संघ निर्वाचन : महासचिवमा अनुभवि कटुवाल र जुझारु बस्नेतबीच प्रतिष्पर्धा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि महासचिव पदका लागि कर्णराज कटुवाल र महेश कुमार बस्नेतबीच प्रतिष्पर्धा हुने भएको छ ।

संघको वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका कटुवाल र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको महासचिवको जिम्मेवारी निभाईरहेका बस्नेतबीचको प्रतिष्पर्धा रोचक हुने आकलन गरिएको छ ।

कटुवालसँग संघ कार्यसमितिमा सदस्य र सचिव हुदै २ कार्यकाल रहेर काम गरेको अनुभव भएपनि बस्नेत भने संघ कार्यसमितिका लागि नयाँ अनुहार हुन । तथापी लोकतान्त्रिक एसोसिएसनको कार्यसमितिमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका र व्यवसायीहरुमाझ जुझारु युवाका रुपमा परिचित बस्नेत कम्जोर उम्मेदवार भने पक्कै होइनन् ।

दुवै उम्मेदवार लोकतान्त्रिक एसोसिएसन पृष्ठभूमिका उम्मेदवार भएपनि कटुवाल लोकतान्त्रिक एसोसिएसनको असन्तुष्ट समूहकोतर्फबाट नरेश गेलाल नेतृत्वको प्यानलबाट महासचिवको उम्मेदवार हुन । यो समूहलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई वैदेशिक रोजगार संघ र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको साथ रहेको छ ।

यस्तै बस्नेत नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको तालमेलमा बनेको भुवनसिंह गुरुङको समूहबाट महासचिव पदका लागि उम्मेदवार बनेका छन ।

महासचिव पदका उम्मेदवार कटुवाल संघ कार्यसमितिमा रहेर यस अघि वैदेशिक रोजगार व्यवसाय तथा व्यवसायीका पक्षमा रहेर निरन्तर काम गरेको अनुभव नै आफ्नो जितको आधार रहेको बताउछन । यसबीचमा धेरै उपलब्धीमूलक तथा सुधारात्मक काम गर्न सफल भएको र व्यवसायीहरुकै माया र हौसलाका कारण महासचिव पदमा उम्मेदवारी दिएको उनले बताए ।

उनले व्यवसायिक हकहित तथा नीतिगत सुधारमा पहल गर्नुका अलवा संघको कार्यशैलीमा आमुल सुधार ल्याउदै प्रशासनिक हिसावले संघलाई चुस्त दुरुस्त राख्ने, व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम संचालन गर्ने तथा ई–सिस्टम र डिजिटल प्रक्रियाहरूलाई संचालनमा ल्याउने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन ।

यस्तै महासचिव पदका अर्का उम्मेदवार बस्नेत आफु व्यवसायिका हकहित स्थापित गर्दै वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई गर्व गर्न लायक व्यवसाय बनाउने योजनासहित आएको बताउँछन । सबैभन्दा पहिला व्यवस्थापकिय सुधार ल्याउदै संघलाई प्रविधिमैत्री बनाउने उनको प्रतिवद्धता छ ।

साथै नीतिगत सुधारमा पहल गर्ने, कानुनी झन्झटबाट व्यवसायिहरुलाई मुक्त बनाउने, व्यवसायीका क्षमता अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य गर्ने, व्यवसायी भलाई कोष संचालनमा ल्याउने, सरोकारित संस्थासँग समन्वयकारी भूमिका खेल्ने, अस्वस्थ प्रतिष्पर्धा रोक्ने लगायतका प्रतिवद्धता बस्नेतले व्यक्त गरेका छन ।

महासचिव पदमा अनुभवले खारिएका कटुवाल र जुझारु बस्नेतको प्रतिष्पर्धामा कस्ले बाजी मार्ला अनुमान गर्न कठिन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *