संघ निर्वाचन : सचिवमा त्रिपक्षिय भिडन्त, सापकोटाको स्वतन्त्र उम्मेदवारीले डिम्दोङ र बोगटी दबाबमा

news-details

वैदेशिक रोजगार व्यवसायी संघको यही चैत्र ३० गते हुन गैरहेको साधारणसभा र निर्वाचनमा सचिव पदका लागि कुन्छा दोर्जे डिम्दोङ, अनिल बोगटी र इश्वर सापकोटाबीच प्रतिष्पर्धा हुने भएको छ ।

अधिकांश पदमा दुई प्यानलका उम्मेदवारबीच प्रतिष्पर्धा भैरहदा सचिव पदमा भने इश्वर सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएपछि समूहगत रुपमा उम्मेदवारी दिएका डिम्दोङ र बोगटी थप दबाबमा परेका छन ।

डिम्दोङ भुवनसिंह गुरुङको प्यानलबाट सचिवको उम्मेदवार हुन भने बोगटी नरेश गेलाल प्यानलबाट सचिव पदको उम्मेदवार हुन । पुराना तथा व्यवसायिक हकहितमा निरन्तर लागिरहेका सापकोटाको स्वतन्त्र उम्मेदवारी परेपछि सचिव पदको प्रतिष्पर्धा थप रोचक बनेको छ ।

डिम्दोङले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्दै यसलाई सम्मानित, व्यवस्थित मर्यादित व्यवसाय बनाउने योजना अनुसार सचिव पदमा उम्मेदवारी दिएको बताए ।

उनले व्यवसाय र व्यवसायीको हकहित, वार्षिक १०० जना कामदार अनिवार्य पठाउनुपर्ने प्रावधान हटाउन, सेवा शुल्क तोक्न तथा व्यवसायी मैत्री नियम कानून तथा नीति नियम बनाउनतिर आफ्नो जोड हुने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न खाले सिन्डिकेट अन्त्य गर्न र विभिन्न देशमा कामदार पठाउन विभिन्न प्रकारको लाइसेन्स दिने प्रचलनका विरुद्धसमेत आफ्नो उम्मेदवारी रहेको बताए ।

यस्तै सचिव पदका अर्का उम्मेदवार बोगटीले व्यवसायी हित, श्रमिक सुरक्षाको सुनिश्चितता र मर्यादित वैदेशिक रोजगार प्रणाली विकास गर्न नै आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले श्रमिकमैत्री नीति निर्माणमा सरकारसँग समन्वय गर्ने, नयाँ गन्तव्य विस्तार तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण गर्ने, सिप विकास गर्ने, रोजगारदाता र व्यवसायीबीच प्रत्यक्ष सहकार्य गराउने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सापकोटाले व्यवसायीका हकहितमा काम गर्नका लागि राजनैतिक भन्दा पनि स्वतन्त्ररुपमा नेतृत्वमा पुग्दा काम गर्न सकिने भएकाले आफुले सचिव पदमा उम्मेदवारी दिएको बताए ।

सापकोटाले सचिवमा निर्वाचित भएमा वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा कुनै पनि सिन्डिकेट लागू हुन नदिने, नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, युरोप लगायतका देशमा रोजगार मेला आयोजना गरे व्यवसायीहरुको पहुँच विस्तार गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढ्वा दिनेलगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका नरेश गेलाल नेतृत्वको प्यानललाई लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई वैदेशिक रोजगार संघ र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको साथ रहेको छ भने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट अध्यक्षको उम्मेदवार रहेका भुवनसिंह गुरुङको समूहलाई गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको साथ रहेको छ ।

राजनैतिक आस्था मिलाएर बनेका समूह तथा असन्तुष्ट समूहहरुको बीचमा स्वतन्त्र उम्मेदवार दिएका सापकोटाको उम्मेदवारीलाई धेरै व्यवसायीहरुले अर्थपूर्ण रुपमा लिएका छन । समूहगत रुपमा प्रतिष्पर्धा गरिरहेका डिम्दोङ र बोगटीको बीचबाट स्वतन्त्र उम्मेदवारी दिएका सापकोटा निर्वाचित हुने त होइनन ? त्यो भने निर्वाचन पछिको नतिजाले नै देखाउने छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *