कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

news-details

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भइरहेको छ ।

सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

सो शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन । कृषि तथा पशुपालनतर्फको पहिलो चरणको तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो ।

दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फ पहिलो र दोस्रो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि तथा पशुपालनतर्फको गत पुस ४ देखि ८ गतेसम्म आवेदन दिने समय तोकेको थियो ।

ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको जानकारी दिए । उनका अनुसार यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यस वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी लिँने भएको छ ।

शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुई हजार नेपाली श्रमिक पठाउने गरी तयारी गरेको जनाएको छ । नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको शाखाका निर्देशक कटुवालले जानकारी दिए ।

कोरियाले सन् २०२३ मा नेपाललगायत विभिन्न १६ देशबाट एक लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएकामा पहिलो चरणमा कृषि तथा पशुुपालनतर्फ १० हजार ७५८ माग आउनुलाई नेपालीले ईपीएसमार्फत कोरिया गएर देखाएको इमानदारिताको सकारात्मक सङ्केतका रूपमा लिएको छ ।

कोरियाले यस वर्षदेखि देशगत रूपमा कोटा निर्धारण नगर्ने नीति लिएकाले नेपालीको कामप्रतिको लगनशीलता र इमानदारिताका कारण उत्पादनतर्फ नेपालीका लागि ३० हजारकै हाराहारीमा माग आउने अपेक्षा गरेको शाखाले जनाएको छ । सन् २०२३ का लागि उत्पादनतर्फको माग भने आइसकेको छैन ।

सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेका छन् । सन् २००८ देखि बर्सेनि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा सन् २०२० र सन् २०२१ को दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *