‘कूटनीतिक पहल नै मलेसिया रोजगारीको समाधान’ : मोहनकृष्ण श्रेष्ठ, पूर्वराजदूत

news-details

कुटनैतिक क्षेत्रमा तीन दशक बिताउनु भएका मोहनकृष्ण श्रेष्ठ अहिले अवकासकोजीवन बिताइरहनु भएको छ । फ्रान्समा आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फकेपछि उहाँले आफ्नो जीवनको केही अंशसमेतलाई जोड्दै कुटनीतिक सेवामा गरेका कामहरू समेटेर ‘कूटनीतिमा तीन दशक’ नामको एक पुस्तक प्रकाशन गरिसक्नुभएको छ । कुटनीतिक क्षेत्रका आफ्ना अनुभूतिहरू अरुलाई पनि उपयोगी होस् भन्ने विचार राख्ने श्रेष्ठ सरकारी सेवाबाट रिटायर्ड भए पनि थाक्नु भएको छैन । उहाँ अहिले पनि समसामयिक विषयबस्तुमा आफ्ना अनुभव तथा धारणाहरू सार्वजनिक गरिरहनुहुन्छ । पछिल्लो समय कुटनैतिक पहल नगरी श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारी बन्द गर्दा दुवै देशको सम्बन्धमा आँच आउन सक्ने उहाँको बुझाइ छ । कुटनैतिक पहल गरेर दुई देशबीचका निर्णय गर्नु पर्ने उहाँ बताउनुहुन्छ । मलेसिया सरकारलाई नेपाली चाहिएको छ, नेपालीलाई रोजगारी चाहिएको छ त्यसकारण कुटनैतिक पहल गरेर छिटो समाधान गर्न पूर्व राजदूत श्रेष्ठको सरकारलाई सुझाव छ.। पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठसँग समग्र वैदेशिक रोजगार, मलेसिया रोजगारी तथा श्रम कुटनीतिका विषयमा गरिएको छोटो कुराकानी :

तपाई अहिले सरकारी सेवाबाट अवकास पाएर बस्नुभएको छ, कसरी बितिरहेको छ दिनहरू ?

एकदम रमाइलो गरी बितिरहेको छ । पहिला जिम्मेवारीमा हुँदा दायित्वहरू थियो अहिले त्यो सबै सकियो । त्यसैले अहिले घरायसी काम लगायत एउटा किताब निकाल्ने तयारी गरिरहेको छु । यसै कारणहरूले गर्दा पनि समय बितेको पत्तै हुँदैन । जे होस् रमाइलो भइरहेको छ ।

कुटनीतिक क्षेत्रलाई चटक्कै छोडेर रिटायर्ड लाइफ बिताइरहनुभएको छ । यो तीस वर्षको यात्रालाई बीट मार्न सजिलो छ ?

मलाई असहज छैन । मलाई एकदिन यस्तो महशुस भयो कि सरकारी जागिर नै खाने भूत चढ्यो । र मैले अठोट गरेर लोकसेवा परीक्षा पास पनि गरेँ । पहिला प्रशासनमा नाम निकाले फेरि चित्त नबुझेर परराष्ट्रमा जाँच दिएर पास भएँ । तीनपटक मैले लोकसेवाको परीक्षा पास गरे । अहिले तीस वर्षपछि आएर हेर्दा त्यो बेलामा अलि गा¥हो भए पनि मैले राम्रो निर्णय गरेछु भन्ने लाग्छ । किनभने सेक्सन अफिसरबाट काम सुरु गरेर फ्रान्सको राजदूतसम्म बन्ने सौभाग्य पाएँ । यसबीचमा ७१ वटा देश घुम्न पाएँ भने देशविदेशका धेरै सभा–सम्मेलनहरूमा सहभागी हुन पाएँ । कामको परिप्रेक्ष्यमा कुरा गर्दा मैले राजदूतावासमा काम गरेको भनेको थाइल्याण्ड, जापान, युएई हुँदै अन्त्यमा फ्रान्समा राजदुत हँुदासम्म हो । फ्रान्समा आवासिय राजदूत हुँदा त्यहाँबाट हेर्ने अरु चारवटा देश जस्तै ग्रिस, मोनाको, पोर्चुगल, स्पेन र पेरिसमै भएको हेडक्वार्टर लगायत छ वटा जिम्मेवारी थियो मेरो । दूतावास स्थापनाकालमा फ्रान्समा दुई तीनसय नेपाली थिए भने आज नेपालीको संख्या बीस–पच्चीस हजार पुगिसक्यो । त्यतिबेला दूतावासकोे कर्मचारी भनेको तीनजना मात्रै थियौ तर, पचास वर्षदेखि अहिलेसम्म पनि त्यहाँ तीनजना मात्रै कर्मचारी छन् । कुटनीतिक क्षेत्रमा धेरै गर्नु पर्ने छ । म अहिले जिम्मेवार पदमा नभए पनि सल्लाह र सुझाव भने सबैलाई दिन्छु ।

कुटनीतिक यात्रामा तीन दशक बिताउनुभयो, ठुलो संख्यामा नेपालीहरू वैदेशिक रोजगारमा रहेको देश यूएईमा पनि तपाई बस्नुभयो, वैदेशिक रोजगारीमा जाने ट्रेन्ड त्यहाँ रहँदा कस्तो पाउनुभयो ?

नेपाल सरकारले २०–२२ वर्ष अघिदेखि लागू गरेको आर्थिक कुटनीतिको पाँच नम्बरको बुँदामा विदेशमा रोजगार प्रर्वद्धन गर्ने भन्ने एउटा बुँदा राखेको छ । त्यही अन्र्तगत सबै दूतावासले काम गरेको हुन्छ । नेपालीहरू पहिला हजारौँमा जान्थे, अहिले लाखौँमा गइरहेका छन् । यो त एउटा फेसन जस्तो पनि भैसक्यो । विदेश गएर आफ्नो र परिवारका लागि केही पैसा कमाउ भनेर जाने मान्छे धेरै हुन्छन् । देशमा प्रशस्तै रोजगारी पाएको भए सायद उनीहरू विदेश जानु पर्दैन्थ्यो कि ? विदेश जाने रहर पनि होला बाध्यता पनि होला । वैदेशिक रोजगारमा सबै राम्रो गर्छु भन्ने सोचेर विदेश जान्छन् र रित्तो हात लिएर फर्किएका दर्दनाक कहानीहरू पनि छन् । गएर सबैको राम्रो हुन्छ भन्ने हुँदैन । कति जना अल्पायुमै प्राण त्याग्दछन् । वास्तवमा सोच्दाखेरी आफ्नै देशमा रोजगारी भइदिएको भए त्यस्तो अवस्था आउँदैन थियो होला । त्यसकारण जाने कामदारले पनि राम्ररी बुझेर जानुपर्दछ ।

तपाई धेरै मुलुक पुगिसक्नुभयो यस क्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था कस्तो पाउनुभयो ?

विदेश जादैमा सबै राम्रो हुन्छ भन्ने पनि छैन । कति गा¥हो छ । जस्तै म बसेको यूएईमा ४०–५० डिग्रीको तापक्रम हुन्थ्यो । अब त्यस्तो ठाउँमा एउटा लेबर क्लासको मान्छे गएर फाइदै छैन । संख्या मात्र धेरै भयो तर त्यहाबाट आउने रेमिट्यान्स धेरै कम छ । त्यसकारण केही सीप नबोकी जानुभन्दा अर्धदक्ष भएर गयो भने तलब पनि बढी हुन्छ र सुविधा पनि बढी हुन्छ, काम पनि सिक्ने मौका पाइन्छ । धेरै मात्रामा मात्र गएर राम्रो भएको छ जस्तो मलाई लाग्दैन । सरकारले यसमा विचार गुर्नप¥यो र विचार गरिरहेको पनि छ । नेपालीको विदेशमा राम्रो इमेज छ त्यसले गर्दा धेरै मद्दत पुग्छ । मैले देखेका यस्ता धेरै केशहरू छन जसमा साहुहरूले नेपाली कामदारलाई असाध्यै विश्वास गर्ने, माया गर्ने गरेका छन् । सामान्य पोष्टमा गएर राम्रो कामले ठुलो पोष्टमा पुग्ने पनि धेरै छन् । त्यति हुँदा पनि स्वदेश फर्किने नेपालीहरू पनि धेरै छन । काममा चित्त नबुझेर हो वा आफ्नै देशमा केही गर्छु भनेर हो फर्कने पनि धेरै छन् र उनीहरू नेपालमै पनि सफल भएको देखेको छु ।

देशमा रोजगारीको सिर्जना हुन सकिरहेको छैन, वैदेशिक रोजगारमा जाने बाध्यता भएको अवस्था छ यही अवस्थामा पछिल्लो समय सरकारले मलेसिया जान बन्द गरेको छ । यसरी बन्द गर्नु समस्याको समाधान हो या यसलाई कसरी समाधान गर्न सकिन्छ ?

मलेसियामा मेरो खास धेरै अनुभव छैन । त्यहाँको सिस्टम अरु भन्दा भिन्नै रहेछ । त्योभन्दा पनि अहिले त्यहाँ सबैभन्दा चर्को समस्या के रहेछ भने त्यहाँ जानलाई सरकारले विभिन्न आउट सोर्सिङ कम्पनीहरू खोलेर नेपालीहरूलाई आर्थिक भार थपेको रहेछ । नेपाली नागरिकको शोषण विरुद्ध आवाज उठाउनु सरकारको दायित्व हो । मैले बुझेको खासमा मलेसिया सरकारले नतोकेको अवस्थामा पनि उनीहरूले रकम उठाएको हो कि वा मलेसियन सरकारले तोकेर उनीहरूले कमिशन वा बढी चार्ज गरेको हो त्यो निक्र्यौल गर्नुप¥योे शुरुमा । अब उहाँहरूले अफिस खोलेर मलेसिया सरकारले तोकेको रकमभन्दा बढी लिएर सञ्चालन गरेका हुन भने त्यो रोक्नुपर्छ तर यो मलेसियन सरकारकै नीति हो भने मलेसिया सरकारलाई हाम्रा गरीब कामदारहरूबाट किन यति पैसा लिएको भनेर कुटनीतिक तवरबाट कुरा गर्नुपर्छ । मलेसियाको दुतावास छ यहाँ, राजदुत लेवलको अथवा सचिव लेबलको कुरा गरेर यसको निकास निकाल्नु उपयुक्त हुन्छ । मलेसियाको समस्या समाधान गर्ने हो भने हाम्रो पावरफुल मन्त्रीको डेलिगेसनले मलेसियाको सरकारसँग कुरा गर्नुपर्छ । हाम्रो धारणा यो हो अब यसमा तपाईको के छ विचार ? यत्रो पैसा किन लिएको, कहाँ गयो यत्रो पैसा? यो सरकारले लिएको पैसा हो कि विचौलियाले लिएको हो भनेर प्रश्न खडा गर्नसक्नुप¥यो ।

तर कुटनैतिक तवरबाट समाधान खोजिनुपर्नेमा यहाँबाट कामदार नै पठाउन रोकेर उनीहरूलाई एक प्रकारले हामी कामदार पठाउदैनौ भनेर चेतावनी जस्तो दिनु त राम्रो भएन होला नि ?

चेतावनी दिए जस्तो त मलाई लाग्दैन । तर, परिस्थितिको उपज भनौन आज पनि हजारौं मान्छे रुमल्लिएर बसिरहेका छन् । उहाँहरूको विभिन्न लगानी भैसक्यो । न यता केही काम छ न त उता जान नै सक्या छन् । त्यसो हुनाले उनीहरूलाई पनि बोझ हुन्छ र परिवारलाई पनि बोझ हुन्छ । कुनै पनि समस्या वार्ताको माध्यमबाट समाधान नहुने हुँदैन । मैले पनि कुटनीतिक क्षेत्रमा काम गरेको छु । कस्ता–कस्ता ठुला समस्या त वार्ताको टेबुलमा समाधान भएका छन् । मलेसियासँग हाम्रो राम्रो सम्बन्ध छ । मलेसिया सरकारलाई कामदार चाहिएको छ, हाम्रो सरकारको पनि आफ्नै नीति छ उता जाने कामदारहरू पनि जान पाइरहेका छैनन् । यहाँ तीनै पक्ष लुजर भए । यसकारण यसको समाधान के हो भने सरकारी तवरबाट उताका अधिकारीहरूलाई यता बोलाउने वा आफु उता गएर यसलाई सकेसम्म वार्ताको माध्यमबाट चाँडै सल्टाउनुपर्छ ।

अन्त्यमा, वैदेशिक रोजगारकी स्वदेशमा नै रोजगार ?

हाम्रो नवजवानहरू त्यति थोरै पैसामा विदेश त नगएकै वेस हो भन्छु म त । आफ्नै देशमा पो काम गर्नुपर्छ तर दुर्भाग्यवश हामी कहाँ प्रशस्त रोजगारी छैन । मुख्य कुरा उद्योग धन्दा खोल्नुप¥योे । हामी सबैको अरुबाट किनेर खाने बानी भैसक्यो । अर्जेन्टिना लगायत देशबाट चकलेट मगाएर खान्छौ हामी । चकलेट, जुत्ता लगायत त हामी बनाउन सक्दैनौ । एउटा उद्योग खोल्यौ भने पाँच–छ हजार मान्छेले रोजगारी पाउँछन् । त्यसकारण सरकारले आयातमुखी व्यवस्था भन्दा उद्योग तथा व्यापारीलाई प्रोत्साहन गर्नुप¥यो । जसबाट धेरै भन्दा धेरै युवाहरूले रोजगारी पाउँछन् । रेमिट्यान्सको भरमा अर्थतन्त्र चलाएर पनि काही हुन्छ र ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *