‘अभिमूखिकरण तालिम’मा वैदेशिक रोजगार विभागको शंकास्पद कदम !
- बैशाख ४, २०८२
- 0

वैदेशिक रोजगार विभागमा अहिले महानिर्देशक छैनन् । विभागका महानिर्देशक सूर्य बहादुर खत्रीको अवकासको अवधि सकिनुभन्दा २० दिन अगाडि नै मन्त्रालय सरुवा भएपछि विभाग अहिले महानिर्देशक विहिन बनेको हो ।
आगामी वैशाख ९ गते अवकासमा जान लागेका महानिर्देशक खत्रीलाई एकाएक मन्त्रालय किन तानियो प्रश्न उठ्यो । विभागको कामकारवाही ठप्प पारेर महानिर्देशक खत्री कार्यालय अनुपस्थिति हुन थालेपछि र आफु अनुकुल बाहेकका कुनै पनि फाइल नहेर्ने गरेपछि उनलाई मन्त्रालय तानिएको जानकारहरुको भनाई छ ।
महानिर्देशक खत्रीले कुनै पनि फाइल सदर नगर्ने र विभागमा कम आवत जावत गर्ने गरेको विभागकै कर्मचारीको भनाई छ । महानिर्देशक खत्रीले आफु सरुवा हुनुभन्दा अगाडि पूर्व प्रस्थान अभिमुखीकरण तालिम सम्बन्धी विवादास्पद सूचना निकालेर बाहिरिएका छन् ।
विभागले निकालेको सूचनामा कुनै पनि अभिमूखिकरण तालिम दिने संस्थाले थप बढीमा २ क्लस्टर लिन चाहेमा सात दिन भित्र कार्यविधि अनुसारको जनशक्ति र पूर्वाधार पु¥याएर निवेदन दिन भनिएको छ । यसरी निवेदन दिएका संस्थाको विभागले अनुगमन गरेर उपयुक्त ठहरिएमा २ ओटा क्लस्टर अनुमति दिने भनिएको छ । तर, यस्तो व्यवस्था ऐन तथा नियमावली वा कार्यविधिमा रहेको छैन । अर्कोतर्फ ‘वैदेशिक रोजगार विभागले अनुगमन गर्दा उपयुक्त लागेको खण्डमा’ भन्ने शर्तले नै शंका उत्पन्न गराउँदछ ।
विभागका कर्मचारीलाई अनुगमनका नाममा चलखेल गर्ने ठाउँ राख्नु भनेको कुनै न कुनै मिलेमतो हुन सक्ने नेपाल अभिमूखिकरण व्यवसायी महासंघको बुझाई रहेको छ । कुनै पनि संस्थालाई एक भन्दा बढी क्लस्टर दिएमा बेथिति कायम नै रहने र विदेश जाने कामदारले आवश्यक सूचना पाउने अवस्था नरहने महासंघको भनाई छ । एक स्मार्ट बोर्ड, एक संस्था, एक क्लस्टर महासंघको माग रहेको छ ।
एक संस्थाले एक पटकमा एक ओटा क्लस्टर मात्र प्रशिक्षण गर्न पाउने भन्ने विषयमा फरक तर्क राखेर २ ओटासम्म देशगत क्लस्टर अनुमति लिन पाउने भन्ने निर्णय गर्नु आफैमा शंकास्पद छ ।
विभागलाई पटक पटक महासंघले कार्यविधिमा नभएको व्यवस्था आफू खुशी नगर्न ध्यानाकर्षण गराउँदै आएकोमा विभागले क्लस्टर थप्न सकिने प्रावधान राखेर चलखेल गर्न खोजेको देखिन्छ ।
पूर्व प्रस्थान अभिमुखीकरण तालिम व्यवस्थित बनाउन सरकारले नयाँ कार्यविधि ल्याएको छ । यो क्षेत्र व्यवस्थित नहुन नसक्दा विदेश जाने धेरै नेपालीले दुःख तथा पीडा खेप्नु परेकाले पूर्व प्रस्थान अभिमुखीकरण तालिम व्यवस्थित गर्न आवश्यक छ । पाठ्यक्रम संशोधन, डिजिटल अनुगमन, डिजिटल सिकाई मूल्यांकनले मात्र व्यवस्थित तथा पारदर्शी हुनेछ ।
विभागले आइरिस सिस्टम लागू गरेको भएता पनि विभागकै मिलेमतोमा यो कार्यान्वयन हुन सकेको छैन । अहिले पनि एकै स्थानमा बसेर दशौं संस्थाको आइरिस गर्दै आएका छन् भने आएकालाई पढ्न पर्दैन भनेर फर्काउने, ठेक्कामा लिस्ट उठाउने, नचलेका संस्थाको युजर नेम लिई विभागलाई गोटा गन्तीमा हिसाब बुझाउँदै आएको आरोप लाग्ने गरेको छ । अझै क्लस्टर थपको अनुमति पाएमा झन बढि अनियमितता हुने निश्चित छ ।
अर्को पूर्वाधार निरीक्षण गर्ने नाममा कर्मचारीले व्यवसायीसँग करोडौं उठाउने योजना भएको देखिन्छ । संशोधित कार्यविधि २०८० अनुसार प्राय व्यवसायीले पूर्वाधार थपेका छैनन् । यसैलाई विगो बनाएर पैसा असुल गर्न लागिएको व्यवसायीको भनाइ छ । अदालतले २/२ पटक कार्यविधि ठीक छ भनेर अन्तरिम आदेश समेत गरेको अवस्थामा विभागले सेटिङ मिलाएर पास गरेको थियो ।
पूर्व प्रस्थान तालिमलाई प्रभावकारी बनाउने हो भने हाल कार्यविधिमा उल्लेख भएको आइरिस मेसिन जोडेर अनिवार्य उपस्थिति हुने वातावरण तथा स्मार्ट बोर्ड प्रशिक्षण र श्रब्य–दृष्य माध्यमबाट अनुगमन गर्दा सबैभन्दा फलदायी हुन्छ । अर्कोतर्फ राष्ट्रिय परिचयपत्रमा जोड्न सके नक्कली प्रशिक्षार्थी बन्द हुने थिए भने सिकाइको मूल्यांकन लिने विधि भएमा जाने कामदारले जसरी पनि सिकेर जाने वातावरण बन्ने थियो ।