संघ निर्वाचन : तृतिय उपाध्यक्षमा ‘बैभव’ र लिम्बुबीच प्रतिष्पर्धा
- चैत्र २८, २०८१
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि तृतिय उपाध्यक्ष पदका लागि बैकुण्ठ प्रसाद पौडेल (बैभव) र हर्क बहादुर लिम्बुबीच प्रतिष्पर्धा हुने भएको छ ।
संघको कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका बैभव नरेश गेलाल समूहबाट र लिम्बु भुवनसिंह गुरुङको समूहबाट तृतिय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन ।
संघको कार्यसमिति सदस्य हुँदा साउदी अरव संयोजक भएर काम गरेका पौडेलकै नेतृत्वमा २ सय ८० व्यवसायीको रोकिएको साउदी आइडी खुलाएर काम सुचारु भएको थियो । त्यसैगरी साउदी अरवमा समस्यामा परेका व्यवसायी तथा कामदारको उद्धारमा उनले खेलेको भूमिकालाई सबैले प्रसंसा गरेका छन् ।
व्यवसायको साथसाथै व्यवसायिक संघसंस्थामा नेतृत्व गर्ने क्षमता बोकेका पौडेल संघको तृतिय उपाध्यक्ष निर्वाचित भएमा सम्मानित वैदेशिक रोजगार बनाउन अहोरात्र खट्ने प्रतिवद्धता जनाउँछन् ।
उनले सय संख्याको बाध्यत्मक व्यवस्थाको अन्त्य गर्ने, मागपत्र प्रमाणिकरणका समस्याहरुको स्थायी रुपमा समाधान गर्ने, नयाँ र आकर्षक गन्तव्यको खोजी गर्ने, शेवाशुल्क कायम गराउन पहल गर्ने, व्यवसायीक कानुनी झन्झटको अन्त्य गर्न पहल कदमी गर्ने, कानूनी अड्चन हटाउने लगायतका प्रतिवद्धता जनाएका छन् ।
यस्तै तृतिय उपाध्यक्षका अर्का उम्मेदवार लिम्बु पनि व्यवसायीहरु माझ परिचित नाम हो । व्यवसायीका समस्या समाधान र हकहित प्रवद्धनका लागि निरन्तर लागिरहेका लिम्बु वैदेशिक रोजगारको क्षेत्रमा पछिल्लो समय देखिएका तमाम समस्या समाधान गर्ने अठोटसहित आफुले उम्मेदवारी दिएको बताउँछन ।
सय संख्याको प्रावधान हटाउन तथा सेवाशुल्क निर्धारणका लागि पहल गर्ने बताउदै लिम्बुले वैदेशिक रोजगार व्यवसाय क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सहज बनाउदै लैजान नीतिगत सुधारका लागि प्रतिवद्ध भएर लाग्ने बताए ।
यस्तै मागपत्र प्रमाणिकरणको समस्या समाधान, नयाँ गन्तव्यको प्रवद्र्धन, व्यवसायीको क्षमता अभिवृद्धिलगायतका काम गर्ने उनको प्रतिवद्धता छ ।
नरेश गेलाल नेतृत्वको प्यानल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट समूह, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई वैदेशिक रोजगार संघ र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको तालमेलमा निर्वाचनमा होमिएको छ । यस्तै गुरुङ प्यानल नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको तालमेलमा बनेको छ ।