ब्राजिलको ट्रान्जिटमा अलपत्र १७६ नेपाली सुरक्षित रहेको दुतावासको भनाई

ब्राजिल ट्रान्जिट हुँदै जान चाहने यात्रीका लागि नयाँ नियम, कागजात र प्रवेशाज्ञा लिएर मात्र यात्रा गर्न आग्रह
news-details

ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ नेपाली अलपत्र परेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको भन्ने समाचारप्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो रहेका भन्दै भनेको छ, ‘संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठुलो धनराशि खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ ।’

यस्तो पृष्ठभूमिमा ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ । ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *