शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह
- बैशाख १२, २०८२
- 0

नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)ले काठमाडौंमा जारी शिक्षक–कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न दबाब दिएको छ ।
शुक्रबार एनटीयूसीका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको २३ औं दिन बि िसक्दा पनि सरकार पक्षबाट अहिलेसम्म कुनै सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको जनाएका छन् ।
‘नेपाल भरिका सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो पेशागत हक, अधिकारकोे माग गर्दै २०८१ चैत २० गते देखि निरन्तर रूपमा आन्दोलनमा हुनुहुन्छ । विडम्बना, आन्दोलनको आज २३ औं दिन बिति सक्दा पनि सरकार पक्षबाट अहिलेसम्म कुनै सार्थक संवाद वा समाधानको प्रयास नहुनु अत्यन्तै आपत्तिजनक रहेको छ । यस्तै अवस्थामा राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने निर्णय गरेको भए पनि प्रधानमन्त्रीको निर्देशनमा अन्ततः परीक्षा स्थगन गर्नु पर्यो, जसले विद्यार्थी र अभिभावकहरूमा थप अन्योलता र निराशा सिर्जना गरेको छ,’ महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले समेत शिक्षकका मागहरु सम्बोधन गरि विद्यालय फर्कने वातावरण बनाउ भनेर सरकारलाई आदेश जारी गरि सकेको अवस्थामा सार्थक वार्ताद्धारा आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न र शिक्षकहरुलाई काममा फर्कने वातावरण तत्काल तयार पार्न सरकार समक्ष माग गरेको छ ।
‘नेपाल ट्रेड युनियन कांग्रेस शिक्षकहरूको यस न्यायपूर्ण आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछ र गम्भीर संवादमा बस्न र समस्याहरूको शीघ्र समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै मूल प्रवाहका सबै राजनीतिक दलहरुलाई समेत यस समस्याको समाधानको लागि सरकारलाई दवाव दिन यो महासंघ आग्रह गर्दछ । शिक्षकहरूको हक, अधिकार र शिक्षक पेशाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सदैव शिक्षकहरुको साथमा छ। यदि सरकार पक्षबाट यस समस्याको तुरुन्तै समाधान खोज्ने पहल गरिएन भने नेपाल ट्रेड युनियन कांग्रेस समेत बाध्य भएर शिक्षकहरूको आन्दोलनमा ऐक्यवद्धता गर्दै सडकमा उत्रन र यस मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न बाध्य हुनेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
‘सर्वोच्च अदालतले समेत शिक्षकका मागहरु सम्बोधन गरि विद्यालय फर्कने वातावरण बनाउ भनेर सरकारलाई आदेश जारी गरि सकेको अवस्थामा नेपाल ट्रेड युनियन कांग्रेस सार्थक वार्ता द्धारा आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न र शिक्षकहरुलाई काममा फर्कने वातावरण तत्काल तयार पार्न नेपाल सरकार समक्ष पुनः जोडदार माग गर्दछं,’ विज्ञप्तिमा भनिएको छ ।
यता, काठमाडौंको सडककेन्द्रित शिक्षकहरुको आन्दोलन आज शुक्रबार पनि जारी छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।