वैदेशिक रोजगार विभागद्धारा देशैभरका अभिमुखिकरण तालिम केन्द्रको अनुगमन सुरु

news-details

वैदेशिक रोजगार विभागले देशैभरका वैदेशिक रोजगार पूर्वअभिमुखिकरण तालिम केन्द्रमा अनुगमन सुरु गरेको छ ।

अभिमुखिकरण तालिम २०७६ को संशोधित कार्यविधि अनुसारको मापदण्ड पुरा भए या नभएको भन्ने विषयमा विभागले अनुगमन थालेको हो ।

विभागको मापदण्ड अनुसार सबै तालिम केन्द्रले डिजिटल स्मार्ट बोर्ड जडान गर्नुपर्ने, आइरिसको व्यवस्था हुनुपर्ने, कक्षाकोठा व्यवस्थित हुनुपर्ने र अनुभवी प्रशिक्षकले प्रशिक्षण गराउनु पर्ने लगायतका रहेका छन् । साथै यी सबै मापदण्ड पुरा भएपछि मात्र विभागले कलस्टर दिने व्यवस्था गरेको छ ।

अभिमुखिकरण तालिमको शुल्क र समय वृद्धि गराउनका लागि विगत लामो समयदेखि नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराईरहेको अवस्थामा श्रम मन्त्रालयले नयाँ कार्यविधि ल्याएर एक दिनको तालिमलाई बढाएर ३ दिनको बनाएको छ भने शुल्क पनि ७ सयबाट २१ सय निर्धारण गरेको छ ।

तथापी पछिल्लो समय कार्यविधि कार्यान्वयनमा आउने होकी होइन भन्ने शंकाको बीचमा विभागले नयाँ कार्यविधि अनुसार तालिम संचालनका लागि तालिम केन्द्रको मापदण्ड पुगे नपुगेको अनुगमन सुरु गर्दा व्यवसायीहरु खुशी भएका छन ।

महासंघका अध्यक्ष रामराजा गौतमले व्यवसायीहरुले सरकारको मापदण्ड अनुसारका सामानहरु थप गरिसकेपछि शुल्क परिमार्जनको कुरालाई यथावत् राख्ने भनेतापनि अदालतले शुल्क परिमार्जन गरि मापदण्ड अनुसार तालिम प्रदान गर्न आदेश दिइसकेको बताउँछन् । साथै उनले आफूहरु कार्यविधी कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेको समेत जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायीहरुले पनि नयाँ कार्यविधि अनुसारको तालिम संचालनलाई सकारात्मक रुपमा हेरेको र अभिमूखिकरण तालिम लिएर मात्र वैदेशिक रोजगारमा पठाउँने भन्ने गरेको बताउँदै उनले सरकारले सिस्टम बनाएमा कामदारलाई जुनसुकै समयमा पनि तालिम प्रदान गर्न सकिने बताए ।

वि.सं २०६० सालबाट ७ सय रुपैया लिएर दिइदै आएको तालिमको शुल्क परिमार्जन गर्न सरकारले कुनै चासो नदिएका कारण महासंघ सक्रिय भएर लागेको उनले बताए । उनले भने – ‘हामीले २०६० सालबाट तालिम संचालनमा ल्याएका हौ । तर यसलाई राज्यले महत्वपूर्ण विषयका रुपमा कहिल्यै पनि लिएन । कामदारलाई सचेतना गर्दाखेरी उनीहरुका बैदेशिक रोजगारमा हुने समस्या समाधान हुन्छ भनेर सबै ठाउँबाट आवाज उठिरहेको सन्दर्भमा कामदारको हितका लागि हामीले शुल्क र तालिमको समायावधि बढाउन सरकार समक्ष आवाज उठाएका हौ, अहिले आएर यो आवाजको सुनुवाई भएको महसुस गरेका छौ ।’

‘साथै समय सापेक्ष यसको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने, प्रशिक्षहरुलाई ट्रेनिङ गराउनुपर्ने, आवश्यक शुल्क पनि बढाउँदै जानुपर्ने जस्ता कुरामा राज्यले ध्यान नदिदाँ २० वर्षसम्म यो पुरानै अवस्थामा चलिरहयो । यसमा केही विकृतिहरु पनि आए, ती विकृतिहरुलाई नयाँ टेक्नोलोजिबाट कन्ट्रोल गर्न २–३ चोटी प्रयत्न ग¥यौ । तर अब विकृति नआउनेगरि काम गर्ने व्यवस्था मन्त्रालय र हामी व्यवसायीहरुले गरेका छौ’ उनले भने ।

पछिल्लो समय वैदेशिक रोजगारमा अभिमूखिकरण तालिम नलिई जाने कामदारहरुमा विविध समस्या आइपर्ने गरेको र सानातिना समस्याकै कारण बाकसमा फर्कनुपर्ने देखि लिएर विभिन्न जेलहरुमा थुप्रिएर, अलपत्र परेर बस्नुपरेको बताउँदै अध्यक्ष गौतमले रोजगारदाता कम्पनी र सरकारकै सल्लाह सुझाव बमोजिम शुल्क र समय परिमार्जन भएको बताए ।

साथै पछिल्लो समय बैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या उच्च रुपमा बढिरहेको बताउँदै उनी सम्पुर्ण युवाहरुलाई अभिमूखिकरणा तालिम लिएर मात्र जान सल्लाह दिन्छन् । काम गर्ने समय कति हो ? कामदारको शारिरीक सुरक्षा कसरी गर्ने ? कमाएको पैसालाई कसरी सुरक्षित रुपमा नेपाल फर्काउने ?, त्यहाँ समस्या पर्दा कस्ता कस्ता निकायहरुले सहयोग गर्छन् ? लगायतको जानकारी पाउन र श्रमको शोषण नहोस् र दुर्घटना नहोस् भन्नका लागि प्रत्येक बैदेशिक रोजगारमा जाने कामदारलाई अनिवार्य पूर्वअभिमुखिकरण तालिम लिएर मात्र जान उनी अनुरोध गर्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *