गणतान्त्रिक मञ्चसँग तालमेलमा बन्यो गुरुङ प्यानल, लोकतान्त्रिकभित्रै भाँडभैलो

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनले आइतबार नेकपा माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेल गरेर घोषणासभा आयोजना गरी गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।

आगामी चैत २९ गते हुने संघको निर्वाचनमा २१ सदस्यीय कार्यसमितिमा सचिव र तीन वटा सदस्य पद गणतान्त्रिक मञ्चको भागमा परेको छ । यस अगाडि नै उम्मेदवारी घोषणा गरी सकेका गुरुङ प्यानलले निर्वाचन सरेपछि सबैभन्दा पहिला पुनः उम्मेदवारी घोषणा गरेको छ ।

गुरुङको उम्मेदवारीले लोकतान्त्रिक एशोसिएशनभित्रै भने भाँडभैलो शुरु भएको छ । नेपाली काँग्रेस र लोकतान्त्रिक एशोसिएशनले एकलौटीढंगबाट गुरुङ प्यानलको उम्मेदवारीमा अनुभवी सबैलाई नसमेटेको भन्दै भित्रभित्र विरोध भएको छ ।

लोकतान्त्रिकको निर्णयबाट असन्तुष्टहरुले छुट्टै प्यानल घोषणाको तयारी गरिरहेको बुझिएको छ । यसअघि पनि कुुमुद खनालको नेतृत्वमा असन्तुष्ट पक्षहरु समेटेर प्यानल घोषणा भएकोमा यो पटक अहिलेसम्म उनीहरुले सार्वजनिक गरिसकेका छैनन् ।

अध्यक्षका प्रत्यासी गुरुङ संघका पूर्वद्वितीय उपाध्यक्ष हुन् भने गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक हुन् ।

गुरुङको प्यानलबाट प्रथम उपाध्यक्ष पदमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवार डिम्दोङ गणतान्त्रिक मञ्चको कोटाबाट उम्मेदवार बनेका हुन् ।

गुरुङ प्यानलबाट सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।

उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै गुरुङले आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रतिबद्धतासहित संघको नेतृत्व गर्न अगाडि बढेको बताए । यस क्षेत्रका समस्यालाई आफूले विगत १६ वर्षदेखि नियालिरहेको उल्लेख गर्दै उनले व्यवसायीलाई दुःख दिने सबै समस्याको समाधान आफूलेमात्र गर्न सक्ने दाबी गरे ।


शक्तिको आडमा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध भई लाग्ने उनले बताए । व्यवसायीको सेवाबाहेक आफ्नो कुनै स्वार्थ नरहेको अध्यक्षका प्रत्यासी गुरुङको भनाई छ । ‘म चौबीसै घण्टा व्यवसायीका लागि काम गरिरहेको छु । मलाई कुनै लोभ लालच छैन । २१ वर्ष भयो यो क्षेत्रमा काम गरेको । म काम गर्ने मान्छे हो, बोल्ने होइन,’ उनले भने । गुरुङले आफूलाई जिताए व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न उम्मेदवारी घोषणासभामा नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ प्रमुख अतिथि थिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समिति सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङ, नैनसिंह महर, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, व्यवसायी अब्दुल सतारको पनि उपस्थिति थियो ।

घोषणा सभामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले निर्णय गरेर उम्मेदवार बनाएको भुवनसिंह गुरुङ प्यानल नेपाली कांग्रेसको आधिकारिक रहेको बताए ।

उनले भने, ‘ नेपाली कांग्रेसको कुनै पनि नेताको नाम लिएर असन्तुष्टि पोख्दै आगो लगाउन पाइँदैन, संस्थागत रूपमा निर्णय गरेर आएको छ ,गुरुङ प्यानल नै नेपाली काँग्रेसको आधिकारिक हो ।’

उनले गुरुङ प्यानललाई जिताउन अत्यधिक पहल गर्न सबैलाई पार्टीको निर्देशन रहेको पनि बताए । उपसभापति गुरुङले निर्णय भएपछि त्यसलाई मान्नुपर्नेमा जोड दिए । उनले भने, ‘चुनाव अगाडि म प्रतिस्पर्धा गर्छु भन्न पाइन्छ तर आधिकारिक निर्णय भएपछि त्यसलाई मान्दिनँ भन्न पाइँदैन ।’

कार्यक्रममा एसोसियसनका अध्यक्ष दीपक थापा, संघका पूर्वअध्यक्ष हंसराज वाग्ले, संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ लगायतले एसोसिएसनका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर लाग्न व्यवसायीहरुलाई अपिल गरेका थिए ।

संघको ३०औं तथा ३१आंैं साधारणसभा तथा निर्वाचन यही चैत २९ गते हुँदै छ । यसअघि गत फागुन २ गतेका लागि तोकिएको संघको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो ।

भुवन गुरुङ प्यानल

अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः विक्रम श्रेष्ठ

सदस्यहरुः
विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, तिलरुपा दाहाल, गीता राउत, कृष्ण ढकाल, रेखा शेर्मा र भरत सापकोटा

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *