विदेशको अस्पतालको कोमामा रहेका नेपालीलाई सहयोगार्थ कार्यदल गठन

news-details

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गम्भिर घाइते तथा विरामी भई अस्पतालमा कोमामा रहेका तथा संघन उपचार गराइरहेकाको उद्धार तथा आवश्यक सहयोग गर्नका लागि कार्यदल गठन गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गरेर तीन सदस्यीय कार्यदल गठन गरेका हुन् । अहिले खाडीका विभिन्न देशमा २२ जना नेपाली कोमामा रहेको जनाइएको छ ।

तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहने छन् ।

समितिले विशेष गरी वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले कोमा रहेर सघन उपचारमा रहेका श्रमिकहरुको एकीकृत तथ्यांक तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट जुटाउने जनाइएको छ ।

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली विरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक–पटक लेखी पठाएको थियो । असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालयका प्रतिनिधिहरुको समेत छलफल भएको थियो । उक्त बैठकले साउदी अरव सहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधी नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।

त्यस्तै विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्ने जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *