जापानको जिट्को लाइसेन्स नविकरण गर्न मेनपावरलाई विभागको सूचना

news-details

वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत सूचीकृत मेनपावर कम्पनीहरुलाई साउन मसान्तसम्म अनुमतिपत्र (लाइसेन्स) नविकरण गर्न भनेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै साउन महिनाभित्र तोकिएका कागजात र दस्तुरसहित नविकरणका लागि निवेदन दिनुपर्ने बताएको छ ।

यसअघि विभागले माघ र साउन महिनामा गरी वर्षको दुई पटक जिट्को लाइसेन्स नविकरण गर्न सूचना प्रकाशन गर्ने गरेको थियो । एक आर्थिक वर्षभित्र दुई पटक इजाजत नविकरण गर्ने कार्यले अन्योल र कतिपय अवस्थामा दोहोरो परेकाले जिट्कोमा सूचीकृत सबैले साउन मसान्तभित्र नवीकरण गर्नुपर्ने विभागले जनाएको छ ।

नविकरणका लागि वैदेशिक रोजगार ऐन तथा नियमावलीका अतिरिक्त नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउनेसम्बन्धी निर्देशिका २०६६ बमोजिम निवेदनसहित नविकरण दस्तुरबापत १० हजार रुपैयाँ बुझाएको सक्कलै रसिदसहित निवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ ।

विभागले निवेदनका साथमा अघिल्लो नविकरण मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि, जिट्कोमार्फत गत आर्थिक वर्ष २०८०र८१ मा कामदार पठाएको विवरण, कम्पनी रजिस्ट्रारको कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७९र८० को अध्यावधिक भएको कागजात, आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता प्रमाणपत्र तथा इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्ने बताएको छ ।

जिट्को लाइसेन्स प्राप्त भए पनि संस्थागतरुपमा जापानमा प्रशिक्षार्थी कामदार पठाउन सक्ने अवस्था नभएपछि सूचीकरण भइ नविकरण नगराउने म्यानपावर कम्पनीको संख्या पछिल्ला वर्षहरूमा बढेको छ । शुरूमा २ सय ५० भन्दा बढी म्यानपावर कम्पनी जिट्कोमा सूचीकृत भए पनि धेरैले नविकरण गराएका छैनन् । जिट्कोले नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनामलगायत १६ मुलुकबाट प्रशिक्षार्थी कामदार लैजाने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *