वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोड ठग्ने दुई पक्राउ

news-details

वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा र तेह्रथुमको म्याङलुङ नगरपालिका–२ घर भई काठमाडौंको गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफे छन् ।

उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट सोमबार पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको महाराजगंजमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका लामाले वैदेशिक रोजगारीको लागि लिथुवानिया, क्यानडा, सिंगापुरलगायतका देशमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर १० करोड रुपैयाँ बढी ठगेको प्रहरीले जनाएको छ ।

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उक्त रकम ठगी गरी फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले शंखमूलबाट पक्राउ गरेको हो ।

कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानको क्रममा उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस्तै, कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गर्ने जुनु तुम्बाहाङफेलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । तुम्बाहाङफेले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई राम्रो कम्पनीमा आकर्षक तलब (१ लाख रूपैयाँ) मिलाइदिने भनि पीडितबाट दुई लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । तुम्बाहाङफेलाई गौशालाबाट पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *