कोरोना कालमा वैदेशिक रोजगारीमा धेरै ठगी

news-details

विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ । कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।

कोरोना महामारी सुरु भएपछि गन्तव्य देशमा कार्यरत श्रमिकमा ७१ प्रतिशतले तलब नपाएको, ६६ दशमलव ७ प्रतिशतको तलब तथा सुविधा कटौती गरिएको र करिब २१ प्रतिशतलाई जबरजस्ती कामबाट निकालिएको तथ्याङ्क सार्वजनिक भएको हो ।

प्रवासी नेपाली समन्वय समितिको अध्ययन प्रतिवेदन, २०२२ अनुसार मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेटस (यूएई), बहराइन र कुवेतबाट कोरोनाका बेलामा वैदेशिक रोजगारीबाट फर्किएका ९० जनासँग गरिएको अध्ययनमा यस्तो पाइएको हो । जब कि कोभिड–१९ सुरु हुनुअघि त्यति नै सङ्ख्यामा गरिएको अध्ययनमा ५५ दशमलव ६ प्रतिशतको तलब तथा सुविधा कटौती गरिएको, ४४ दशमलव ४ प्रतिशतले तलब नपाएको र १६ दशमलव ७ प्रतिशतलाई कामबाट निकालिएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘आप्रवासी श्रमिकको ज्याला ठगी र सामाजिक सुरक्षाको महत्व दर्शाउने तीनदिने प्रदर्शनी’मा सरोकारवालाले सोबारे जानकारी गराएका हुन् ।

प्रदर्शनीमा वैदेशिक रोजगारी क्षेत्रका जानकार डा. जीवन बानियाँले वैदेशिक रोजगारका नाममा हुने ठगी कोभिड–१९ पछि बढेकाले यस विषयमा सरकार र विदेशमा रहेका हाम्रा दूतावास श्रमिकप्रति जति उत्तरदायी हुनुपथ्र्यो, त्यति हुन नसकेको तर्क गरे ।

सो प्रदर्शनीको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एक साताअघि कतारमा रोजगारीका क्रममा अलपत्र परेकी महिलाको घटना सम्झिँदै भने, “कतारमा अलपत्र परेकी नेपाली महिलालाई ठूलो प्रयासपछि उद्धार गरियो, उहाँलाई कानुनले नचिनेकाले राज्यलाई उद्धारमा पनि गाह्रो भयो ।”

सरकारले निःशुल्क भिसा र टिकटमा वैदेशिक रोजगारीमा पठाउने कानुनी व्यवस्था गरिएको भए पनि विदेश जाने अधिकांश युवा लाखौँ खर्च गरेर विदेश गएको स्वयं श्रममन्त्री कुँवरले स्वीकार गरे ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि ठगी घरदेखि नै सुरु हुने गरेको चर्चा गर्दै उनले भने, “नेपाली युवामा विदेशमा गएर गर्ने कामको भन्दा पनि जसरी पनि विदेश पुग्नुपर्छ । विदेशमा पुगेपछि सजिलै पैसा कमाइन्छ भन्ने मनोविज्ञानले काम गरेको छ । ती युवाले विदेश पुगेर ठक्कर पाएपछि मात्रै यति पैसा तिरेको भनेर बिनाप्रमाणको उजुरी गर्छन् । के आधारमा कारबाही गर्ने ?”

साथै मन्त्री कुँवरले कोरोना महामारीपछि वैदेशिक रोजगारीमा जाने सङ्ख्या अत्यधिक बढेकाले यस क्षेत्रलाई व्यवस्थित गर्न अझै चुनौती थपिएको बताए । सरकारले शून्य लागतमा सम्बन्धित गन्तव्य देशको श्रम कानुनसरह हाम्रा श्रमिकले पनि सेवासुविधा र पारिश्रमिक पाउनुपर्छ भन्ने कुरा राजदूतावासमार्फत स्पष्ट पारेको उनले जानकारी गराए ।

श्रममन्त्री कुँवरले अब नेपालबाट श्रमिक पठाउँदा तीनरचार महिना तालिम दिएर दक्ष बनाएर मात्रै रोजगारीमा पठाउने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको पनि जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *