सबै आवेदकलाई ईपीएस परीक्षामा सहभागी गराउन कोरिया तयार

news-details

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्ष सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको बताए ।

योसँगै नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन् । भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग आज महानिर्देशक घिमिरेले यस सम्वन्धमा वैठक राखेका थिए । उक्त वैठकमा सहमति जुटेको हो ।

पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने विषयले विवाद उत्पन्न भएको थियो । जसका कारण आन्दोलन हुँदा २ जनाको मृत्यु समेत भएको थियो ।

यो विषयमा उच्च अदालतले २ पटक आदेश दिँदै निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्तालाई समेत उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । तर, यो विषयमा कोरियाले भने कुनै निर्णय गर्न सकेको थिएन ।

एचआरडी कोरियाका अधिकारीहरुसँगको छलफलपछि सबै आवेदनकर्तालाई भाषा परीक्षामा सहभागी गराउन तयार भएको महानिर्देशक घिमिरेले बताए ।

सबै परीक्षार्थीहरुलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । जसअनुसार पहिलो लटमा आउँदो जनवरी २० मा ४७ हजारजनाको परीक्षा लिइने छ । दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने भएको घिमिरेले जानकारी दिए । दोस्रो र तेस्रो लटको परीक्षाको मिति तय भइसकेको छैन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *