मृत्युदण्ड सुनाइएका दुई नेपालीका बारेमा सांसदले मागे जवाफ

news-details

दुबईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीका विषयमा सांसदले सरकारको जवाफ मागेका छन् ।

पहलमान मगर र भुवन श्रेष्ठ ब्लडमनी तिर्न नसकेर दुबईको जेलमा छन् । कांग्रेस सांसद रामहरि खतिवडाले ब्लडमनी ५० लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाय सुनाइएका मगर र श्रेष्ठको उद्धारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।

खतिवडाले भने, ‘ओखलढुंगा चिसंखुगढी–३ दियालेका भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर पाँच वर्षदेखि यूएईको दुबईमा मृत्युदण्ड पर्खेर बसिरहनुभएको छ । उहाँहरु नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेलाई मारेको अभियोगमा पाँच वर्षदेखि जेलमा छन् । त्यो केसमा ५० लाख ब्लडमनी नदिएदेखि यही मार्च महिनामा मृत्युदण्ड दिने फैसला दुबईको दुवै सरकारले सुनाएको छ ।’

सरकारले दुवै जनाको ब्लडमनी तिरिदिएर उनीहरुलाई नेपाल ल्याउनुपर्नेमा खतिवडाले जोड दिँदै भने, ‘ती दुई अबोध नागरिकलाई ब्लडमनीको व्यवस्था गरेर तुरुन्त नेपाल ल्याउने व्यवस्था गरिदिन अनुरोध गर्दछु ।’

यस्तै, खतिवडाले उनीहरुको बारेमा फागुन १० गनेको सदनमा पनि विषय उठाएर सरकारको ध्यानाकर्षण गराइसकेका थिए ।

उनले व्यक्तिगत रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई भेटेरै सो विषयमा जानकारी गराएको स्मरण गराउँदै इजरायल–हमास द्वन्द्वमा हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्था, युक्रेन–रसिया युद्धमा परेका नेपालीको अवस्थाबारे पराराष्ट्रमन्त्रीको जवाफ माग गरे ।

शुक्रबार सदनमा उपस्थित परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रोस्टममा पुगेर विमिस्टेक बडापत्र प्रस्तुत गरे तर, सांसदले गरेको प्रश्नको जवाफ दिन जरुरी ठानेनन् ।

सांसद खतिवडा मात्रै नभएर शून्य समयमा बोलेका अन्य सांसदलले पनि रुस–युक्रेन युद्धको मारमा परेका नागरिकको अवस्थाबारे चासो दिएका थिए ।

सरकारका सम्बन्धित मन्त्री सदनमा आफैं उपस्थित भए पनि जवाफ नआउदा सांसद असन्तुष्ट भए । मन्त्री साउदले न दुई नेपालीलाई स्वदेश फर्काउने विषयमा बोले न त विपीन जोशी र रुस युक्रेन युद्धको असर भोगिरहेका नेपालीको बारेमा मुख खोले ।

यस्तै, सदनमा सरकारको जवाफदेहिता माग गर्दै प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदसँगै केही स्वतन्त्र सांसदहरुले निरन्तरजसो विरोध गर्दै आइरहेका छन् । सरकारका नाममा सभामुख देवराज घिमिरेले आज पाँचौ पटक जवाफदेहिताका लागि रुलिङ गरिसकेका छन् । आज दुई जना मन्त्री सदनमा आएर पनि सांसदको सवालमा चुपचाप रहे ।

तर, संसदमा उपस्थित मन्त्रीहरुले पनि सांसदहरुले समसामयिक विषयमा देखाएको चासो र त्यसमा जवाफदेहिता माग गरिरहँदा सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले पनि प्रश्नको जवाफ दिन उचित ठानिनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *