लोकतान्त्रिक एशोसिएसनमा चुनावी सरगर्मी : प्रथम उपाध्यक्षमा भवानी निरौलाको दावी, अध्यक्षमा अझै लागेन टुङ्गो
- रोजगारमञ्च
- जेष्ठ ३, २०८१
- 0
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयन हुने भएकाले चुनावी माहोल तातेको छ ।
एशोसिएसनको आगामी कार्यकालका लागि नेतृत्वका आकांक्षी धेरै भएपछि अझै टुङ्गो लाग्न सकेको छैन । नेतृत्वका आकाक्षीहरु गोप्य रणनीति तथा आन्तरिक तयारीमा जुटेका छन् ।
पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जेठ ५ गते शनिबार हुने साधारण सभापछि नयाँ नेतृत्व चयन हुनेछ ।
एशोसिएसनका अग्रज तथा पुर्व अध्यक्षहरुले मात्र नभएर नेपाली कांग्रेस पार्टीले समेत सहमतिमा निर्विरोध नेतृत्व चयन गर्न दवाव दिइरहेको भएता पनि आकांक्षीहरु धेरै रहेकाले अहिलेसम्म उम्मेदवारहरुको टुङ्गो लाग्न नसकेको हो ।
एशोसिएसनको आगामी कार्यकालको अध्यक्ष पदका लागि तारानाथ अर्याल, दीपक थापा, भुवनसिंह गुरुङ, भगिरथ राई, चिरञ्जीवी बस्याललगायतले दावी गर्दै आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।
अध्यक्ष पदका आकांक्षीहरु आन्तरिकरुपमा पार्टी तथा अग्रजहरुको सहमति जुटाउन लागिरहेका छन् । एशोसिएसनको अन्त्यमा निर्वाचन नै हुने पक्कापक्की देखिएको व्यवसायीहरु बताउँछन् ।
एशोसिएसनको प्रथम उपाध्यक्षमा भने भवानी निरौलाले बलियो दावी गरेका छन् । एशोसिएसनको पुर्व महासचिव समेत रहेका निरौलाले जो कोही अध्यक्ष पदमा आए पनि प्रथम उपाध्यक्ष पदमा साझा भएर काम गर्ने बताएका छन् । रोजगार मञ्चलाई निरौलाले भने– ‘म प्रथम उपाध्यक्षमा जाने निर्णय गरेको छु, मेरो पद चै टुङ्गो लागिसक्यो ।’
यद्यपी प्रथम उपाध्यक्ष पदका लागि नै विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले पनि रुची देखाएका छन् ।
गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ ।
नेतृत्वका आकांक्षीहरुले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्दै आएका छन् ।