वैदेशिक रोजगार व्यवसायीलाई माओवादी उपाध्यक्ष महराको आग्रह–‘नीतिगत सुझाव तयार पारेर ल्याए सरकार समक्ष पहल गर्छु’

news-details

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष, प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले वैदेशिक रोजगार व्यवसायीका समस्याहरु नीतिगत रुपमा तयार पारेर आए सरकार समक्ष त्यसलाई पेश गर्न सहयोग गर्ने बताएका छन ।

पार्टी निकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चद्वारा राजधानीमा आयोजित वृहत् व्यवसायी भेलालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष महराले व्यवसायीका समस्याहरु नीतिगतरुपमै सम्वोधन गर्नुपर्ने भएकाले त्यसलाई लिपिवद्ध गरेर ल्याए प्रधानमन्त्री समक्ष आफुले सो पहल गरिदिने प्रतिवद्धता जाहेर गरेका हुन ।

केन्द्रीय राजनीतिमा नयाँ खाले सहमति र सहकार्यको शुरुवात भएको बताउदै उपाध्यक्ष महराले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रिय सहमतिको रणनीतिक कार्यदिशा लिन पार्टी पंक्तिलाई निर्देश गरेकाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा पनि सोही दिशामा केन्द्रित हुन आफु निकटका व्यवसायीलाई आग्रह गरेका छन ।

संघभित्र मञ्चमा आवद्ध व्यवसायीहरु तेस्रो शक्तिकारुपमा देखिएकाले छलफलका लागि सबै पक्षसँग लचिलो हुनु आवश्यक रहेको उनको सुझाव थियो ।

भेलामा व्यवसायीहरुले देशमा रेमिट्यान्स भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आफूहरुलाई सरकार र राजनीतिक दलहरुले अभिभावकत्व प्रदान गर्न नचाहेको गुनासो गरेका थिए । जवाफमा उपाध्यक्ष महराले व्यवसायीका समस्या समाधानका लागि आफूले गम्भीरताका साथ पहलकदमी लिने प्रतिवद्धता जनाए ।

भेलामा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले राष्ट्रियरुपमा नेकपा माओवादी केन्द्र तेस्रो शक्ति हुँदा प्रधानमन्त्री पाउने तर संघमा तेस्रो हैसियतमा रहेको मञ्चले नेतृत्व लिन नसकेको भन्दै मञ्च नेतृत्वको बढी क्रियाशीलताको अपेक्षा गरिएको बताए ।

उनले समग्र वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको आवश्यक्ता औल्याउदै त्यसका लागि नेतृत्वदायी भूमिका लिन मञ्च सक्षम हुनुपर्ने कताए । उनलले भने, ‘वैदेशिक रोजगार जति मर्यादित, पारदर्शी र कल्याणकारी हुनुपर्ने त्यो भएको छैन, मञ्चले त्यो कामको नेतृत्व लिनुपर्छ ।’

पार्टीका वैदेशिक रोजगार फाँट इन्चार्ज लक्ष्मण पन्तले वैदेशिक रोजगारीमा जाने क्रमलाई तत्काल रोक्न नसकिने भएपनि बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेतर्फ काम हुनुपर्ने बताए ।

भेलामा बोल्दै नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई सरकार र दलहरुले कहिले पनि गम्भीरतापूर्वक नलिएको बताउदै संघ कार्यसमितिको निर्वाचनमा सकेसम्म सर्वसम्मतको पहल गर्ने र यो प्रयासले मुर्तरुप लिएन भने मैत्रीपूर्ण प्रतिस्पर्धामा जानुपर्ने पक्षमा मञ्च रहेको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान द्वितीय उपाध्यक्ष कमलदेव मल्लले अन्यत्रबाट भएको ठगीलाई एउटै डालोमा हालेर वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई बद्नाम गर्ने गरिएकाले व्यवसायीले त्यसलाई चिर्नुपर्ने आवश्यकतामा जोड दिए ।

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजका अध्यक्ष किशन प्रधानले संघलाई भ¥याङ बनाएर राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्ने भन्दै सरकारले पनि नियन्त्रणमूखी नीति त्यागेर सहजकर्ताको भूमिकामा उभिनुपर्ने बताए ।

कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष धनलाल जैसीले संघको आगामी चुनावमा सहमतिमा नेतृत्व छान्न एकताको पहल गर्ने बताए । उनले राजनीति गर्न चाहने व्यवसायी भुगोलमा जानुपर्ने सुझाव दिए ।

कार्यक्रममा माओवादी प्रवास समन्वय समिति इन्चार्ज तथा मञ्चका सहइन्चार्ज माओवादी पोलिटब्युरो सदस्य ओम शर्मा, संघका निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु निरौला तथा एकीकृत माओवादी निकट व्यवसायीको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *