दुःखको साहित्य बढी लेखुँ जस्तो लाग्छ : – ममता तिवारी, लेखिका-गायिका
- साउन २५, २०७५
- 0
ममता तिवारी नेपाली साहित्यमा सिर्जनशील नारी स्रष्टा हुन् । गायन र लेखनमा समान परिचय छ उनको । समसामयिक विषयमा कलम चलाउने तिवारीको अष्ट्रेलियाको सिड्नीमा रहेर अनेक साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यमा अग्रसरता रहिआएको छ । साहित्यलाई आफ्नो जीवनको कोमल गीत ठान्ने साहित्यकार तिवारीसँग गरिएको छोटो कुराकानी :
तपाईका आमा र बुबाको नाम के हो ?
मेरो बुबाको नाम चक्रपाणि तिवारी र आमाको नाम सुमित्रादेवी तिवारी हो ।
जन्मस्थान कहाँ हो ?
म प्रगतिनगर, नवलपरासीमा जन्मेकी हुँ । मेरो बाल्यकालको शिक्षादीक्षा पनि त्यहीँ भएको हो ।
कुन–कुन विधामा कलम चलाउनु हुन्छ ?
सांस्कृतिक गीत गाउन र लेखन मलाई मन पर्छ । वियोगान्त कविता र कथा लेखन पनि मलाई मन पर्छ ।
कहिलेदेखि लेख्न थाल्नु भयो ?
सानैदेखि नाच्ने, गाउने गर्थे । आपूmले गाउने गीतहरु त म आफैँ पनि लेख्ने गर्थें । मलाई दुःखको साहित्य बढी लेखुँ जस्तो लाग्छ ।
किन लेख्नु हुन्छ ?
कथा, कविता लेख्दा मनैदेखि रमाइलो हुन्छ । मनभित्रैदेखि आनन्दित हुन्छु साहित्य लेख्दा ।
तपाई त राम्रोसँग गाउनु पनि हुन्छ नि ?
हजुर म गीतहरु गाउँछु । गद्यभन्दा पद्य कविता लेख्नभन्दा गाउन मन पराउँछु म ।
कति वटा संस्थामा रहेर काम गरिरहनु भएको छ ?
म धेरै संघसंस्थामा आबद्ध छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नीको कोषाध्यक्ष र नारी निकुञ्जमा पनि कार्यरत छु । अष्ट्रेलियामा रहेका थुप्रै सांस्कृतिक, साहित्यिक र सामाजिक संस्थाहरुमा जोडिएर काम गर्न पाउँदा आनन्दित छु । ती परोपकारी संस्थामा रहेर काम गर्दा खुशी लागेको छ ।
तपाईको खास रुचि के के हुन् ?
समाजसेवा गर्ने, कविता–गीत लेख्ने र गाउने विशेष रुचिहरु हुन् । विशेषतः सांस्कृतिक कुराहरुमा जोडिएर काम गर्न मन लाग्छ । नाच्न र गाउन त झनै मन लाग्छ ।
नेपाली साहित्य कत्तिको पढ्नु हुन्छ ?
अलिकति फुर्सद मिल्यो कि साहित्यिक कृतिहरु किनेर, मगाएर पढ्छु । समय नमिल्दा पनि मैले पढ्नु पर्छ भनेर पनि अध्ययनमा समय निकाल्छु । साहित्यिक कृतिहरुमा रमाउँदा हृदय प्रफुल्ल हुन्छ ।
अष्ट्रेलियाको व्यस्त जीवनमा समय कसरी मिलाउनु हुन्छ लेखनलाई ?
यहाँको जीवनशैली निकै व्यस्त हुन्छ । म आफ्ना कामपछिको समयलाई लेख्न र पठनमा लगानी गर्छु । खाली समयलाई प्रायः म कुनै न कुनै रचनात्मक काममा नै खर्चिने गर्छु ।
पाठकहरुले तपाईबाट कथा, कविता, उपन्यास के पाउँछन् चाँडै कृतिका रुपमा ?
अहिलेसम्म मैले कुनै कृति लेखेको छैन । फुटकर रुपमा भने थुप्रै रचनाहरु लेखेँ । अब कृतिको रुपमा तयार गर्ने सोचाइमा छु । जीवन र समयका भोगाइलाई लिपिबद्ध गर्ने योजना बनाइरहेकी छु ।