इजरायलले २ हजार जना नेपाली केयरगिभर लैजाने सहमति
- रोजगारमञ्च
- साउन ७, २०८१
- 0
इजरायलले नेपालबाट दुई हजार जना स्वास्थ्य सहायक (केयरगिभर) लैजाने सहमति गरेको छ । अहिले ५ सय जना र वैकल्पिक गरेर ८ सय जना लैजाने गरी आवेदन प्रक्रिया अघि बढेकोमा अव एक हजार र एक हजार वैकल्पिक गरेर दुई हजार जना लैजाने सहमति भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदेरबिच सोमबार भएको भेटवार्तामा उक्त सहमति भएको छ ।
थप लैजाने भनिएका कामदारहरूको हकमा समेत अहिले आह्वान भएको आवेदन प्रक्रियाबाटै अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । हाल ८ सय जनाका लागि ६ हजारभन्दा बढीको आवेदन परेको मन्त्रालयले जनाएको छ । तिनैबाट छनौट गरेर छनोट भएका उम्मेदवारहरूलाई लैजानेगरी दुई पक्षबिच सहमति भएको हो ।
भेटको क्रममा आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इजरायल लैजान सकिने बारेमा पनि छलफल भएको थियो । भेटका अवसरमा मन्त्री भण्डारीले नेपाल इजरायलबिचको श्रम सम्बन्धका बारेमा विचार व्यक्त गर्दै इजरायल प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका विपिन जोशीका विषयमा समेत चासो व्यक्त गरेका थिए । उनको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा पहल गरिदिन मन्त्री भण्डारीले अनुरोध गरेका थिए ।