रमिलाको संघर्ष : एउटै चिन्ता छ-‘ऋण कसरी तिर्ने ?’

news-details

देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा परेको बेला नयाँ आर्थिक वर्षमा कस्तो बजेट आउँला ? नागरिकमा जुन उत्साह र कौतुहल थियो, सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमबाटै अवगत भयो कि बजेट ल्याउनु/आउनु भनेको सिर्फ कर्मकाण्डी परम्परा हो । यतिबेला नेपाल वेरोजगारको समस्याले आक्रान्त छ ।

हामी समृद्घिका कुरा गछौँ । तर युवा पलायनको अहिलेको स्थितिले बुढाबुढी र बालबच्चाबाहेक भेटिन मुस्किल छ । गाउँघरमा विकराल वनिरहेको यो अवस्था भोलि शहरमा मौलाउदैन भनेर ठोकुवा गर्ने आधार छैन । हो, अहिले वैदेशिक रोजगारी र शिक्षाका लागि जाने संख्या बर्खाको उर्लदो बाढी झैँ भएको छ । दैनिक १५ सयभन्दा बढी नागरिक पलायन हुनुले हाम्रो मुलुक कतातिर धकेलिदै छ ? भन्ने गम्भिर प्रश्न उठदैन र ! यस प्रश्नको जवाफ कसले र कुन निकायले देला ?

बजारमा पैसा छैन भन्ने गरिएको छ । अनौपचारिक रुपमा हेर्दा नेपालीको ठुलो पुँजी सेयर र घरजग्गामा फसेको छ । गाउँमासमेत आर्थिक मन्दी छ । परिणामतः गाईभैँसी, खसीबोका लगायतको दाम घटेको छ । यसको मतलव मान्छेसँग क्रय क्षमता नै छैन । हो, ऐनाझैँ छर्लङ यो स्थिति वर्तमान समयको यथार्थता हो । आर्थिक वृद्घि भनेको आय बढ्ने अवस्था हो । मुद्रा स्फीतिले महँगी जनाउँछ ।

अर्को, अकाट्य सत्य जब ‘स्टुडेन्ट’ भिसामा हाम्रा छोराछोरी विदेशीने क्रम चलेको छ । त्यता कलेजलाई फी बुझाउने स्रोत नेपालकै धन हो नि, होइन र ? यताबाट प्रक्रिया सुरु गरेपछि किस्ता किस्तामा खातामा रकम पठाउनु पर्छ, यो कुरा कतिले विश्वास गर्नु हुन्छ ? देशपिच्छे नियम, ठाउँपिच्छे कानुन अँध्यारोमा हिँडेको बाटो सोचे जस्तो सहज होला र ? फेरि, थोरै तिनो रकम होइन ।

डलरमा रुपान्तरण गर्न लाखौँलाख नेपाली रुपैयाँ नभई पुग्नेवाला छैन । भर्खर ‘प्लस टु’ सकेका अधिकांश दूधे बालकका लागि दिलोज्यान दिएर हामी अभिभावक अहोरात्र यसरी जुट्छौँ र खट्छौँ । विदेशिका हातमा रकम सुम्पन यसरी जुटेपछि हामी कङ्गाल नबनेर को हुन्छ ? एउटाले भन्छ, जावोस् हाम्रो छोरी । अर्काले भन्छ, जावोस् हाम्रो छोरा । एक दुई गर्दै कति हाम्रा छोराछारी बाहिरी सके थाहा छ ? यहाँ अब ब्याचलर पढाइ हुने कलेज टाट पल्टिसके ।

चुनावताका रोजगारी र उद्यमशीलताका विषयलाई उच्च प्राथमिकता दिँदै आएका राजनीतिक दलहरु चुनाव जितेर सरकारमा पुगिसकेपछि यसबारे वेखबर रहन्छन् । त्यसैले हुन सक्छ, जनप्रतिनीधिप्रति नागरिकको आक्रोस – ‘जुन दलको सरकार होस्, चिनेर के गर्नु ? आकाशको गर्जन जस्ता नेता र छिन–छिनमा बदलिने नेतृत्वबारे हामीलाई किन सोध्नु हुन्छ ? जसलाई राजनीतिको ‘र’ नै थाहा छैन’ यसरी पोखिन्छन् । झ्वाकिन्छन् ।

‘कुन ठुलाठालुले हाम्रो भाँडामा चामल हाल्दिन्छन् र वास्ता गर्नु ? साँच्चै, भन्ने हो भने श्रमजीविप्रति सरकारको नजर नै छैन’ सर्वसाधारणहरु यसो भन्छन । यस्तै एक श्रमजीवि सर्वसाधारण हुन् रमिला पाठक । राज्यप्रति कस्तो छ त उनको विचार ?

‘मेरो घर काभ्रे हो । १४ वर्षको उमेरमा रामेछापबाट बिहे गरेर काभ्रे ल्याए/आएँ । मेरो श्रीमान् नि उही उमेरको हुनुहुदो रछ । घरमा हजुरआमालाई नातिनी बुहारी भित्राउने धोकोले केटी माग्न आए । बुवा दाजुलगायत आफन्त बसेर कुरो छिने पछि बिहे भो । यो २०५० सालको कुरा हो ।

श्रीमान् काठमाडौं आउनु भाको भयो, १२/१३ वर्ष । पहिला काँडाघारीमा बस्नुहुन्थ्यो । त्यहीँ गार्मेन्ट फ्याक्ट्री चलाउने योजना लिएर आउनुभएको थियो । सुरु गरेको कारखाना के अफाप भो–भो चल्नै सकेन । समुहका साथीले साथ नदिएपछि एक्लैको के लाग्दो रहेछ र ? जिन्सका पाइन्ट र जिन्सकै ज्याकेट बनाउने ती मेसिन किन्दाको दाम सम्झदा यतिखेर पनि थामिदैन मन । अनि, काम नै तमाम भएपछि वेवारिस पारेर के राख्नु ? ती सामान सल्टाउदा ठुलो घाटा वेहोर्नु पर्यो । हो, त्यही बेलादेखि लागेको ऋण अहिलेसम्म उठाउन सकेका छैनौँ ।

श्रीमान्ले धेरै पढ्नु भएको छैन । उहाँको पढाइ सात कक्षा हो तर मैले त्यति पनि पढेकी छुइन । माइतीमा रहुन्जेल नजिक थिएन स्कुल । बेलामा नपढेपछि बिहे भयो । त्यसपछि त झन् घरपरिवार, बालबच्चा र खेतीपातीमा समय खर्चिदा पढाइ न लेखाइ । सोच्नै सकिएन । हो, आफ्नो नाम लेख्न पनि आउदैन मलाई । मोबाइल फोनको जमाना हुनाले हातमा बोक्छु तर नम्बर डायल गर्न जान्दिन । घण्टी बज्दा उठाउन आउँछ ।

शहर पसेर काम गर्दा दुई चार पैसा कमाइन्छ कि भन्ने आशाले ब्याज कबुलेर चलाएको अर्काको धन समयमा फर्काउन सकिएन । खाइनखाइ जोडेको घडेरीको टुक्रा बेच्दा पनि त्यो ऋण तिर्न सकिएन । गार्मेन्ट उँभो नलाग्दा एकाएक व्यवहार बिग्रियो । हो, अरु व्यवसाय सुरु गर्न पनि पहिला त पैसै चाहियो । फेरि, कहाँ खोज्नु ? कोसँग माग्नु ? ऋणमाथि ऋण बढाउनुको साटो मान्छेले विदेश–विदेश भनेको सुन्दा साँच्चै फलिफाप होला कि भनेर श्रीमान् विदेश पनि जानुभो तर आफूले सोचेजस्तो कमाइ नभए पछि अर्काको ठाउँमा नबस्ने भनेर फर्कनु भयो ।

हाम्रा तीन छोरी गाउँमै जन्मे । उतै हुर्के र त्यतैको सामुदायिक विद्यालयमा पढे । दुःखसुख सबैलाई कक्षा १२ सम्म पढायौँ । लेखायौँ । अहिले तिनै छोरीको बिहे भइसक्यो । ऋणपान जसोतसो गरेर गाउँबाटै छोरीहरु अन्मायौँ । सबैको मागी बिहे हो । समयक्रमले हामी नातिनातिनाका धनी पनि भइसक्यौँ । हो, ढुक्कको कुरो छोरीहरु आ–आफ्ना घर सम्हालेर बसेका छन् ।

काभे्र घरमा बुवाआमा (सासु–ससुरा) हुनुहुन्छ । गाउँको जग्गा कमाउन दिएका छौँ । त्यहीको आयस्ताले दुई बुढाबुढीलाई खान पुग्छ । यति नै भनेर ठ्याक्कै थाहा नभए पनि ६० वर्ष नाघिसक्नु भयो । हामी श्रीमान् श्रीमती जस्तै बुवाआमा पनि एकै उमेरका हुनुहुन्छ । धन्न निरोगी हुनाले ऐया आथ्था छैन, तर आमाको घुडा दुख्छ । डाक्टरलाई जचाउदा हड्डी खिइएको भन्छन् । बरु मेरो बुवा चाहिँ रोगी हुनुहुन्छ ।’

