‘बाध्यता र वर्तमान बीचमा सामञ्जस्यता देखाउनु मेरो लेखनीको लक्ष्य हो’
- जेष्ठ १२, २०७६
- 0
काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र यूनिभर्सिटी अफ नेब्रास्का–ओमाहाबाट सृजनात्मक साहित्यमा स्नातकोत्तर गरेकी डाक्टर शीलु घिमिरे न्यौपानेले अमेरिकाको टेक्सस् वुमेन्स यूनिभर्सिटीमा पारिवारिक अध्ययन विज्ञानमा विद्यावारिधि गरेकी छन् ।
अमेरिकामा अध्ययनरत् विद्यार्थीहरुको कथामा आधारित ‘परको देशमा’ (सन् २०१३) उनको पहिलो उपन्यास हो । उनको पहिलो प्रकाशित कृति डा. ग्रेगोरी गाब्रियल मास्कारिनको वीरेन्द्र अलंकार पुरस्कृत पुस्तक द रुलिङ्गस अफ द नाइटको नेपाली अनुवाद हो ।
पीआरको पीर (स्मृतिलेखन २०१६), मनमन्थन (कथा सङ्ग्रह २०१६) र सुनकेस्री (गीति काव्य २०१६) उनका हालै प्रकाशित कृति हुन् । पारिवारिक विकासमा महिलाको अर्ध साक्षरताको महत्व उनको अनुसन्धानात्मक रुचि हो । हालै उनी विद्यावारिधि सकेर लेखन, अध्ययनसँगै अध्यापनमा समर्पित छिन् । साहित्यकार डाक्टर शीलु घिमिरे न्यौपानसँगको लेखन वार्ता प्रस्तुत छ —
साहित्य केलाई मान्ने ?
साहित्य सृजनात्मक अभिव्यक्ति हो र अभिव्यक्तिपछिको सन्तुष्टि हो । यो सन्तुष्टि लेखक र पाठक दुवैले समान रुपले अनुभव गर्न सक्छन् । साहित्य स्वाद पनि हो । तर त्यो स्वादलाई म पानीको उपमा दिन मन पराउँछु । सृजनाले आकार लिएपछि त्यही पानी ऐना बनी समाजको प्रतिविम्ब उतार्छ, पिएपछि तृप्ति दिन्छ यद्यपि त्यो स्वादको फेरि–फेरि तिर्खा लागिरहन्छ । समग्रमा साहित्य जीवनमा रस भर्ने कला हो ।
किन लेख्नु हुन्छ ?
एक शब्दमा भन्नु पर्दा ‘सन्तुष्टिको लागि’ । तर साँच्चै भन्ने हो भने मेरो जीवनमा यो प्रश्नको महत्व किन खानु हुन्छ ? या किन व्यायाम गर्नु हुन्छ ? जस्तै सरल यद्यपि महत्वपूर्ण छ । सिधा अर्थमा भन्नुपर्दा भोक मेटाउन, स्वस्थ रहन । लेख्दा मानसिक सन्तुष्टि पाउँछु । दिमागको, मनको व्यायाम हो लेख्नु मेरो निम्ति । अहिले पढाइको क्रममा काउन्सिलिङको तयारी गर्दा लेख्नु कतिको असरपूर्ण मानसिक औषधि बन्न सक्छ भन्ने कुरा अझ बढी बुझ्दैछु र अनुभव गर्दैछु ।
५–६ कक्षा हुँदादेखि डायरी लेख्ने बानी बस्यो । पुस्तकहरु भेटे जति पढ्ने बानी पनि उमेरसँगै झन् बढ्दै गयो । तसर्थ पढेजानेका खुशी, सन्तुष्टिहरु मसीमा उतारेर आकार दिन अनि पढ्दा नपाएका कुराहरुलाई शब्दहरुको माध्यमले नौलो रुप दिन लेख्ने गर्छु । लेख्दा आपूmलाई स्वस्थ र हलुको पाउँछु ।
साहित्यमा समय, जीवन, दर्शन कुन कुरा व्यक्त गर्न मन गर्नु हुन्छ ?
मेरो विचारमा यी तीनै कुरा अनन्योन्याश्रित छन् । साहित्यमा समाजको दर्पण हुन्छ, त्यसले समय प्रतिविम्बित गर्छ । लेखकको दर्शन त्यस लेखनीबाट पृथक् हेर्नु गाह्रो कुरा हो । यस अर्थमा साहित्यमा समय, जीवन र दर्शन यी तीनैवटा पक्षको तालमेल वा मात्रा मिलाएर स्वाद पस्किन सक्नु लेखकको निम्ति सबैभन्दा ठूलो चुनौती हो ।
आपूm औधी पुस्तक पढ्न रुचाउने भएकोले साहित्य रसमा मात्रा मिले या नमिलेको टड्कारो थाहा हुन्छ । म चाहन्छु कि मेरा पाठकहरुले मेरो सृजनामा पनि स्वाद र सन्तुष्टि पाऊन् र त्यसले उनीहरुलाई नयाँ ऊर्जा दिन सकोस् । बस यी तीनै कुराको मात्रा मिलाएर नौलो स्वाद पस्किन मन गर्छु या प्रयास गर्छु म ।
तपाईंको लेखनीले के कुरालाई विशेष लक्ष्य राख्छ ?
साहित्य समाज सापेक्ष हुनुपर्छ । झण्डै ३ वटा प्रकाशित र प्रकाशोन्मुख कृतिमा मेरा पात्रहरु आप्रवासी तन र नेपाली मनहरु बोकेका छन् । कतिमा सन्तुष्टि छ भने कतिमा खालीपना छ मनभित्र । मेरो लेखनीको लक्ष्य ती दुई बाध्यता र वर्तमानहरु बीचमा सामञ्जस्यता देखाउनु हो ।
परदेशी तन पनि नेपाली मन हुन सक्छ र नेपाली तन भएर पनि परदेशिएको मन हुन सक्छ । विशेषतः नयाँ सपना खोज्दै परदेश पुग्न खोज्ने युवा पुस्तालाई जहाँ भए पनि, जता बसे पनि आफ्नो देश, संस्कार र संस्कृतिलाई भौगोलिक घेराहरुको रुमलेभन्दा पृथक राखी सोच्न दृष्टान्त बनाउने मेरो लक्ष्य छ । देशबाट पर जानु, सपना देख्नु नराम्रो हैन तर देशको माया मार्नु हुँदैन, शायद यही आव्हान गर्छन् मेरा पात्रहरुले ।
नेपाली साहित्य र अन्य साहित्यमा कतिको नजिकको नाता छ ?
अत्यन्तै नजिकको । रगत एउटै, एउटै आमाको कोखबाट विविध थलोहरुमा जन्म लिएर हुर्कीबढेका छोराछोरीहरु जस्तै । जहाँ जन्मियो, हुर्कियो, त्यहीको भाषा, भेष, शैली र संस्कृतिको प्रतिविम्ब बन्ने ।
तर सच्चा साहित्यको स्वाद सदा एउटै हुन्छ– मिठास पानी पिउँदाको जस्तो, सरल अनि सङ्लो । चाहे मदनमणि दीक्षितको माधवी, टल्सटायको आन्नाकेटीरिना या त पाउलो कोहलोको भेरोनिका, ती तीनै जना भिन्नाभिन्नै भूगोलमा जन्मिएका पात्रहरु हुन् । सँगै उभ्याउँदा एउटै आमाका सन्तान जस्ता सुन्दर, सुसंस्कृति र मोहक छन् । साहित्यले त्यस्तै पात्र, समाज र कथा जन्माउँदै, जीवनमा ऊर्जा भर्ने काम गर्छ । लेखक र पाठक दुवैलाई साझा सन्तुष्टि दिन्छ, चाहे त्यो नेपाली साहित्य होस् या अन्य साहित्य ।
साहित्यको विद्यार्थी छँदा ब्रिटिस र अमेरीकी साहित्य अध्ययन गर्ने मौका जु¥यो । नेपाली र भारतीय साहित्य पनि उत्तिकै रस लिएर पढ्ने गर्छु तर यी सबैमा समान स्वाद र सन्तुष्टि अनुभव गरेको छु । नजिकैको नाता देखेको छु ।
कथा, कविता, उपन्यास, संस्मरण यात्रा विधामा कलम चलाए पनि कुन विधामा तपार्इं रमाउनु हुन्छ ?
सबै उत्तिकै प्रिय लाग्छन् । बिहान भजनको स्वाद, दिउँसो गीतको मिठास र साँझमा गजलको आनन्द पृथक् भए जस्तो ।
यद्यपि कथा लेख्दा रमाइलो लाग्छ । शायद जुन विधा रोजे पनि भित्री चुरो कथाबाट शुरु हुने हुनाले । या त फेरि कथा भन्दा र सुन्दा उत्तिकै आनन्द आउने हुनाले । संस्मरण यात्रा पढ्न रमाउँछु, लेख्न सिक्दैछु, मोहक लाग्दैछ नयाँ अनुभव ।
लेखकको सन्तुष्टि ठूलो कि पाठकको सन्तुष्टि ?
पहिलो प्रश्नमा नै भनिसके झैं मेरो विचारमा साहित्यको प्रकृतिको पानीको जस्तो सरल र तरल हुनु पर्छ । लेखक र पाठक दुवैले यस प्रकृयामा बराबर सन्तुष्टि पाउन सक्छन् । तथापि कृतिको सफलता पानीको चरित्र निभाउनुमा हुन्छ । लेखकलाई अझ लेख्ने तिर्खा बढाउने र पाठकलाई अरु पढूँ झै लाग्ने ।
तसर्थ कृतिको सफलता मेरो विचारमा पाठकहरुलाई नवीनतम् स्वाद पस्कन सक्नुमा हुन्छ । दुवैलाई सृजनाको बाटोमा अरु निरन्तरता दिन सक्नुमा हुन्छ । कुन ठूलो भन्नुभन्दा पनि कसको सन्तुष्टि ऊर्जामय छ, त्यसले नयाँ भविष्य निर्माण गर्छ ।
के सिर्जनासँगै लेखकको मृत्यु हुन्छ ?
अङ्ग्रेजी साहित्यको विद्यार्थी रहँदाको वर्षहरुमा फ्रान्सेली लेखकको ‘द डेथ अफ द अथर (The death of me author) को चित्रण बारेमा साथीहरुसँग लामो बहस गरेको र पनि निक्र्यौलमा पुग्न गाह्रो भएको मीठा अनुभवहरु सम्झिन्छु ।
तर समय बित्दै जाँदा शायद बुझाइमा पनि परिवर्तन आउँदा रहेछन् । अथवा यसलाई पूर्वीय संस्कृतिको प्रभाव पनि भन्न सकिन्छ । सिर्जनासँगै लेखकको मृत्यु हैन, बरु नयाँ जन्म हुन्छ भन्नेमा विश्वास गर्छु ।
पाठकहरुले त्यो शिशु सृजनालाई सिच्ने काम गर्छन्, हुर्काउने, बढाउने, माया गर्ने या त फेरि चटक्कै बिर्सिदिने गर्छन् । कुनै सृजना अजम्बरी÷कालजयी बन्छ । तर कुनै जीवनहीन पनि । तर लेखक फेरि जन्मिरहन्छ अरु कृतिहरुको माझ ।
‘पीआरको पीर’ बारे केही बताइदिनुस् न ?
क्यानडाले वर्षेनी अढाइ लाखभन्दा बढी पीआर (Permanent Resident) हरुलाई स्थायी बसोबासको निम्ति भित्र्याउँछन् । त्यसमध्ये नेपालीहरुको संख्या पनि ठूलो र बढ्दो छ । क्यानडा बसाइको क्रममा सम्पर्कमा आएका चिनेजानेका सबैको सन्तुष्टि र असन्तुष्टिका कथाहरु प्रायः उस्तै छन् । ठूलो संख्यामा क्यानडामा आप्रवासीहरु आफ्ना छोराछोरीका भविष्यका निम्ति दुःख गरिरहेका बताउँछन् । त्यसबाहेक अहिले म पारिवारिक अध्ययन विज्ञानको विद्यावारिधिको अन्तिम वर्षको विद्यार्थी हुँ । अध्ययन अनुसन्धानात्मक पक्षबाट हेर्दा पनि पीआरको पीरमा श्रीमान् श्रीमती, बाबुआमा र छोराछोरी– तीनैवटा पिँढीको कथा र अनुभवहरु सकेसम्म जस्ताको तस्तै उतार्ने चेष्टा गरेको छु ।
टल्सटायले भने झैं प्रत्येक खुशीहरु झण्डाझण्डै उस्तै हुन्छन् तर प्रत्येक दुःखी परिवारको बेग्लाबेग्लै दुःख हुन्छ । पीआर पाउनुको खुशी प्रायः सबैजनाको उस्तै–उस्तै भए पनि पीआर भएर परदेशमा स्थायी बसोबास गर्ने निर्णयपछि उनीहरुका पीरहरु बेग्लाबेग्लै भएको देखाउने सानो प्रयासरुपी आँखीझ्याल हो यो ‘पीआरको पीर’ ।
आगामी दिनमा लेखनका कुनै स्वप्न योजना छन् कि ?
हजुर, निसन्देह पनि । जीवनका लामो समय विद्यार्थी बनेर बिताएँ । नेपालबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेपछि अमेरिकाबाट सृजनात्मक साहित्यमा फेरि स्नातकोत्तर गरें । अहिले फेरि अमेरिकाको टेक्सास वुमेन्स यूनिभर्सिटीबाट पारिवारिक अध्ययन बिज्ञानमा विद्याावरिधि गर्दैछु । अन्तिम वर्षमा छु । उच्च शिक्षा हासिल गर्ने तिर्खाले सात समुद्र पार गरायो । एउटा छोरी, बुहारी, आमा अनि पत्नी बाहेक विदेशमा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा उठाउनु परेका चुनौती र समस्याहरु अनि सन्तुष्टिहरु सबैको समष्टिगत अभिव्यक्ति ‘विद्यार्थीका पाइला’ मेरो स्वप्न योजना छ । झण्डै दुई दशक लामो समय समेटिने त्यो संस्मरणको अन्तिम भाग मेरो विद्यावारिधिको दीक्षान्त समारोह हुनेछ ।
उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरु, त्यसमाथि पनि मै जस्ता सपना बोकेर हिँड्ने महिलाहरुको लागि पनि दृष्टान्तको रुपमा यी कृति ल्याउने योजना छ, यहाँहरु सबैको शुभेच्छाको आशा गरेकी छु ।