वैदेशिक रोजगारमा रहेका नेपालीलाई चैत्र १५ गतेदेखि टेलिमेडिसिन सेवा

news-details

वैदेशिक रोजगार बोर्डले चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि अनलाइन टेलिमेडिसिन सेवा शुरू गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारहरूलाई स्वास्थ्य सेवा प्रदान गरी उनीहरूको हकहित संरक्षण गर्ने उद्देश्यअनुसार टेलिमेडिसिन सेवा प्रारम्भ गर्न लागिएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि टेलिमेडिसिनको कार्यक्रम संचालनका लागि वोर्ड र बीर अस्पतालबीच सहकार्य गर्नका लागि दुई पक्षिय सम्झौता भइसकेको छ ।

ठूलो संख्यामा नेपाली कामदार रहेका खाडी मुलुक तथा मलेसियामा हप्ताको दुई दिन शुक्रबार र आइतबार सार्वजनिक बिदा पर्ने भएको र उक्त दिनहरूमा टेलिमेडिसिन सेवा प्रदान गर्दा नेपाली कामदारहरूलाई सेवा लिन सहज हुने आंकलन गरी शुक्रबार र आइतबार सेवा प्रदान गर्न लागिएको बोर्डले बताएको छ ।

दूर–चिकित्सा अर्थात् टेलिमेडिसिन चिकित्सा क्षेत्रमा भएको नवीनतम विकास मानिन्छ । वैदेशिक रोजगारमा रहेका कामदारहरु विभिन्न रोगबाट पीडित हुने भएपनि समयमा चिकित्सकको उचित स्वास्थ्य सल्लाह नपाउँदा रोग लुकाएर बस्ने गरेका छन् ।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले विभिन्न प्रविधिको प्रयोग गरेर विदेशमा कार्यरत कामदारलाई नेपालबाट चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार तथा सल्लाह दिइने बताएका छन् । बोर्डले टेलिमेडिसिन सेवा लिने कामदारको प्रेशक्रिप्सन अनलाइनमार्फत उपलब्ध गराउने, त्यसको सम्पूर्ण खर्च पनि बोर्ड आफैंले व्यहोर्ने भन्दै सेवा पूर्णतः निःशुल्क रहने बताएको छ ।

टेलिमेडिसिन सेवा लिन चाहने वैदेशिक रोजगारीमा रहेका कामदारले चैत १५ गते अर्थात् मार्च २९ तारिखदेखि बिहान १० बजेबाट सार्वजनिक बिदाका दिनबाहेक नेपालको सरकारी कार्यालय समयबमोजिम सेवा प्रवाह गर्ने बोर्डले बताएको छ ।

बोर्डले सेवा लिन ९८५१३४५७०१ र ९८५१३४५७०२ मा रहेकोे भाइबर, हाट्सएप वा ईमो लगायतका सामाजिक सञ्जालबाट फोन गरेर आफ्नो समस्या बताउन सकिने र उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा शुक्रबार र आइतबार वीर अस्पतालका चिकित्सकहरूले विशेषज्ञ सेवा दिने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ ।

सरकारले गत वर्ष जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम घटाउँदै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई अनलाइन प्रणालीबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने घोषणा गरेको थियो । संसदबाट बजेट पारित भएको करिब ९ महिनापछि टेलिमेडिसिन सेवा शुरूवात गर्न लागिएको हो । मन्त्रालयले गत फागुन २ गतेमात्र टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि २०७९ पारित गरी सार्वजनिक गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *