नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सुरु
नेतृत्वका लागि गेलाल र गुरुङ समूहको कडा प्रतिस्पर्धा
- चैत्र २९, २०८१
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औं साधारणसभा सुरु भएको छ ।
अनुपम फुडल्यान्ड बत्तीसपुतलीमा सुरु भएको साधारणसभाको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन । साधारणसभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको विशिष्ट आतिथ्य रहेको छ ।
साधारणसभामा भवन निर्माण समिति र चन्दादाताहरूलाई सम्मान समेत गरिएको थियो ।
संघको साधारणसभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि आजनै आगामी २ वर्षे कार्यकालका लागि निर्वाचन हुने छ ।
संघको २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छन् । ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
कार्यसमितिका लागि २ प्यानलका ३४ र स्वतन्त्र २ गरी ३६ जनाको उम्मेदवारी परेको छ ।
जसमा अध्यक्ष पदका लागि नरेश गेलाल र भुवनसिंह गुरुङको उम्मेदवारी परेको छ । गेलाल र गुरुङ प्यानलसहित मैदानमा उत्रिएका हुन । यसैगरी अख्तर हुसेनले प्रथम उपाध्यक्षमा र ईश्वर सापकोटाले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा संघका पूर्व महासचिव तथा एचआर इन्टरनेशनल सर्भिसका संचालक नरेश गेलालको अध्यक्षतामा प्यानल बनेको छ भने यस समूहलाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि सघाउने घोषणा गरेको छ ।
गेलाल समूहबाट प्रथम उपाध्यक्षमा संघका पूर्व महासचिव तथा एलायन्स ह्युमन रिसोर्सका संचालक सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपालका संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआरका संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावरका संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआरकी संचालक धनु सिजालीको उम्मेदवारी रहेको छ ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुपका संचालक देउमान नेम्वाङ, ग्रोथ प्रोसेस एन्टरनेशनल इम्प्लोइमेन्टका संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिजका संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसनकी संचालक हिमा गुरुङ, रियो ओभरसिजकी संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिजका संचालक दिनेश बस्नेत, आयुश ओभरसिजका संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिजका संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्सका संचालक युवराज देवकोटा र गल्फ एशिया म्यानपावरका संचालक राजेश यादवको उम्मेदवारी छ ।
यसैगरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँग तालमेल गरेर संघका पूर्व द्धितिय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा।लि।का संचालक भुवनसिंह गुरुङको अध्यक्षतामा प्यानलसहित निर्वाचनमा होमिएको छ ।
गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपालका संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिजका संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिसका संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्टका संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङका संचालक कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा शुभ हारती मेनपावरका संचालक विक्रम श्रेष्ठको उम्मेदवारी रहेको छ ।
यस्तै सो प्यानलबाट कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, इम्पेरियल ओभरसिजकी संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपालका संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्टका संचालक दीपककुमार राय, रसुवा ओभरसिजका संचालक सुवर्ण लामा, सेक्युर नेपाल जबका संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिजका कैलाश पाठक, ग्लोबल एचआर हबकी संचालक गीता राउत, युनिभर्स एचआर सोलुसनका संचालक भरत सापकोटा, रिजा ओभरसिजकी संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्टका संचालक कृष्ण ढकालले उम्मेदवारी रहेको छ ।