नेपालीलाई कनेक्ट गराउने एनआरएनए फेसबुक जस्तै हो : धर्मराज अधिकारी
- अशोज २२, २०७५
- 0
गैरआवासीय नेपाली संघको छैटौ मध्यपूर्व क्षेत्रीय भेलामा सहभागी हुन यूएई आउनुभएका ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारी यस्ता सम्मेलन र भेलाहरुले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकआपसमा जमघट गराइदिने र भावना साटासाट गराउने बताउँनुहुन्छ । आजभन्दा २३ वर्षअघि अध्ययनको सिलसिलामा अष्ट्रेलिया प्रवेश गर्नुभएका अधिकारी अहिले अष्ट्रेलियामा सफल व्यवसायीको रुपमा पनि परिचित हुनुहुन्छ । अष्ट्रेलियामा डोमिनोज पिज्जाको फ्रेन्चाइज संचालन गरिरहनुभएका उहाँसँग यूएई क्षेत्रीय भेलामै एनआरएन अभियान र व्यवसायिक जिवनको सेरोफेरोमा रहेर फणिन्द्र दाहालले गरेको जम्काभेट कुराकानी :
गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा आउनुभयो, तपाईले यहाँ के–के देख्नुभयो र के पाउनुभयो त ?
खासगरी मिडलइष्टमा थुप्रै नेपाली कामदारहरु कार्यरत छन र उनीहरुका समस्या तथा समस्या समाधानका लागि एनआरएनएले खेल्नसक्ने भूमिका नै यहाको प्रमुख मुद्धा रहेको मैले पाए । म चाँही ओसियाना रिजनको को–ओर्डिनेटर हुँ । कुनै पनि रिजनले गरेको सम्मेलनलाई हामीले सहयोग गर्नुपर्छ । त्यही कारणले म यस सम्मेलनमा भाग लिन आएको हुँ । यहाँ धेरै साथीहरुसँग भेटघाट गर्ने मौका मिल्यो । यो क्षेत्रिय सम्मेलनबाट हामीले सिकेको दक्षता, हामीसँग भएको सीप र हामीले कमाएको सम्पतिलाई कमसेकम मातृभूमिमा लगेर केही गर्न सकिन्छ भन्ने एकतामुलक सन्देश गएको छ । समष्टिगतरुपमा भन्नुपर्दा यो सम्मेलन एकदम भव्य र सभ्यरुपमा सम्पन्न भयो ।
मध्यपूर्व भनेको धेरै नेपाली मजदुरहरु सप्लाई हुने क्षेत्र हो, मध्यपूर्वका एनआरएनलाई भोट बैङ्कको रुपमा मात्र प्रयोग गरियो भनिन्छ, के यो सत्य हो ?
अवश्य नै मध्यपूर्वमा अरु क्षेत्रको तुलनामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको संख्या बढी छ र एनआरएन अभियानमा पनि वहाँहरुको सहभागिता पश्चिमी देशहरुमा जाने साथीहरुको भन्दा बढि पाइन्छ । किनभने मेम्बरको हिसाबले पनि यहाँ धेरै साथीहरु हुनुहुन्छ । मैले चाहि भोट ब्याङ्क कुन हिसावमा भनिएको हो बुझन सकिरहेको छैन । मलाई जहासम्म लाग्छ एनआरएन सम्मेलनहरुमा यहाँबाट राम्रो सहभागीता हुने गरेको छ । दुरीको हिसाबले पनि नेपाल जान सजिलो हुने भएकोले यहाँबाट धेरै साथिहरु जाने भएकाले त्यसो भनिएको होला ।
एनआरएनए धनी कै संस्था हो भन्ने पहिले देखि आरोप लाग्दै आएको छ, अहिले तपाईहरुले गरीब नेपाली जहाँ काम गर्छन त्यो ठाँउमा आएर सम्मेलन गर्नुभयो ?
एनआरएनए भनेको हामी सबै नेपाल छाडेर आएका गैरआवासीय नेपालीहरुको डायस्पोराको साझा संस्था हो । आज कोहि दुबईमा छन्, म अष्टे«लियामा छु, वहाँहरुले चाहे पनि नचाहे पनि देश छोडिसकेपछि वहाँहरु स्वतः एनआरएन हुनुभयो । सदस्यता लिने कुरा बेग्लै होला । मैले देखे अनुसार यो संस्था धनी, गरीब, अशिक्षित सबैको हो । मैले अघि नै भने नि हामीले सिकेको सीप र आर्जन गरेको सम्पतिलाई देशमा लाने भनेपछि सबै कुरा मिल्छ । त्यसकारण यहाँ धनी पनि छन् गरीब पनि छन्, सबै खाले मान्छे छन् ।
यहाँ आफ्नो बिजनेशबाट समय निकालेर पनि सम्मेलनमा सहभागी हुनुहुन्छ । एनआरएन अभियानबाट सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्टि, असन्तुष्टि भनेको मान्छेको मनमा हुने भावना हो । मैले गरेको कुरा, म हिडिरहेको बाटोहरु सही छ कि छैन भन्ने कुरा त आफ्नो अन्तरआत्माले, आँफैले बुझ्ने कुरा हो । एनआरएन पनि एक किसिमको फेसबुक जस्तो छ किनभने यसले मान्छेहरुमा कनेक्सन गराएको छ, नेपालीहरुमा भातृत्व निर्माण गरेको छ । यसलाई नकारात्मक तरिकाले भन्दा सकारात्मक तरिकाले सोच्नुपर्छ ।
भर्खरै सम्पन्न एनआरएनएको दूवई क्षेत्रिय सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ, यो कार्यान्वयन हुन्छ वा त्यो पनि कागजमै सीमित त हुने होइन ?
अवश्य कार्यान्वयन हुन्छ किनभने नेतृत्वमा बसेकाहरुलाई च्यालेन्जको कुरा पनि हो यो । म त पदको हिसाबले सामान्य अफिसियल बियरर् हो । हाम्रा साथीहरुबीचबाट डिस्कसन भएर आएका र यत्रो सम्मेलनले गर्ने कुराहरु , सबै अन्तर्राष्ट्रिय डायस्पोराहरुको डिसिजनलाई पुरा गराउन सबै आ–आफ्नो ठाँउबाट लाग्नेमा कुनै शंका नै छैन । आफुले गर्ने काममा सफल बन्न को चाहँदैन र ? तर कति समय लाग्छ भन्ने कुराहरु हाम्रो देशको वातावरणले पनि फरक पार्छ । काम गर्ने क्रममा केहि ढिलो हुनसक्ला तर मलाई जहाँसम्म लाग्छ यो पूर्ण हुन्छ ।
तपाई अहिले ओसियाना क्षेत्रको संयोजक हुनुहुन्छ, एनआरएनएमा अहिलेसम्म केहिले बाहेक चुनाव जित्नुभन्दा पहिला ठुला–ठुला कुरा गरेर म यसो गर्छु भनेर सपना बाढ्ने, चुनाव जितेपछि अर्को चुनाव नआएसम्म गुमनाम हुने र फेरी चुनावमा चाहि अघि सर्ने प्रवृति बढ्दो छ । यहाँले यो झण्डै एक वर्षको बिचमा के गर्नुभयो ?
रिजनल को–ओर्डिनेटरको काम भनेको त्यो क्षेत्रमा रहेका एनसीसीसँग मिलेर काम गर्ने हो । अहिले हाम्रो क्षेत्रमा रहेका जहाँ हाम्रो संगठन बनेको छैन त्यहा संगठन बनाउने आधार खोजीरहेका छौं । अहिले तत्काल फिजीमा हाम्रो संगठन विस्तारको खाँचो छ र यसका लागि हामीले तुरुन्तै विज्ञ सम्मेलन गर्दैछौं । सेप्टेम्बर १५ मा सिड्नीमा लगभग दुई सयजनाको सहभागितामा नलेज कन्भेन्सन ग¥यौ । त्यसले नेपालमा हुन गईरहेको अक्टोबरको बिज्ञ सम्मेलनलाई सहयोग पु¥याउने हाम्रो विश्वास छ । यस्तै क्षेत्रमा जसरी रिजनल कन्फ्रेन्स भैरहेको छ अब हामी पनि यस्ता कार्यक्रम गर्छौ । अहिले एनआरएन अभियानका अन्य कार्यक्रममा सहभागी भैरहदा यसमा केहि ढिलाई भएको चाहि पक्कै हो ।
एनआरएन अभियानमा लाग्ने साथीहरुमध्ये सम्भावना भएका व्यक्तित्वको रुपमा हामीले यहाँलाई हेरिरहेकाछौं, यस अभियानमा यहाँको भावी कार्ययोजनाहरु के छन् ?
अहिलेसम्म खासै त्यस्तो योजनाको लिस्ट बनाएको छैन । तपाईहरुले यो कुरा राख्नुभयो अब मलाई खुल्दुली जाग्यो । भोलीका दिनमा पनि म यस अभियानको नेतृत्वपंक्तिमा अटाउन सक्छु कि जस्तो लाग्छ । सायद मेरो पनि पालो आउँछ होला र केही नविन सोचाईहरु बन्छ पनि होला । भविष्यमा पनि मलाई एनआरएन अभियानमा रहेर काम गर्न मन छ । सम्भावना के हुन्छ हेर्दै जाँउ, त्यो समयले बताउने कुरा हो ।
प्रसंग बदलौ, तपाई अष्ट्रेलियामा व्यवसाय गरिरहनु भएको छ, विस्तारका योजना के–कस्तो बनाउनुभएको छ नी ?
मेरो डोमिनोज पिज्जाको पहिला सत्र वटा आउटलेट थिए । अहिले चाँही १४ वटा आउटलेट छ । यहाँ एक्ज्याक्टली यति ओटा आउटलेट खोल्छु तथा यतिवटा बनाउछु भन्ने हुँदैन किनभने किनबेच पनि भैरहेको हुन्छ । त्यसकारण कहिले बढाउने प्रक्रिया पनि हुन्छ र कहिले घटाउने प्रक्रिया पनि हुन्छ ।
नुवाकोटको एउटा गाँउमा जन्मेर यत्रो सफलता कसरी हासिल गर्नुभयो ?
सबै मान्छेले जिवनमा एउटा–एउटा काम गर्छन् । मैले पनि त्यसैमध्येमा हुँ । कुनै पनि काम गर्न मान्छेमा एउटा ईच्छाशक्ति हुनुपर्छ । म काठमाडौंमा हुँदा वा दिल्लीमा हुँदा पनि बिजनेस नै गर्थे । अष्ट्रेलिया चैं एजुकेशनको हिसाबले गइयो । सुरुमा काम गरे । तर बिजनेस गर्ने भावना आफुँबाट नहटेपछि बिजनेस गरे । सफल त अरुले देख्ने हो मैले भन्ने होइन । समग्र रुपमा भन्नुपर्दा म आफुले गरेको सम्पूर्ण कामप्रति खुशी नै छु ।
यहाँ अष्टे«लियामा सफल हुने सीमित नेपालीहरुमा पर्नुहुन्छ, नेपालमा चैं केही व्यापार व्यवसाय गर्ने सोच बनाउनु भएको छ ?
व्यक्तिगतरुपमा त जन्मभूमीमा विभिन्न स्कुलहरुलाई सहयोग गरिरहेको छु । भर्खरै नेपालमा शान्तीको बाटो सुरुवात हुँदैछ, अहिले स्थापित सरकार छ । मौकाहरु खोजीरहेका छौं र अहिले बाहिर बस्ने धेरै नेपालीहरुले नेपालमै लगानी गर्ने सोच बनाएका छन् । त्यसमध्येमा म पनि हुँ । अब छुट्टै एउटा कार्यक्रम लिएर नेपालमा जाँदैछु । तर कार्यव्यस्तताको कारणले गर्दा अलिकति गा¥हो हुँदोरहेछ । तर केही गर्ने सोच अवश्य बनाएको छु । मैले सहभागिता धेरै होस भनेर नेपालमा सामूहिक लगानी गर्ने गरी साथीहरुसँग सरसल्लाह गर्ने कार्यलाई पनि अघि बढाइरहेको छु । नेपालको अवस्थालाई हेर्ने हो भने नयाँ व्यापार व्यवसाय सुरु गर्न अझ पनि गा¥है छ । तर नहुने र गर्न नसकिने कुरा भने केही पनि हुदैन । नेपालमा धेरै सम्भावनाहरु छन् । नेपालमा एउटा धुलोलाई मात्र कन्ट्रोल गर्ने हो भने अर्बौ पैसा कमाउन सक्छौ । तर त्यसलाई गर्न दिने नदिने भन्ने बेग्लै कुरा हो । देशलाई सिस्टमेटिक बनाउनुपर्छ । त्यति मात्र गर्दा पनि देशमा लगानी बढ्छ ।