वैदेशिक रोजगारीको सपना देखाउँदै एजेन्टद्धारा ठगी

news-details

वैदेशिक रोजगारीमा गएर पैसा कमाउने सपना देख्ने गरेका कतिपय युवा युवती एजेन्टको ठगीमा पर्ने गरेका छन् । उनीहरू आधिकारिक म्यानपावरको सम्पर्कमा नआई घरघरमा पुग्ने एजेन्टको अनेकखाले प्रलोभनमा परेर ठगिने गरेका छन् ।

कतिपय युवा युवती एजेन्टको मार्फतबाट वैदेशिक रोजगारीको निम्ति विदेश पुगे पनि भने अनुसारको तलब र काम नपाएपछि अलपत्र पर्नु परेको अवस्था छ । केहीलाई भने एजेन्टले ‘आज विदेश उडाइदिन्छु भोलि उडाइदिन्छु’ भन्दै लाखौँ रकम कुम्ल्याएर बेपत्ता भएको पनि उदाहरण प्रशस्त छन् ।

पथरी शनिश्चरे–५ का जीतेन्द्र खत्रीले आफू एजेन्टबाट ठगीमा परेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा रहेको आप्रवासी स्रोत केन्द्र विराटनगर मोरङमा उजुरी हाले । आफूसँग पटक–पटक गरेर चार वर्षअघि मेक्सिको उडाइदिने र आकर्षक काममा लगाइदिने भन्दै एक एजेन्टले रु चार लाख ठगी गरेको खत्रीले बताए । आज भोलि मेक्सिको उडाइदिने भन्दाभन्दै चार वर्ष बितेको र रकम पनि फिर्ता नआएको भन्दै खत्रीले आइतबार केन्द्रमा एजेन्ट विरूद्ध ठगीको उजुरी दर्ता गराएका हुन् ।

रतुवामाई–७ का जोगेन्द्र ताजपुरिया, बुद्धिराज शर्मा र किशनलाल ताजपुरियालाई एजेन्टले आकर्षक कामको लोभमा महिना दिनअघि मलेसिया उडाएको थियो । तर उनीहरू हाल मलेसियामा अलपत्र परेका छन् । न खाना, न काम पाएको भन्दै एजेन्टका विरूद्ध उनीका आफन्त सम्पतलालले केन्द्रमा उजुरी दिएका छन् ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालको ३९ जिल्लामा स्थानीय सरकारको नेतृत्वमा सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा सुशासन कायम गर्नु परियोजनाको उद्देश्य रहेको छ । यसै परियोजनाअन्तर्गतको आप्रवासी स्रोत केन्द्रमा आव २०७९/०८० को साउनदेखि माघ महिनासम्ममा ७९ वटा समस्या दर्ता गरिएका थिए । यी समस्यामध्ये ठगीसम्बन्धी समस्याका ७१ उजुरी परेका थिए ।

वैदेशिक रोजगारीका क्रममा मृत्युसम्बन्धी तीन, अङ्गभङ्गसम्बन्धी चार र एक अन्य समस्या केन्द्रमा दर्ता भएको थियो । केन्द्रले २७ समस्याको समाधान गरेको छ र रु ६४ लाख ६९ हजार एक सय असुल उपर गर्न सफल भएको छ । केन्द्रका स्रोत व्यक्ति सरोजकुमार खनालले वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट हुने गरेको ठगी, विदेशमा अलपत्र परेको, मृत्युपछि बीमाबाट प्राप्त हुने रकम प्राप्त नभएको समस्या आउने गरेको बताए ।

केन्द्रका अर्का स्रोत व्यक्ति मुना निरौलाले घरघर गएर एजेन्टले वैदेशिक रोजगारीमा पठाइदिने आश्वासनका साथ विभिन्न प्रलोभन दिने गरेको बताइन् । उनले गाउँघरमा यस्ता अनधिकृत एजेन्टको बाहुल्य रहेको बताइन् । निरौलाले आधिकारिक म्यानपावरको माध्यमबाट विदेश जानुपर्ने र यो सिलसिलामा गरिने आर्थिक कारोबार बैंक वा वित्तीय संस्थाको माध्यमबाट मात्र गरिनुपर्ने बताइन् । उनले वैदेशिक रोजगारीमा जानेले अनिवार्य श्रम स्वीकृति लिएरमात्र जानु पर्ने बताइन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले एजेन्टले सोझासिधा युवा युवतीलाई विदेशको सपना देखाएर ठगी गर्दै तीन महिने भिजिट भिसामा पनि उडाउने गरेको पाइएको बताए । उनले आधिकारिकरूपमा नेपालको बाटो प्रयोग गरेर मात्र विदेश जानुपर्ने बताए । वैदेशिक रोजगारीका सिलसिलामा भएको विपद् वा ठगीबारे कुनै उजुरी परे तत्कालै त्यसको समाधान निकाल्ने गरी काम अघि बढाउने गरेको पोखरेलले बताए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *