नेपाललाई सबैभन्दा बढि माया एसिया प्यासिफिकका नेपालीले गर्छन् : विनोद कुँवर

news-details

करिव १९ बर्षको उमेरमा दक्षिण कोरिया छिर्नुभएका विनोद कुँवर नेपालभन्दा बढी उमेर कोरियामा नै वितिरहेको छ । दुई वर्षमात्र कोरियाको अनुभव लिने र देशमै केही गर्छु भन्ने सपना लिएर छिर्नु भएका कुँवर अहिले कोरियामा सफल व्यवसायी बन्नुभएको छ । नेपाल र कोरियाबीच टे«डिङ व्यवसायको अलावा रेष्टुरेण्ट व्यवसाय गरिरहनुभएका कुँवर रेमिट्यान्सको व्यवसायमा पनि लाग्नुभएको छ । कोरियाले लगनशिल, पौरख गर्न र नयाँ भिजन लिन सिकाएको बताउने कुँवर कोरिया आएर पढेर भन्दा पनि परेर धेरै शिक्षा लिएको बताउनुहुन्छ । व्यवसायको अलावा सामाजिक काममा पनि सक्रिय कुँवर एनआरएन एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीले नेपालको सबैभन्दा धेरै मायाँ गर्ने बताउने कुँवर स्वदेशमा लगानी पनि ल्याइरहनु भएको छ । एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक विनोद कुँवरसँग एनआरएन अभियान, एसिया प्यासिफिकमा रहेका नेपाली र उहाँका अनुभवका बारेमा उद्वव भट्टराईले गरेको कुराकानी :

अहिले तपाई गैरआवासीय संघ एसिया प्यासिफिकको उपसंयोजक हुनुहुन्छ, समग्रमा एसिया प्यासिफकमा रहेका नेपालीहरुको अवस्था कस्तो छ ?

एसिया प्यासिफिक क्षेत्रमा धेरै नेपालीहरु रोजगारीका सिलसिलामा हुनुहुन्छ भने व्यापारी र विद्यार्थीहरुको संख्या पनि राम्रै छ । मलेसिया धेरै नेपाली श्रमिक भएको देश हो भने कोरिया, जापान, हङकङ, चाइना लगायतका देशमा सबै प्रकारका नेपाली हुनुहुन्छ । जापान, कोरिया लगायतका देशहरुमा भने जस्तो जागीर अर्थात काम नभएकोले गर्दा समस्या छ तर ति समस्याहरु हल पनि भैरहेका छन् । अन्य देशमा विद्यार्थीका समस्या देखिन्छन् भने मलेसियामा श्रमिकको समस्या ठूलो छ । मलेसियामा जस्तो हङकङ, कोरिया, जापान, सिंगापुर, थाइल्याण्डमा भने एउटा सिस्टममा गइसकेको हुनाले मजदुरमा त्यति समस्या नहोला । मजदुर, व्यापारी सबैको आ–आफ्नै समस्या हुन्छन् । तर एसिया प्यासिफिकबाट नेपाल नजिक भएको हुनाले गैरआवासीय नेपालीमा बढी लगानीका कुरा आउने गरेको छ । नेपाललाई बढी माया गर्ने र प्राथमिकतामा राख्ने काममा एसिया प्यासिफिकबाट हामीले महत्वपुर्ण भुमिका खेलिरहेको छौं जस्तो लाग्छ ।

एसिया प्यासिफिकमा धेरै नेपालीहरु हुनुहुन्छ । तपाईहरु सबै मिलेर वा तपाईहरुको पहलमा नेपालको लागि एनआरएन मार्फत यो क्षेत्रबाट त्यस्तो केही योजनाहरु ल्याउनुभएको छ त ?

हामीहरुले एसिया प्यासिफिकबाट भन्दा पनि समग्र एनआरएनबाट लगानी कसरी ल्याउने भनेर लगानीको बारेमा अहिले एजेण्डा बनाइरहेका छौं । ठोस रुपमा भन्ने हो भने विभिन्न ठाउँमा लगानी गरिहेकाछौैै । यो पटकको एनआरएनको कार्यसमितिले अझ बृहत रुपमा लगानी भित्राउने भनेर एजेण्डाहरु बनिरहेका छन् । एसिया प्यासिफकको कुरा गर्दा म रहेको देश कोरियाबाटै पनि लगानी भित्राउने कुरामा म आफै पनि लागिरहेको छु । हामीले एउटा ईन्भेष्टमेण्ट कम्पनी बनाएका छौं । सामुहिक किसिमले नेपालमा लगानी लैजाउँ भनेर केही हाईड्रो, टुरिजम सेक्टरमा लगानी पनि गरिसकेका छौं । यसलाई अझ बृहत किसिमले सबैलाई समेटेर लैजान हामी प्रयासरत छौं । जस्तै हामीले काठमाडौंमा ‘मोनोरेल’ बनाउँदैछौ । २५ मेगावाटको हाईड्रो पावर प्रोजक्टमा म आफै अध्यक्ष भएर काम गरिरहेको छु । उक्त हाइड्रोको शिलान्यास आउने डिसेम्बर भित्रमा गर्ने कुराहरु पनि भैरहेको छ । त्यस्तै कृषिमा पनि कोरियामा धेरै राम्रो सिस्टम छ । त्यसलाई पनि हामीले नेपालमा कसरी लैजाने भन्ने कुराहरु एसिया प्यासिफकबाटै भएर पनि नेपालमा साथीहरु बोलाएर विभिन्न किसिमका ट्रेनिङहरु दिने काम पनि गरिहेकाछौं । त्यसमा हाम्रो धेरै प्रचार गरेर भन्दा पनि काम गरेर देखाउन्ु पर्छ भन्ने मेरो उद्देश्य छ ।

एसिया प्यासिफिकमा रहेका नेपालीहरुका समस्यालाई चै समग्र कसरी तपाईहरुले उजागर गरिरहनुभएको छ ?

एसिया प्यासिफिकमा पनि प्रत्येक देशमा आ–आफ्नो समस्याहरु छन् । मिडिल इस्टमा त झन् ठुलै समस्याहरु छन् । कोरियाको कुरा गर्दा यहाँ कार्यरत नेपालीहरु स्टे«स बढी भैरहेका छन् । कोरियामा ४५ हजार नेपालीहरु रहेकोमा ८० प्रतिशत मजदुर रहेका छन् । भाषा सिकेर आउँदा पनि धेरै समस्याहरु छन् जस्तै गा¥हो काम हुन्छ, १२ घण्टा बढी काम गर्नु पर्नेहुन्छ । कम्पनी फेर्न नपाइने समस्याहरु लगायतका समस्याहरु समय समयमा आएकै छन् । अर्को कुरा विद्यार्थी भाईहरु निकै जापान,कोरियामा निकै आइरहनुभएको छ । एसिया प्यासिफिकमा विद्याथीहरुलाई पार्ट टाइम कामको पनि बढी समस्या भइदिन्छ । कोरियामै भन्नुपर्दा जहाँपनि काम गर्ने सिस्टम छैन्, काम गर्ने पनि सीमित टाइम हुन्छ, त्यस्तो सिमित समयले खर्च चल्दैन । त्यसकारण सरकारले विद्यार्थीहरु आउँदा यहाँको सरकारसँग सहकार्य गरेर एउटा पोलिसी बनाएर, काम गर्ने आधारहरु राम्रो किसिमले बनाएर पठाउन पाए विद्यार्थीहरुलाई सजिलो हुन्थ्यो ।

नेपालबाट पैसा ल्याएर त पढ्न सकिदैन तर आफ्नो क्षमताअनुसार परिश्रम गरेर पढ्न पाउने अधिकार व्यक्तिमा हुनुप¥यो । अर्को कुरा कोरियाको मजदुर कै कुरा गर्ने हो भने राजदुतावासमा सिमित कर्मचारीहरु हुनुहुन्छ । सीमित कर्मचारीले सबै तिर भ्याउन गा¥हो छ । सरकारले के सोच्नुप¥यो भने ८० प्रतिशत मजदुरले पैसा पठाउने देशमा सरकारीको उपस्थिति राम्रो हुन जरुरी छ । युरोप, अमेरिका भन्दा पनि एसियाप्यासिकमा कमाएको पैसा त सबै नेपाल जाने हुनाले नेपालमा आय श्रोतको यो ठुलो बाटो हो । त्यसकारण सरकारले पनि कामदारहरु रोजगारका सिलसिलामा आइ पर्ने घटनाहरु, बिमा समस्याहरु, समस्याहरुलाई राम्रो सँग हेरिदिनुभयो भने काम गर्नेलाई पनि उत्साह हुन्छ ।

कोरियामा धेरै नेपालीहरु आत्महत्या गर्नेहरु पाइन्छन्, मानसिक तनावकै कारणले यस्ता घटना घटिरहेकाछन् कि परिश्रम बढी गर्नु पर्दा ?

कोरिया भनेको धेरै हाडवर्क गर्ने देश हो । काम गरेर नै धनी भएको देश हो । नेपालमा कडा परिश्रम गर्ने बानी हुँदैन । यहाँ आएपछि कडा परिश्रम र खाना नमिल्ने हुनसक्छ, गाउँमा गएर एउटा खेतको कुनामा गएर काम गर्नु पर्ने समस्या हुनसक्छ । जसले गर्दा एक्लोपना हुन्छ । विकसित देशमा आएको छु भन्ने सोचेर यो भन्दा राम्रो जाने ठाँउ अरु छैन भनेर आएका हुन्छन् र नेपाल फर्किउँ भने पनि आफ्नो अवस्था त्यस्तो छ भनेर दोहोरो तनाव हुन्छ । घरपरिवारको पनि केही तनाव हुन सक्छ । त्यसकारण म परिवार र ईष्टमित्रलाई के भन्न चाहन्छु भने कमसेकम आफ्नो मान्छेसँग ‘कीप इन टच’ नियमित सम्पर्कमा भएर सल्लाह तथा सुभाव दिनुभयो भने यो आत्महत्याका घटनाहरु कम हुन्छ । फ्याक्ट्रीमा बढी काम हुने भएकोले औधोगिक घटनाहरु पनि बढी भएका छन् । लामो समयसम्म काम गर्नुपर्ने भएको हुनाले शरिर बोझ भइसकेको हुन्छ । जसले गर्दा यस्ता घटनाहरु हुन्छन् । मान्छेहरु सुतेको ठाउँमै निधन हुने घटनाहरु पनि गा¥हो काम गर्ने भएको हुनाले शरिरले व्यालेन्स दिन सक्दैन जसले गर्दा ति घटनाहरु हुन्छन् ।

त्यसकारण सबै साथीहरुलाई लगायत संस्थामा भएका साथीहरुलाई के भन्न चाहन्छु भने जहाँ आफुले जे गर्न सकिन्छ मजदुर साथीहरुलाई, व्यापारी साथीहरुलाई सहकार्य गरेर सहयोग गर्न सकियो भने यस्ता घटनाहरु पक्कै पनि घट्छन् । समस्या के हो भने राजदुतावासमा श्रमसहचारीले गर्नु पर्ने भुमिकाहरु धेरै छन् । तर एक्लो व्यक्तिले सबैतिर भ्याउन मुस्किल छ । दूतावासमा दोभाषे राख्ने, मजदुर साथीहरुले जुनबेला पनि फोन गर्न सक्ने छुट्टै एउटा कल सेन्टर राखिदिने हो भने दुःखका कुराहरु पोख्न पाउँथे ।

एसिया प्यासिफिकमा नेपालीहरुको लागि सम्भावना कस्तो छ ? यसबाट नेपालीहरुले के फाईदा लिन सक्छन् ?

एसिया प्यासिफिकमा रहेका नेपालीहरुले यता आउँदा एउटा राम्रो आर्जन गर्न सक्छन् । नेपाल र एसिया प्यासिफिक एकदम नजिक छ । अनि हामीहरुले विदेशमा सिकेका सीप र आर्जनहरु, यहाँ र नेपालका कल्चरहरुमा धेरै कुराहरु मिल्छ । र यिनीहरुका सबै टेक्निल कुराहरुलाई नेपालमा प्रयोग गर्न सकिन्छ । एसिया प्यासिफिककै साथीहरुले आफुले सिकेका कुराहरु नेपालमा लगेर प्रयोग गर्न सकिन्छ । अहिले धेरै विद्यार्थी साथीहरु यहाँ पिएचडी गर्नु भएको छ । उहाँहरुलाई नेपाल लगेर प्रयोग गर्न सक्ने सम्भावना पनि एसिया प्यासिफकमै छ । नेपाली विश्वमा छरिएर बसे पनि म एसिया प्यासिफिकमा भएको हुनाले हामीले पैसा मात्र नपठाएर सीप कसरी प्रयोग गर्न सकिन्छ त्यता तिर सोचौ । पैसा बाँड्ने काम मात्र नगरौ बरु टेक्निकल्ली कामहरु गरेर देखाऔं । एक्लैले यो सबै काम गर्न सकिदैन । त्यही भएर सबै साथीहरु गोलबद्ध रुपमा यसमा लाग्नुपर्छ ।

कोरियाकै सन्दर्भमा, यहाँ धेरै नेपालीहरु राम्रो पारिश्रमिकसहित काम गरिरहनुभएकोछ तर त्यो कमाईको सही सदुपयोग भएन भन्ने आवाज छ नि ?

यो एकदम महत्वपुर्ण कुरा हो । यहाँ कार्यरत नेपालीहरुमा सामुहिक लगानी गरेर नेपालमा केही उत्पादनमुलक गरौ भन्ने सबैको मनमा छ । तर लगानी गरिसकेपछि त्यो कसरी सुरक्षित हुन्छ वा लगानी डुब्छ कि भन्ने चिन्ता छ । मानिसले लगानी गरेपछि त फाईदा खोज्छ तर फाईदा दिने आधारहरु नेपालमा ठुला प्रोजेक्टमा भएको छैन् । अब सानो कृषिमा लगानी ग¥यौ भने त्यो पनि त ल्याएर बेच्ने ठाउँ हुनुप¥यो । अहिले देश संघियतामा गइसकेको छ र सरकार पनि स्थायी छ । अब जनताले लगानी गर्दा त्यहाँबाट सुरक्षित र छिटो फाईदा आउने वातावरण सरकारले बनाउनु पर्छ । उत्पादनमुलक भनेको नेपालमा हाईड्रो, पर्यटन, कृषि लगायत छन् । त्यसलाई सरकारले अलिकति छिटो र सजिलो र विदेशी ठुला कम्पनीलाई छिटो आएर काम गर्ने वातावरण बनाइदियो भने त्यसको आधारलाई राखेर लगानी गर्न सजिलो हुन्थ्यो ।

एसिया प्यासिफिकका साथीहरु नेपालमा लगानी गर्न एकदमै आतुर छन् किनभने यो भनेको युरोप अमेरिका जस्तो सँधैभरी बस्ने देश हैन भन्ने सबैलाई थाहा छ । यहाँ भनेको पौरख गर्ने र कमाउने मात्रै हो । कमाएको पैसालाई जोगाएर राख्ने त नेपालमा नै हो ।

तपाई एसिया प्यासिफिकको उपसंयोजक हुनुहुन्छ । तपाईकोतर्फबाट एनआरएन मार्फत यो क्षेत्रको लागि तपाईका योजनाहरु केही छन् ?

हामीहरुको कार्यकालको पनि लगभग आधा अवधि समाप्त भयो । हाम्रो एउटा एजेण्डा भनेको मेरो तर्फबाट र एसिया प्यासिफिकको लिडरको तर्फबाट यो पटक देशमा लगानीको वातावरण बनाउने र लगानी भित्राउने भन्ने एजेण्डा छ । हामीहरुले गरिपनि रहेकाछौ तर त्यो देखीएको छैन । सायद एक डेढ वर्षमा नेपालमा मोनोरेल हामीले राख्दैछौं । त्यस्तो ठुलो मोनोरेल हैन एउटा टुरिजम मोनेरेल हो । त्यसमा सबै एनआरएनकै साथीहरुले लगानी गरेका छौं । यसरी एउटा मोडेल देखायौ भने भोलि गएर विश्वास आउँछ त्यो भए पछि मान्छेहरुले ल है गरे हुँदो रहेछ भन्ने वातावरण बन्छ । त्यसकारण सबभन्दा ठुलो कुरा भनेको लगानी हो । तर भोलि हामी नफस्ने किसिमका लगानी गर्ने तयारी गरेका छौं ।

अन्त्यमा तपाई एनआरएन एसिया प्यासिफिकको उपसंयोजकको नाताले यो क्षेत्रमा आउन आतुर युवाहरुलाई के सल्लाह सुझाव दिन चाहानुहुन्छ ?

गैरआवासिया नेपाली संघ परदेशमा बस्ने नेपालीहरुको साझा संगठन हो भनेर सबैलाई थाहा भएकै कुरा हो । म के सल्लाह दिन चाहान्छु भने संस्थामा लाउनुभन्दा पहिला आफु बन्नुहोस् । आफु नबनेसम्म न त संस्था बन्छ न आफु बनिन्छ । मैले पाएको अनुभव म एनआरएन कोरियाको अध्यक्ष दुई पटक आफैले चलाईसके, म सदस्य हुँदादेखि चल्दै आएको अनुभवको आधारमा के भन्न चाहान्छु भने तपाईहरुको पालो छ निरन्तर लाग्नुहोस् संस्थामा तर आफ्नो घरपरिवार र समय बर्बाद पारेर नलाग्नुस् । किनभने त्यसले भोलि ठुलो पछुतो बनाउछ । किनभने संस्थाले खान दिने केही हैन, लाउन दिने केही हैन । त्यही भएर पहिला आफ्नो आर्थिक अवस्था बनाउँदै जाने र संस्थामा लिडरसिप भन्दा पनि तल–तलबाट सिक्दै आउने र आफ्नो स्तर बढाउँदै आयौ भने यो संस्थाले पनि धेरै कुरा सिकाउछ । अर्को कुरा एसिया प्यासिफिक भनेको यहाँ आएर ज्ञान सिकेर, कमाएर आफ्नै देश जाने ठाँउ हो । तर आउन भन्दा अघि उद्देश्य बोकेर आउनु भयो भने सफल पनि हुन सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *