साउदी भिसा सेन्टरको नाममा झुक्याउने खेल भएको संघको ठहर, तत्काल रोक्न सरकारलाई ज्ञापनपत्र

news-details

वैदेशिक रोजगारमा जाने कामदारलाई आर्थिकभार थप्ने गरी संचालनमा आउन लागेको साउदी भिसा सेन्टर तत्काल रोक्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र सचिव एकनारायण अर्याललाई आर्थिक भार थप्ने अभिप्रायले व्यवसायी र कामदारलाई झुक्याउने खेल भएकाले तत्काल साउदी भिसा सेन्टर संचालनमा रोक लगाउनका लागि आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

केही मेनपावर व्यवसायीहरुको संलग्नतामा सञ्चालन हुन लागेको भन्दै संघले व्यवसायीहरुलाई गुम्राहमा राखेर झुक्याउने खेल भइरहेकोमा गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले गत बैशाख २८ गते संघलाई पत्र पठाउदै साउदी प्रवेशका लागि सबै प्रकारका भिसा तथा यात्रा सम्बन्धी अनुमति भिएफएस ग्लोवल सर्भिस नेपालले संचालन गर्ने जानकारी पठाएपछि संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

भेटवार्तामा मन्त्री भण्डारीले कामदारलाई आर्थिकभार पर्ने कुनै पनि प्रोसेस सरकारलाई स्वीकार्य नरहेको बताउँदै व्यवसायीको मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

साउदी दूतावासले मे ८, २०२३ मा परराष्ट्र मन्त्रालयलाई भिसा सेन्टरका बारेमा पत्र पठाएपछि बजारमा सिण्डिकेटको चर्चा चुलिएको हो । दूतावासले साउदीका सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी कामका लागि अनुमति मागेको थियो ।

केही मेनपावर व्यवसायीको मिलेमतोमा आर्थिक भार थप्नेगरी खोल्न लागिएको साउदी भिसा सेन्टर कुनै पनि हालतमा संचालन हुन नदिने संघको ज्ञापन पत्र मन्त्री र सचिवलाई बुझाएको अध्यक्ष राजेन्द्र भण्डारीले बताए । उनले यसमा संघको कडा आपत्ति रहेको जनाउँदै आफ्नो आवाज नसुनिए कडा आन्दोलनमा उत्रनेसमेत सरकारलाई जानकारी गराएको ।

भिसा सेन्टरका लागि भनेर भिएफएस ग्लोबल सर्भिसेज भन्ने संस्था कम्पनी रजिस्टार कार्यालयमा दर्तासमेत गरेको पाइएको छ ।

यो सिण्डिकेट जसरी पनि तोडिने संघले दावी गरेको छ । हाल राजनीतिक पहुँच र आर्थिक चलखेल गर्न सक्ने केही मेनपावर व्यवसायीले हालीमुहाली गर्दै सिण्डिकेटको कोशिस गरेका छन् । व्यवसायीलाई सिण्डिकेट लाद्न खोजिएपछि उक्त कार्यप्रति मेनपावर व्यवसायीहरू चिन्तित बनेका छन । केही मेनपावर व्यवसायीहरूले सम्बन्धित देशले गर्दै आएको काम आफैं गर्ने कोसिसमा लागेका हुन ।

साउदीसँगै युएईको भिसा सेन्टर नेपालमा स्थापना गर्न केही व्यवसायीहरू नै सक्रिय रहेको पाइएको छ । युएईकै द सेक्युरिटी इन्ड्रस्टी रेगुलरटी एजेन्सी (सिरा) लाई समेत नेपालमा ल्याउन खोजिरहेको बताइएको छ ।

नेपालले जतिसक्दो कम लागतमा कामदार पठाउनुपर्ने भन्ने मान्यता रहेको तर सीमित स्वार्थमा लागेका व्यवसायीहरू बढी पैसा असुल्ने धन्दामा लाग्न थालेको मेनपावर ब्यावसायीको आरोप छ । नेपालस्थित साउदी दूतावास र केही व्यवसायीको मिलेमतोमा जाउलाखेलमा साउदी भिसा सेन्टर खोल्न लागिएको छ ।

साउदीको भिसा सेन्टर केही महिना अगाडि बंगलादेशमा पनि खुलेको थियो । तर, व्यवसायीको आन्दोलनपछि तत्काल बन्द भएको थियो । साउदी सरकारको कुनै अनुमति बिना नै उक्त भिसा सेन्टर खोलिएको थियो । त्यसपछि व्यवसायीले चर्को आन्दोलन गरेपछि बन्द भएको थियो ।

भिसा सेन्टरको नाममा कलेक्सन सेन्टर खोल्ने, बायोमेट्रिक गर्ने र डकुमेन्ट तथा पासपोर्ट सङ्कलन गर्ने गरी कार्य अगाडि बढाउन खोजेका हुन । त्यस«का लागि उनीहरूले प्रति कामदार ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तोक्ने गृहकार्यमा छन् । नेपालस्थित साउदी अरेबियाको दूतावासले भीएफएस प्रणालीबाट भिसा प्रदान गरेर सेवा प्रवाह गर्ने विषयमा व्यवसायीहरूसँग छलफल अगाडि बढाएको थियो । नेपाली व्यवसायीहरूले एकलौटी रूपमा कलेक्सन सेन्टर खोल्न लबिङ गरिरहेका बेला दूतावासले भीएफएस प्रणालीबाट सेवा प्रवाह गर्ने विषयमा छलफल थालेको छ ।

नेपालका लागि साउदी राजदूत साद अबुहैमेद र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलबीच दूतावासमा छलफल भएको थियो । छलफलमा राजदूत अबुहैमेदले साउदी सरकारले पनि निकट भविष्यमा भीएफएस प्रणालीबाट भिसा प्रोसेसिङ गर्ने गरी तयारी गरेको बताएका थिए ।

राजदूत अबुहैमेदसँग व्यवसायीले सिण्डिकेटको विषयसमेत उठान गरेका थिए । तर, त्यसमा उनले व्यवसायीको चिन्ता र चासोबारे जानकार रहेको भन्दै भीएफएस प्रणालीमा कुनैपनि नेपाली व्यवसायी र नेपाली कर्मचारीको संलग्नता नरहने र पूर्ण रूपमा साउदी सरकारको नियन्त्रणमा रहने प्रष्ट पारेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *