‘हामी लिखितम नगरबासी भएपनि गाउँबासी नै हौं’ : बिदुरकुमार लिंथेप, मेयर

news-details

मादी नगरपालिका प्रदेश नं १ अन्तर्गत संखुवासभामा राजमार्गमा नजोडिएको नगरपालिका हो । हिमाली जिल्ला भएको नाताले मादी भौगोलिक हिसाबले सुगम छैन । तर, मादी पूर्वाञ्चलकै शैक्षिक हवका रुपमा चिनिन्छ । मादी प्राकृतिकरुपमा भने धनी छ । गुँरासको राजधानी तीनजुरे मिल्के जल्जलेको एक भाग मादीमा नै पर्छ । जहाँ ट्रेकिङ्ग रुटका साथै विभिन्न प्रजातीका गुँरास पाइन्छन् । मादी नगरपालिकाको पहिलो मेयरमा निर्वाचित हुनुभएका विदुर कुमार लिंथेप अहिले मादीको विकास निमार्णमा लाग्नुभएको छ । उहाँ मादीलाई युवाहरुको भन्दा पनि अधबैसे तथा बुढाबुढीहरुको बासस्थान रहेको नगरपालिका भन्नुहुन्छ । अधिकांश युवाहरु कोही रोजगारका लागि विदेश, कोही अध्ययनका लागि बाहिर त कोही जागिरका लागि जन्मस्थल छोडेपछि यो नगर युवाबिहीन जस्तै भएको उहाँको भनाई छ । राजमार्गमा नजोडिए पनि मादी, ९ वटै वडामा बस पुग्ने हिमाली जिल्लाको एक्लो नगरपालिका भएको दावी मेयर लिंथेपको छ । यद्यपी पहाडी जिल्लाको सानो नगरपालिका भएकाले मादी लिखितम नगरबासी भएपनि गाउँबासी नै भएको स्वीकार्नुहुुन्छ । जनताको अपेक्षा अनुसार सबै काम गर्न नसकेता पनि धेरै काम भइरहेको बताउने लिंथेप विकासका लागि बसाईसराई सबैभन्दा ठूलो बाधक रहेको बताउनुहुन्छ । हिजोको मादी नगरपालिका, अहिलेको मादी नगरपालिका र भोलिको मादी नगरपालिकाका बिषयमा उद्वव भट्टराईले मेयर बिदुरकुमार लिंथेपसँग गरेको कुराकानी  :

तपाईले पहाडी जिल्लाको मादी नगरपालिकाको पहिलो मेयर, मादीलाई कसरी चिनाउनुहुन्छ ?

मादी नगरपालिका पुर्व तीनवटा गाविसहरु मावादिन, मादीराम्बेनी र मादीमूलखर्क मिलेर बनेको सानो नगरपालिका हो । समुन्द्री सतहबाट ५ सयदेखि २९ सय मिटर उचाइसम्म यो नगर फैलिएको छ । २०६८ सालको जनगणना अनुसार १४ हजार ४ सय ७० जनसंख्या रहेकोमा हाम्रो आफ्नै सर्वेअनुसार यो संख्या १५ हजार ३ सय ३२ रहेको छ । यो नगरपालिका युवाहरुको भन्दा पनि अधबैसे तथा बुढाबुढीहरुको बासस्थान रहेको नगरपालिका हो भन्दा फरक नपर्ला । अधिकांश युवाहरु कोही रोजगारका लागि विदेश, कोही अध्ययनका लागि बाहिर त कोही जागिरका लागि बाहिर रहेका छन् । मादी भौगोलिक हिसाबले अलि जटिल नगरपालिका पनि हो । हिमाली जिल्ला भएको नाताले साथै राजमार्ग भन्दा अलि टाढा र भिरालो प्रकृतिको जमिन मादीमा रहेको छ । सामाजिक हिसाबले विभिन्न जातजातिको बसोबास रहेको छ । मादीमा एउटा क्याम्पस, दुईवटा उच्च मावि र आठवटा माविहरु रहेको छ । यहाँ मूलत कृषि र पशुमा आश्रित जनसमुदायको बसोबास रहेको छ । मादीको माथिल्लो भेगमा तिनजुरे मिल्के गुँरासको राजधानी पर्छ । हाम्रो तल्लोभागमा ऐतिहासिक राम मन्दिर रहेको छ । मादी पुर्वमा तेह्रथुम जिल्ला, पश्चिममा चैनपुर नगरपालिकाका साथै ताप्लेजुङ जिल्ला र दक्षिणमा धर्मदेवी नगरपालिकासँग जोडिएको छ ।

राजमार्गमा नजोडिएको र भौगोलिकरुपमा पनि विकट हुँदा मादीका आकर्षण केही छैन त ?

मादीको मूख्य आकर्षण भनेको यो ठाँउ शैक्षिक हव हो । यहाँका अगुवाहरुले यस ठाँउलाई शैक्षिक केन्द्रकोरुपमा विकास गर्नुभएको थियो । दोश्रो भनेको हामी प्राकृतिकरुपमा धनी छौ । गुँरासको राजधानी मादीमा नै पर्छ । हाम्रो माथिल्लो भेगमा विभिन्न प्रजातीका गुँरास पाइन्छन् । त्यहाँ ठुलठुला चरन क्षेत्रहरु रहेका छन् । मादीमा अर्को चर्चित राममन्दिर रहेको छ । दन्त्यकथाका आधारमा राम नै यस मन्दिरमा आएर बास बसेको भन्ने लोकउक्ति छ । पुरातत्व विभागले पनि त्यसलाई एक सय २५ बर्षभन्दा पुरानो भनेर उल्लेख गरेको छ । त्यो हिसाबले यो ऐतिहासिक ठाउँ हो । खासगरी कृषि र पशुको केन्द्र बनाउने अभियानमा छौ हामी । त्यसकारण पशु सम्बन्धि, कृषि सम्बन्धि अध्ययन गर्नका लागि पनि मादी उपयुक्त गन्तब्य हुनेछ ।

प्राकृतिक र ऐतिहाँसिक महत्वका ठाउँ देखाउनु भयो तर आम जनमानसलाई जानकारी छैन, पर्यटन विकासमा नगरपालिका लागेको छैन ?

हामीले आफ्नै ठाउँको विकासमा धेरै लाग्न पाएका छैनौ । यसलाई जैविक विविधता र पर्यटनसँग जोड्न बाँकी नै छ । अहिले हामी महत्वपुर्ण र आधारभूत काममा अल्झनु परेको र नगरपालिकाको जग बसाल्नका लागि नै समय धेरै खर्च गर्नुपर्ने अवस्थामा छौ । म नै मादी नगरपालिकाको पहिलो संस्थापक मेयर हुँ । मादीलाई अब हामी प्राकृतिकरुपमा भन्दा पनि विकास निमार्णका कदम चालेर पर्यटकलाई आकर्षित गर्ने योजना बनाइरहेका छौ । मादीमा भोलिका दिनमा निकै आकर्षक पक्षहरु यहाँहरुले पाउनुहुनेछ । हामी अहिले यहाँ फुलहरुको बगैँचा बनाउने अभियानमा छौ । डिपिआर बनाइसकेका छौ । त्यसपछि हामी टिएमजे क्षेत्रलाई अलि पृथकढंगले विकास गरेर ओपेन युनिभर्सिटीको रुपमा लैजान खोजिरहेका छौ । केन्द्रदेखि टिएमजेसम्मको फुटरेलको हामीले सहरी विकास मन्त्रालयसँग मिलेर डिपिआर तयार गरिसकेका छौ । यो फाइनल चरणमा छ । मादी राजमार्ग भन्दा टाढा नभएपनि अलि पृथक सेमी आईसोलेटेड एरिया हो । मादीबासी लिखितम्को सहरबासी हौ तर व्यवहारको हामी गाउँबासी नै हौ ।

राजमार्गले नजोडेको मादीलाई जोड्नका लागि केही गर्नु भएको छैन ?

हामीले काम गरिरहेका छौं । राजमार्गमा जोडिनेगरी हाम्रै नगरपालिकाले करिब २५ करोड लागतमा सडक कालोपत्रे गर्दैछ । त्यसको काम अगाडि बढिरहेको छ । त्यो बाटो आइसकेपछि चाँहि राजमार्ग र केन्द्रसँग हाम्रो पँहुच हुन्छ । यो राजमार्ग चाँहि हाम्रो मुलद्धार हो । हाम्रो सबै सम्भावनाको ढोका यो बाटोले अवरोध गरेको हुनाले यो बाटो बनाउनु पहिलो प्राथमिकता हो । हाम्रो टिम आएपछि धेरै गौरवको आयोजना बनाउनुभन्दा थोरै गर्ने तर पुरा गर्ने गरी गरिरहेका छौं । मादी ९ वटै वडामा बस पुग्ने हिमाली जिल्लाको एक्लो नगरपालिका हो । हामी आएपछि नै हाम्रो पहलमा बाटोहरुलाई बस गुड्न योग्य बनायौ । अहिले प्रत्येक वडाका बासिन्दामाझ यातायातको पहुँच पु¥याइसकेका छौ । विकास हामीलाई छिटो चाहिएको छ । तर हाम्रो साधन, स्रोत र भौगोलिक हिसाबले त्यो सम्भव छैन ।

मादी युवाबिहीन भयो त भन्नुहुन्छ तर युवाहरुलाई यही रोक्न सक्ने कार्यक्रम ल्याउनु भएको छैन, तपाई स्थानीय सरकार हो त ?

त्यसको पनि पहल त भएको छ । तर त्यसमा मेरो फरक दृष्टिकोण रहेको छ । मान्छेको आवश्यकता, इच्छा, चाहानालाई कुण्ठित गर्नु हुन्न भन्ने पक्षको मान्छे हुँ म । मान्छेहरु आजभन्दा भोलि धेरै प्रगति चाहन्छन् । पैसा भएका मान्छेहरु मादीभन्दा बाहिर बँसाईसराई गर्छन् । बाँठोटाठो शारिरीक रुपले हट्टाकट्टा पनि बाहिर हुइकिन्छन् । मलाई लाग्छ मादिको विकास र समृद्धि ल्याउने भनेको यहाँ बस्ने बाआमाले हो । त्यसैले हामीले बाआमाहरुको समुह बनाईदिएका छौं । बुवाहरुलाई कृषि समुह र आमाहरुलाई आमा समुह बनाईदिएका छौ । नगरपालिकाले विधान बनाएर आमाहरुलाई बचतको काम गर्न लगाउने र बाहरुलाई कृषिको काम लगाउने भनेर कार्यक्रम लन्च गरेका छौ । यसको पोजेटिभ परिणाम आइरहेको छ ।

तर, युवाहरुलाई नै रोक्न सक्ने कार्यक्रम छैनन् ?

हामीले कृषि र पशुपालनका लागि प्रसस्त कार्यक्रम ल्याइरहेका छौं । व्यवसाय गर्न चाहने युवाहरुलाई हामीले व्यवसाय गर्न अनुदान दिइरहेका छौ । एक रोपनी जग्गा बराबर हामीले ५ हजार अनुदान दिएका छौ । हामीले बढीमा २० रोपनीसम्म व्यवसाय गर्नेहरुलाई प्रोत्सानको हिसाबले अनुदान दिएका छौ । मलाई लाग्छ यो धेरै ठुलो अनुदान हो । तर अब व्यवसाय गर्नुपर्छ भन्ने युवाहरु पाउन चै गाह्रो छ । हामीले प्रत्येक बाटोको सय मिटर भित्र ५ वटा बिरुवा लाउनेलाई पनि अनुदान रकम दिएका छौ । यो हिसाबले स्थानीयबासीलाई बिस्तारै व्यवसायी बनाउने लक्ष्य नगरपालिकाको छ । तर, ज्ञानको अभाव छ । हामीले परम्परागत खेती मात्र गरिरहेका छौ । यसलाई नयाँढङ्गले लानुपर्छ भनेर हामी लागिरहेका छौ । मादीमा अहिले ८६ वटा कृषि समुहहरु छन् । त्यसमा झन्डै १८ सय घरधुरी हामीले समेटेका छौ । हामीसँग एक सय ६ वटा आमा समुहहरु हुनुहुन्छ, जसमा २२ सय घरधुरी समेटेका छौ ।

मादी सबैभन्दा पछि बनेको नगरपालिका हो, नगरपालिका भएपछि अन्य सुविधा नगरवासीलाई के के थपिदैछन् ?

हामी त्यतिकै चुप लागेर बसेका छैनौ । मादीमा १५ शैयाको अस्पताल बनाउन शुरु भएको छ । मेरै पहलमा नेपाल सरकारमार्फत स्वीकृत गराएर धमाधम अस्पताल बनिरहेको छ । हाम्रै प्रस्तावमा मादी उच्च माविलाई देश कै नमुना विद्यालय बनाउन सफल भएका छौ । विशेषगरि शिक्षामन्त्रीले यसमा जोड गर्नुभयो । त्यो हिसाबले हामी शिक्षामा अगाडि बढिरहेका छौं । हामीले कम्प्युटर इन्जिनियरिङ पनि गत सालदेखि नै ल्याएका छौ । बाहिरबाट कम्प्युटर इन्जिनियरिङ पढ्न आउनेलाई नगरपालिकाले २ हजार प्रति महिना छात्रवृत्ति राखेको छ ।

हामी शिक्षा क्षेत्रसँगै कृषि र पशुपालनको क्षेत्र पनि अगाडि बढाउदै लैजान जोड गरिरहेका छौ । गतसाल पनि ५४ वटा दुधालु गाईहरु बाहिरबाट भित्राएका छौ । बोयर जातिका बाख्राहरु भित्राएका छौ । हामीसँग बाख्रा पकेट क्षेत्र, बंंगुर पकेट क्षेत्र, बन्दाकोपी÷आलु पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र, किबी पकेट क्षेत्र, एभोकाडो पकेट क्षेत्र, अलैची पकेट क्षेत्रलगायत रहेका छन् । मासुमा हामी आत्मनिर्भर छौ, बाहिरबाट चौपाय ल्याउनु पर्दैन । अहिले हामी प्रत्येक वडामा अर्गानिक मल तथा कम्पोष्ट मल बनाउन अनुदान दिइरहेका छौ ।
हामीले प्रत्येक घरमा स्वच्छ पिउने पानी उपलब्ध गराउँने गरी काम गरिरहेका छौ । आफ्नै मुल भएपनि १६ सय मिटरसम्म पाइप उपलब्ध गराएका छौ । यस्तै बिद्युत आपुर्तिका लागि काठे पोल मात्र थियो अहिले त्यो सबै फे¥यौ र यो वर्ष सबै काठे पोललाई विस्थापित गर्नेगरि काम अघि बढिरहेको छ । यो वर्षभित्र हामी सबै नगरबासीलाई बिजुली बत्ति पु¥याएर मादिलाई उज्यालो मादी बनाउछौ ।

तपाई चाहेर पनि सोचे अनुसार विकास गर्न सकिएन भन्नु हुन्छ, बाधक के रहेछ ?

यसमा मेरो फरक दृष्टीकोण छ । नेपालमा विकासको बाधक भनेको बसाईसराई हो । हाम्रो सबैभन्दा ठुलो समस्या भनेको माइग्रेशन रहेको छ । यता पहाडि क्षेत्रतिर विकासमा गरेको लगानी खेर गइरहेको छ भने तराईका क्षेत्रहरुतिर पनि उत्तिकै लगानी खेर गइरहेको छ त्यो बसाँइसराईको कारणले गर्दा हो । मानिस डेगिलो भएर कहाँ बस्छ त्यहाँ विकास गर्न सकिन्छ तर एक ठाउँबाट अर्को ठाउँमा जाँदा स्थानीय तहलाई धेरै समस्या भएको छ । नेपालको नमुना विकास गर्ने हो भने र समृद्धि ल्याउने हो भने ३० वर्ष बसाँइसराई पुरै बन्द गर्नुपर्छ ।

अन्त्यमा, स्थानीय तहको प्रमुख भएर काम गर्दा अहिलेसम्म जनताका चाहानालाई पुरा गर्न सक्नु भयो, कतिको सन्तुष्टी हुने अवस्था मिलेको छ ?

नगरबासीहरुले आजको दिनसम्म नगरको काम र विकासमा साथ दिनुभएको छ । उहाँहरुको उत्साहलाई हार्दिक धन्यवाद दिन चाहान्छु । हामीले जति गर्नुपर्ने हो, त्यो अनुसार गर्न सकिरहेका छैनौ । कोभिडका बाबजुत पनि हामीले साना ठूला कार्यक्रम तथा योजनाहरु अगाडि बढाइरहेका छौ । र, बाँकी योजनाहरुलाई पनि क्रमश पुरा गर्दै जाने छौ, नआत्तिन अनुरोध गर्छु । विकास निर्माण जादुको छडि होइन यो क्रमश अगाडि बढ्छ । जति मादिबासीहरुले अपेक्षा राख्नुभएको थियो, सबै पुरा भएको छैन । तर, हामी कोसिस गरिरहेका छौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *