मैले वैदेशिक रोजगार व्यवसायी संघमा सदस्यदेखि द्धितिय उपाध्यक्षसम्म विभिन्न पदमा रहेर काम गरिसकेको छु । १२ वर्ष संघको विभिन्न पद र जिम्मेवारीमा रहेर व्यवसायीहरुको सेवा गरिसकेको हुनाले यसपाली अहिलेसम्मको अनुभव लिएर नेतृत्वका लागि अगाडि बढेको हुँ ।

वैदेशिक रोजगार व्यवसायको क्षेत्र व्यवस्थित, मर्यादित, पारदर्शी र सुरक्षित बनाउन सबैभन्दा पहिला नीतिगत सुधारमै ध्यान दिनुपर्ने आवश्यक्ता छ । नीति नियमलाई समय सापेक्ष बनाउन नीतिगत रुपमै सुधार ल्याउनुपर्ने भएकाले यसका लागि पहल गर्न र यसलाई गन्तव्यमा पु¥याउनलाई नै संघको अध्यक्षमा मेरो उम्मेद्वारी हो ।

वैदेशिक रोजगारको मुख्य समस्या भनेको एकलौटी निर्णय हो । हामीले कुनै पनि कामदारले भनिए बमोजिमको सेवा सुविधा पाएन भने जिम्मेवारी लिएका छौ । तर, कुनै कामदार आएर उजुरी हालेकै भरमा व्यवसायीलाई जुन दुःख दिने काम भैरहेको छ यो गलत छ । यसका लागि सही तथ्य के हो, यथार्थ के हो भनेर स्पष्ट हुन संघले नै एउटा समिति गठन गरिदिएको खण्डमा कामदार र व्यवसायी दुवैले राहत पाउने थिए । त्यो खालको समन्वयकारी भूमिका खेल्नलाई पनि संघको नेतृत्वमा मेरो दावी हो ।

संघलाई संघ जस्तो बनाउनुपर्छ । यहाँ व्यक्ति हावी भएको कारणले संघ ओझेलमा प¥यो । संघले हदै गरे व्यवसायीलाई ६ महिनाको निलम्बन गर्ने हो । यसबाट केही हुनेवाला छैन । संघ हाम्रो अभिभावक हो भन्ने खालको महसुश गराउने कार्यसमिति संघलाई चाहिएको छ । यस्तै व्यवसायीहरुले दैनिक विभिन्न समस्याहरु भोगिरहनु परेको छ । ती समस्या सुन्ने र व्यवसायीको लागि आवाज उठाँउने संस्था पनि छ है भनेर व्यवसायीहरु संघमा आउने वातावरण बनाउने मेरो प्रण छ ।

नीति नियमलाई समय सापेक्ष बनाउन र नीतिगत रुपमै सुधार ल्याउन मेरो उम्मेदवारी : भुवनसिं गुरुङ

हिजो कोभिड १९ का कारण वैदेशिक रोजगार व्यवसाय नै ठप्प भैरहदा पनि बार्षिक १०० जना कामदार नपठाए व्यवसाय रिन्यु नहुने व्यवस्थाका कारण अधिकांश व्यवसाय बन्द हुने अवस्थामा पुगेको थियो । यो अवस्थामा मेनपावर कम्पनी नविकरण गर्ने व्यवस्था बनाउन मैले पनि सकेको योगदान पुर्याएको छु ।

१२ वर्षसम्म संघमा बसिरहदाँ सबै व्यवसायीलाई बचाउनुपर्छ र उनीहरुको जिम्मेवारी लिनुपर्छ भन्ने मात्र मैले सोचे । सबै व्यवसायी बाच्नुपर्छ र सम्मानपूर्वक रुपमा व्यवसाय गर्न पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

यो पेशालाई नजिकबाट बुझेको र संस्थासँग नजिक भएको कारणले सबै व्यवसायीहरुको धारणा के छ भने भुवनसिंह गुरुङलाई पठाउदाँ हामीले केही सुरक्षित महसुश गर्न सक्छौ कि ? व्यवसायमा सहजता आउला कि ? परिवर्तन ल्याउन सकन्छ कि ? भन्ने जुन खालको वहाँहरुले विश्वास र आश राख्नुभएको छ त्यसलाई म टुटन दिने छैन । हिजोको दिनमा पनि मैले दिनरात नभनी व्यवसायीहरुमाझ बसेर काम गरिसकेको हुनाले वहाँहरुले माघ ६ गते मसहित मेरो टिमलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

मैले हिजो संघमा द्धितिय उपाध्यक्ष पदमा काम गर्दैगर्दा १०४० संस्थागत उजुरी थियो र त्यसलाई मिलाउन जसरी म लागिरहे यसबाट पोलेसी लेबलमा नै साच्चिकै परिवर्तन गर्नुपर्छ भन्ने अनुभव र ज्ञान मैले आर्जन गरे । त्यसैले म अध्यक्ष भएसकेपछि तपाईहरुका सानातिना समस्या नीतिगतरुपमै समाधान गर्ने अठोट लिएको छु ।

अर्को कुरा अहिले बजारमा जुन यो आधिकारिक प्यानल हो, यो होइन भन्ने हल्ला छ यसमा कोही पनि भ्रममा नपर्नुहुन मेरो आग्रह छ । यो २९ औ साधारण सभा हो र लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले दिएको टिकट नै मसँग छ । बहुमत कार्यसमितिको समर्थन पनि मलाई छ । यसैले दुविधामा कोही पनि नपर्नुहोस् र यसको बैधानिकता र आधिकारिक के भन्ने कुरा मनैबाट सोचेर माघ ६ गतेको चुनावमा हाम्रो प्यानललाई विजयी गराउनुहोला ।