विदेशमा रहेका सवै नेपालीलाई वैधानिक बनाउँदै सरकार
- रोजगारमञ्च
- कार्तिक २६, २०८१
- 0
श्रम स्वीकृति नलिई विभिन्न बाटो हुँदै वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सरकारले बैधानिक बनाउने निर्णय गरेको छ । नेपालबाट कानूनी प्रकृया पुरा नगरी वैदेशिक रोजगारमा पुगेका नेपालीलाई सम्वन्धित देशमा रहेका नेपाली दूतावासबाट नै श्रम स्वीकृति प्रदान गरेर वैधानिक बनाउन लागेको हो ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विभिन्न कारणले विदेशमा त्यहाँको कानुन अनुसार काम गरिरहेका नेपालीहरुलाई वैधानिक बनाउनका लागि श्रम स्वीकृति दिने निर्णय गरिएको जानकारी दिए ।
मन्त्रालयमा सोमबार पत्रकारसँग कुरा गर्दै मन्त्री भण्डारीले विदेशमा रहेका नेपालीलाई बैधानिक बनाउने र पहिले श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा कार्यरत सबैको पुन श्रम स्वीकृति दिने निणर्य भएको जानकारी दिए ।
मन्त्री भण्डारीले भने–‘विदेशमा कार्यरत नेपालीहरुलाई उतै श्रम स्वीकृति दिने निर्णय भइसकेको छ, श्रम स्वीकृति लिनका लागि वायोमेट्रिक आवश्यक पर्ने भएकाले त्यसका लागि काम भइरहेकोले चाँडै सबै काम हुनेछ ।’
सरकारको यो निर्णयसँगै विदेशमा रहेका र नेपाल सरकारको मापदण्डमा नरहेका सबै नेपाली समेटिनेछन् । सरकारले सम्बन्धित देशसँग समन्वय गरेर नेपाली दूतावास र एनआरएनएसँगको सहकार्यमा अभियान नै चालेर वैधानिक बनाउने जनाएको छ ।
सरकारले कोरियामा इपीएससँगै दक्ष कामदार पठाउनका लागि इ७ भिसामा मेनपावर मार्फत नेपाली कामदार पठाउने गृहकार्य भइरहेको जानकारी मन्त्री भण्डारीले दिए । उनले इम्प्लोएर पे मोडलबाट कामदार पठाउने भएकाले आर्थिक चलखेल नहुने जिकीर गरेका छन् ।
मन्त्री भण्डारीले मागपत्र प्रमाणिकरणका लागि अनलाइनमार्फत वैदेशिक रोजगार विभागबाट गर्ने गरी रायका लागि परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन् । ‘यदि १५ दिनसम्म दूतावासले माग प्रमाणिकरण गर्न नसकेमा वैदेशिक रोजगार विभागबाट मागपत्र प्रमाणिकरण हुनेछ, जसले गर्दा युरोपलगायतका देशका रोजगारका अवसरहरु गुम्नेछैनन् ।’
मन्त्री भण्डारी सोमवार नै आइएलओको एक कार्यक्रमका लागि ५ दिनका लागि स्पेन उड्दैछन् ।