रमिलाका कुरा सुन्दा गाउँकै चिनजानका मानिसमार्फत ऋण लिएका रहेछन्, चौबिस प्रतिशत ब्याज कबुलेर । दिनेले विश्वासले दिए, लिनेले पनि अनैतिक गरौ भनेर अर्काको नासो लिएका होइनन् । प्रयोजन नै असफल भयो त के गर्नु ? विकल्प गरेर तिर्नुपर्छ भनेर दौडधुप गर्दा समयले साथ दिएन । अप्ठ्यारो पर्यो । काठमाडौंको बसाइँ सजिलो छैन । कसरी गुजारा गर्दै हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्– ‘सिस्टर तपाईलाई भन्नु पर्दा जम्मा ६ वर्ष भयो श्रीमान्सँगै बस्नेगरी काठमाडौं आएको । त्यसअघि यसरी ढुक्कले गाउँ छोडेकी थिइन । त्यता धेरै दुःख गरेँ । जीवन हो हरेस खानु हुँदैन भन्ने लाग्छ, तर अहिले एउटै तनाव ऋण कसरी तिर्नु भन्ने छ, यही बोझने दिनरात सताएको छ ।

दिनभरि मजदुरी गरेर कमाएको पैसा कति नै हुन्छ र ? त्यही पनि महिनाको ५ हजार कोठा भाँडालाई पर्छ । श्रीमान्ले सटर लिनु भाको छ, मासु पसल गर्न । त्यहाँ ९ हजार बुझाउनु पर्छ । व्यापार भए समस्या थिएन तर आफूले सोचे अनुसार कुखुराको मासु बिक्दैन । थोरैतिनु बिक्रीले पालिनु कि साहु बुझाउनु ?

पहिला अलि कम थियो, सटर भाँडा । त्यहाँ व्यापार भएन भनेर अन्यत्रै स¥यौँँ । नयाँ ठाउँ अनुसार दैनिक एक दुईटा खसी पनि काट्न पाए हुन्थ्यो तर बेस्सरी चलेका पसल नै सुनसान छन् । आश्चर्य लाग्छ, यसरी व्यापार घट्दा । घरीघरी पसलमा बस्दा ग्राहकहरुले भनेको सुन्छु, उनीहरु जलवायु परिवर्तनका कुरा गर्छन् । पृथ्वीलाई ठुलो असर छ भन्छन् । छिचोलेर सबै कुरा भन्न नजाने पनि वर्षेनी यो गर्मी बढेको देख्दा मान्छेका रमाइला दिन सकिएकै हुन् त ? भन्ने पनि लाग्छ । नासिने समय । खल्तीमा पैसा भए कसलाई मीठो खान मन लाग्दैन र ?

उता माइतमा दाजुको जागिर छैन । हलो कोदालोसँग भिड्दा जसोतसो गर्जो टार्छन् । वृद्घ बुवालाई धेरै प्रकारको रोग हुनाले बेलामौका औषधी किनेर पठाउनु पर्छ । सन्तान हुनुको कर्तव्य जे सकिन्छ, बाँच्दै सेवा गर्नु पर्छ । आधुनिक समाजमा देखाउने प्रवृत्ति निकै मौलाएर गएको छ । अनपढ मलाई धेरै कुरा गर्न त आउदैन तर आफ्नो विवेकले भ्याएसम्म जे सकिन्छ, जानेको छ गर्छु । काम गर्न लाज मान्नु हुँदैन भनेर नै यता बासबस्ने वरीपरी केही घरमा घरायसी काम गर्छु । महिना पुगेर तलव लिएको दिन खास हुँदो रहेछ, खुसी लाग्छ ।’

रमिलालाई पीर भनेकै ऋण कसरी तिर्नु भन्ने छ । गाउँमा जग्गा जमिन भएका मानिस यसरी दुई–दुई ठाउँ भाँडा तिरेर किन बस्नु पर्यो ? उतै गएर केही गर्दा हुँदैन ? भन्ने पनि लाग्छ । तर, यत्रो शहर पसेर काम गर्दा त उँभो लागिएन भने अब कसरी हलो कोदालो गर्नु ? फेरि, विगतमा नगरेको पनि होइन । अब त सन्तान आ–आफ्नो बाटामा छन्, गुनासो छैन । मुख्य ऋणको चटारो हो । त्यो तिर्न पाए हुन्थ्यो भन्ने मात्र छ । यहाँ हाम्रो भगवान् बनेर को आउला र ? कसरी पो फस्र्यौट गर्नु !

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *