मेनपावर व्यवसायीलाई लाग्यो चुनाव : उम्मेदवार छनौटमा सकस
प्रगतिशिलले संघमा गेलाललाई अध्यक्ष र रावललाई महासचिवमा उठायो
- रोजगारमञ्च
- माघ १७, २०८१
- 0
मेनपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि उम्मेदवार छनौटमा सकस परेको छ ।
नेतृत्वका लागि आकांक्षीहरु बढिरहँदा उम्मेदवार छनौट जटिल बनेको हो । यद्यपी विभिन्न दलनिकट संगठनहरु उम्मेदवार छनोटमा जुटेका छन् । आगामी फागुन २ गते हुने निर्वाचनका लागि अहिलेसम्म नेकपा एमालेनिकट व्यवसायीहरुको संगठन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले अध्यक्ष र महासचिव पदको उम्मेदवार टुंग्याएको छ ।
प्रगतिशीलबाट अध्यक्ष पदका लागि मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिवसमेत रहेका नरेश गेलाललाई अध्यक्षमा उठाउने निर्णय गरेको हो । प्रगतिशीलमा अध्यक्षका लागि दुई जनाको दाबी परेको थियो । अर्का आकांक्षी संघको हालका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) रहेका थिए । सहमतिमा कुमारले अध्यक्ष पदका लागि गेलाललाई छोडेपछि सहमति बनेको जनाइएको छ । यता महासचिवमा भने मञ्चका वर्तमान अध्यक्ष जनक रावलको मात्र दाबी परेकोले उनको उमेदवारी सर्वसम्मतिले पारित भएको मञ्चले जनाएको छ ।
यता नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भने अझै उमेदवार टुंग्याउन सकेको छैन । एसोसिएसनमा संघको अध्यक्ष बन्न सात जनाको दाबी परेको जनाइएको छ । एसोसिएसनबाट अध्यक्ष पदका लागि संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, चिरञ्जीवी बस्याल, भुवनसिंह गुरुङ, प्रज्ञान न्यौपानेले प्रमुख दावी पेश गरेका छन् ।
त्यसैगरी प्रथम उपाध्यक्षमा तीन जना, द्वितीय उपाध्यक्षमा पाँच जना, तृतीय उपाध्यक्षमा चार जनाले दाबी पेस गरेका छन् । त्यसैगरी महासचिवमा चारजना, सचिवमा छ जना र कोषाध्यक्षमा एक जना गरी १७ पदाधिकारीमा जम्मा ३० जनाको दाबी परेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले सकेसम्म जाति, भूगोल, क्षेत्रजस्ता विषयलाई आधार बनाएर उम्मेदवार छनोट गरिने बताएको छ ।
गत निर्वाचनमा समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसँग तालमेल गरेको माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले पनि संघको कार्यसमितिको सबै १७ जना नै पदाधिकारी उठाउने जनाएको छ । यद्यपी अहिलेसम्म मञ्चले दोवेदारहरुको नाम बाहिर ल्याएको छैन ।
यता एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले भने सबै संगठनसँग तालमेलका लागि छलफल भइरहेको बताएको छ । संगठनका अध्यक्ष सन्त लामाले आफ्नो संगठन संघमा तेस्रो शक्ति भएको दाबी गर्दै सम्मानजनक तालमेलका लागि प्रयास जारी रहेको बताए ।
निर्वाचनमा सकेसम्म सर्वसम्मतिबाट छनोट गर्ने र यदि सर्वसम्मतिबाट नभए लोकतान्त्रिक पद्धति अनुसार चुनावमा जाने संघले जनाएको छ । संघमा आबद्ध झण्डै आठ सय मेनपावर कम्पनीमध्ये प्रत्येकबाट एक जना पदाधिकारीले मत हाल्ने छन् । संघका अनुसार अहिलेसम्म २ सय मेनपावरले मात्र नविकरण गरेर आफ्नो मत सुरक्षित गरेका छन् ।