टिगेसन गर्न डाक्टरकोमा गएँ ।
पहिलो पटक थाहा पाउँदा कस्तो लाग्यो ?
त्यति बेलाको सम्झना अत्यन्तै प्रष्ट छ । म डाक्टरको कोठामा थिएँ । डाक्टरले तपाईंको क्यान्सर पोजिटिभ छ भन्नु भयो । त्यो सुनेर म छानाबाट खसे झैं भएँ । मुटु एकदमै चिसो भयो । म असाध्यै डराएँ । मैले डाक्टरलाई पटक–पटक सोधेँ, म बाँच्छु कि बाँच्दिनँ भनेर । यही प्रश्न पटक–पटक सोधिरहेको सम्झना छ । डाक्टरबाट अरु भनेका कुरा अथवा मेरो त्यतिखेरको अवस्थाबारे त्यति याद छैन ।
क्यान्सर, करी एण्ड मी लेख्ने सोच कसरी आयो ?
मलाई क्यान्सर भएपछि उपचार अवधिमा मैले सबै अनुभवहरु डायरीमा लेख्ने गर्थें । त्यतिखेर कहिले हाँस्दै, कहिले रुँदै अनेक अनुभूतिहरुलाई डायरीमा टिपोट गरिरहन्थेँ । डायरी लेख्दा–लेख्दा एकदमै धेरै कुराहरु त्यहाँ समेटिएका थिए । पछि उपचारबाट मेरो स्वास्थ्यमा धेरै सुधार भएपछि– मेरो यो अनुभव र स्वास्थ्य अवस्थाको प्रभावबारे जनचेतनाका निम्ति अरुलाई पनि पढ्ने वातावरण बनाइदिँदा ठिक होला भन्ने ठानेँ । खासगरी फेमिली अवेरनेसका लागि मेरो यो अनुभूति लेखिँदा ठूलो सहयोग हुने निर्णय गरेर पुस्तकको रुपमा ती पुराना अनुभूतिहरुलाई पाठक सामु ल्याएकी हुँ ।
कति दिन लाग्यो यो पुस्तक लेख्न ?
मैले माथि पनि केही कुरा त उल्लेख गरिसकेँ । क्यान्सर लागेर उपचारको क्रममा नै मैले आफ्ना अनुभवहरु लेख्दै–लेख्दै राखेकी थिएँ । त्यो लेख्नलाई लगभग तीन–चार महिना जति लाग्यो होला । पछि पुस्तककै रुपमा ल्याउने सोच भइसकेपछि त्यसलाई पुनर्लेखन, परिस्कार, सम्पादन इत्यादि गर्नको लागि अझै तीन–चार महिनाको समय लाग्यो । यसो गर्दा झन्डै एक वर्ष जस्तो समय लगाएर यो पुस्तक तयार गर्न मैले सकेँ ।
पुस्तकको कुन पार्ट आफुलाई निकै मन परेको छ ?
क्यान्सर, करी एण्ड मी पुस्तक लेखिसकेपछि मलाई पुस्तकभित्रको यो मात्रै खण्ड विशेष मन पर्छ भन्न गाह्रो लागेको छ । किनभने यी सबै अनुभव र अभिव्यक्ति आफैँले गरेको हुनाले अर्थात् आफ्नो पीडा आफैँले पोखेको हुनाले यो खण्ड मात्रै राम्रो भन्न मलाई गाह्रो अनुभव भएको छ । तैपनि मःमः भन्ने च्याप्टर मलाई अरु खण्डभन्दा अलि फरक र भिन्न खालको भएको अनुभव गरेको छु । बिरामी भइसकेपछि त्यसको असर र प्रभावलाई मानिसहरुले के–के भन्दा रहेछन्, कसरी लिँदा रहेछन् अथवा मलाई बाबाले, ममीले र मेरो श्रीमान्ले के कसरी भन्ने, सम्झाउने गर्नु भएको थियो इत्यादि अनुभवहरु यो खण्डमा पोखेकी छु । समाजले रोगलाई कसरी हेर्दो रहेछ र कसरी बुझ्दो रहेछ भन्ने पक्ष पनि यो पार्टमा आएको हुनाले यो पार्ट अलि मन परेको छ ।
पुस्तक लेखिसकेपछि कस्तो अनुभव गर्नु भयो ?
नितान्त फरक अनुभव भएको छ । सेन्स अफ अचिभमेन्टको रुपमा पुस्तक लेखिसकेपछि मैले प्राप्त गरेँ । यो पुस्तक लेखिसकेपछि मन धेरै हलुका भयो । सुरुमा रोग र त्यसको भोगाइ मसँग मात्रै सीमित थियो । तर यो पुस्तक लेखिसकेपछि सबैले मेरो अनुभूतिसँग नजिक रहेको महसुस गरेँ । त्यसैले मेरा अनुभवहरु सेयर गर्दा लेख्नलाई गाह्रो भए पनि त्यसको प्रभाव समाजमा पुग्दा म खुसी हुन पुगेकी छु । क्यान्सर भएको तीन वर्षपछि समयक्रममा यो पुस्तक आएको छ । जे भोगेँ, मेरा लागि त्यो निकै नै कठिन र गाह्रो थियो । त्योभन्दा पनि कठिन र अप्ठ्यारो चाहिँ लेख्नलाई भयो । तर लेखिसकेपछि म आफु धेरै अर्थले हलुँगो हुन पुगेको छु र जीवन सहज भएको मलाई लागेको छ ।
यो पुस्तकबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
मेरो किताब पढिसकेपछि धेरैजसोले राम्रो नै भन्ने आफ्नो प्रतिक्रिया दिए । नचिनेकाहरुले पनि इमानदारीपूर्वक आफ्नो प्रतिक्रियामा रोगले त्यो हदसम्म असर पार्दोरहेछ– ओहो, तिमीलाई यस्तोसम्म भयो है भनेर अचम्म मान्दै आफ्ना विचारहरु पोखे । जो जसले मलाई चिन्दथे उनीहरुले त झन् यो कृति एकदमै इमोशनल खालको छ भन्ने कुरा राखे । कत्तिले त मेरा भोगाइ, मेरा अनुभव र मेरा विचारहरुलाई पुस्तकमा भेट्दा अचम्मै मानेका थिए । समग्रमा किताब असाध्यै कौतुहलपूर्ण र यथार्थमा रहेको मैले प्रतिक्रियाहरु प्राप्त गरेकी थिएँ ।
लेखक र पाठक हुनुमा के फरक रहेछ ?
लेखक र पाठक हुनुमा एकदमै फरक रहेछ । पुस्तक लेख्नु सहज कार्य होइन रहेछ भन्ने मैले अनुभव गरेँ । आपूm पाठक भएर धेरै पुस्तकहरु मैले पनि पढेकी थिएँ । त्यतिखेर एकदमै सजिलो हिसाबले हामीले पाठक भएर पुस्तक पढ्दा रहेछौँ । तर अहिले म आफु लेखक भएर अनुभव गर्दा अनुभव, प्रस्तुति, विचारको सुक्ष्मता र विषयवस्तुको दक्षतामा जोडिएर आफ्नो कुरा लेख्नु सजिलो होइन रहेछ भन्ने ठूलो ज्ञान मिलेको छ । मैले पनि बायोग्राफी, अटोबायोग्राफी, नन फिक्सन, फिक्सन आदि थुप्रै पुस्तकहरु पहिला पढेकी थिएँ । तर अहिले आफ्नै जीवनसँग जोडिएका अनुभवलाई पुस्तकको रुपमा पोख्न मलाई सहज एकदमै भएन । निकै गाह्रो रहेछ लेखक हुनु भन्ने मैले अनुभव गरेकी छु ।
अरु पनि केही लेख्दै हुनुहुन्छ कि ?
क्यान्सर, करी एण्ड मी लेखिसकेपछि यस्ता प्रश्नहरु मलाई धेरैतिरबाट आइरहेका छन् । तर मैले लगत्तै अरु पुस्तक लेख्ने सोचेकी छैन । यही पुस्तकले नै समाजमा र हरेक मानिसहरुलाई चेतनापूर्ण योगदान दिओस् भन्ने म चाहन्छु । अहिलेलाई मेरो सम्पूर्ण ध्यान यही पुस्तकमा नै केन्द्रित छ ।
साहित्य कत्तिको पढ्नु हुन्छ ?
म अलि–अलि साहित्यका पुस्तकहरु पढ्छु । विद्यार्थी कालमा सोक्रेट्स, एरिस्टोटल, प्लेटो आदि खुबै पढेकी थिएँ । त्यस बाहेक पनि रुमी नामका कविको कविताहरु मलाई निकै मन पर्छन् । पाएसम्म म उनका रचनाहरु पढ्छु पनि ।
क्यान्सर, करी एण्ड मी आएपछि सन्तुष्ट हुनुहुन्छ ?
किताब आइसकेपछि आफ्ना कुरा समाजलाई बाँड्न पाएकीमा खुसी छु । किनभने यो जनचेतनामूलक कार्य मैले गरेकी हुँ । आपूmलाई परेको पीडा र समस्याबाट निस्किसकेपछि अरुलाई पनि त्यस किसिमका रोग र अप्ठ्याराबाट निस्कनका लागि सहज होस् भन्नका निम्ति मैले यो प्रयत्न गरेकी हुँ । क्यान्सर, करी एण्ड मीले समाजमा सकारात्मक र व्यापक प्रभाव पार्दै गएमा म आफ्नो प्रयासको निम्ति सन्तुष्ट हुनेछु । किनभने यो पुस्तक मार्फत्बाट समाजमा स्वास्थ्यप्रति जनचेतना र सचेतता तुल्याएर सबैमा सु–स्वास्थ्यको सकारात्मक सन्देश पुगोस् भन्ने लक्ष्य र योजना मात्रै मेरो रहेको हो । यसैले यो कृतिको सफलताका पछाडि धेरै पाठकहरुका माझमा पुगोस् भन्ने मेरो इच्छा छ ।
भविष्यमा लेखनको कुनै स्वप्न योजना छ कि ?
तत्कालका निम्ति मैले कुनै खास लेखकीय स्वप्न योजना बनाएकी छैन । अहिले म पूर्ण रुपमा यो कृतिलाई विश्वव्यापी बनाउन र क्यान्सर रोगको सचेतनामै जोडिएर आफ्ना विचारहरु पोखिरहेकी छु । भोलिका दिनमा यो पुस्तकले सम्भवतः अझै नयाँ र फराकिलो ढंगले आफ्ना कुरा लेख्नलाई प्रोत्साहित नगर्ला भन्न म सक्दिनँ । इच्छा आएमा लेख्न पनि सक्छु । क्यान्सर एण्ड करी नेपालीमा अनुवाद भइरहेको छ । यसले नेपाली समाजमा विशेष महत्व राख्ला भन्ने कुरामा म विश्वस्त छु । चाँडै नै नेपाली भाषामा यो कृति आउँदैछ । नेपालीमा जस्तै अन्य भाषामा पनि यो किताबलाई उल्था गरेर प्रचारप्रसार गर्न सके स्वास्थ्यप्रति जनचेतना र सन्देश पु¥याउनमा ठूलो लाभ हुने म ठान्दछु । अहिलेलाई यही उल्था कार्यमा म जोडिएकी छु ।