सामाजिक सुरक्षा कोषमा साढे ५७ अर्बभन्दा बढी योगदान रकम संकलन
- असार २०, २०८१
- 0
सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या १४ लाख ५६ हजार नाघेको छ । योगदान रकम साढे ५७ अर्बभन्दा बढी संकलन भएको तथ्यांक कोषमा तथ्यांक छ ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्बभन्दा बढी संकलन भएको हो ।
वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ ।
कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको हो । सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ ।
जेठ महिनामा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ संकलन भएको कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब तीन करोड रुपैयाँ संकलन भएको थियो ।
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरी अघि बढ्ने क्रममा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि हुँदै गएको हो ।