रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ गते काठमाडौंमा हुँदै

news-details

रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही चैत्र ११ र १२ गते हुने भएको छ । काठमाण्डौंको धुम्बाराहीमा आयोजना गरिने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले  पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

देशभरबाट करिब ४ सय प्रतिनिधिको सहभागीता रहने महाधिवेशनमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चैत्र ११ गते उद्घाटन सत्र तथा १२ गते नेतृत्व चयन, प्रशिक्षण सहितका कार्यक्रम हुने रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जेपी सापकोटाले जानकारी दिएका छन ।

वि सं २०७८ पौष १६ गते चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी तथा विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिएको छ ।

नेकपा (एमाले) को जनसंगठनको रुपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको छ ।

बर्षै पिच्छे सरकारी कार्यक्रमहरुमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई सिप अनुसारको व्यवसाय संचालन र रोजगार सृजना गरी समाजमा पुनःएकीकरण गर्ने नीति उल्लेख गरिएपनि वास्तविक रिटर्नीहरुको पहुँचमा कुनै कार्यक्रमहरु पुग्न नसकेको भन्दै फेडेरेसनले अब यस विषयमा बुलन्द आवाज उठाउने जनाएको छ ।

फेडेरेशनले आर्थिक र सामाजिक रुपमा सम्पूर्ण रिटर्नीहरुको साझा संस्थाको रुपमा कार्यक्रमहरु अगाडि बढाउँदै आएको र यसको लागि संगठनले उद्यमशिलता र रोजगार विभाग समेत गठन गरी कार्यक्रम अगाडि बढाएको पनि जानकारी दिएको छ ।

‘हामी अहिले संगठन निर्माणकै चरणमा छौ, योसँगसँगै विदेशबाट फर्किएर स्वदेशमा पुर्नस्थापित हुन खोज्नेहरुलाई कसरी उद्यमशिलतासँग जोडने भन्ने प्रयत्नमा छौ’ फेडेरेसनका अध्यक्ष रोकाहालले भने -‘पहिलो एतिहासिक महाधिवेशनमा सांगठनिक र आर्थिक छलफलसँगै वैदेशिक रोजगारीको विषय र उद्यमशिलताको विषयमा गहन छलफल गर्नेछौ ।’

अध्यक्ष रोकाहाले विदेशबाट फर्किएकाहरुको सही तथ्यांक राख्न नसक्दा रिटर्नीहरुको बारेमा स्पष्ट नीति निर्माण हुन नसकेको बताउदै फेडेरेशनले स्थानीय तहबाटै सरकारलाई यस्तो तथ्यांक संकलनका लागि सहयोग गर्ने बताए । ‘सरकारसँग रिटर्नीहरुको कुनै तथ्यांक नै छैन, यसको डाटा व्याङक बनाउन आवश्यक छ, यसमा सरकारलाई सहयोग गर्नेछौ’ उनले भने ।

‘पुस्तौं पुस्तासम्म विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठन क्रियाशिल छ, सरोकारित निकाय र क्षेत्रसँग सहकार्य अगाडि बढाएका छौ, यसको लागि अधिकार सम्पन्न सरकारी संरचना स्थापनामा पहल र पैरवी गर्ने, केन्द्र प्रदेश र स्थानीय तहको योजनामा रिटर्नी लक्षित कार्यक्रमहरुमा सहभागी गराउने, स्थानीय स्तरमा रहेका रिटर्नीहरुको दक्षता बृद्धि गर्ने, सामुहिक र व्यक्तिगत उद्यमहरुको विकास गरी बजारीकरण आदिमा प्रभावकारी सञ्जाल परिचालन गर्ने लक्षित योजनासहितका पक्षहरुसमेत महाधिवेशनका छलफलका बिषय रहनेछन्’ फेडेरेशनद्धारा पत्रकार सम्मेलनमा जारी बिज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *