शुन्य लागतमा कामदार मलेसिया पठाउन मलेसियाको कम्पनीसँग सम्झौता

आकर्षण इन्टरनेशनल र लाल धनुष मेनपावरले ४५० जना पठाउने
news-details

काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय आईटी कम्पनी विष्ट्रन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि सम्झौता गरेको छ । विष्ट्रनले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालका दुई मेनपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको विष्ट्रन टेक्नोलोजी र नेपालमा रहेको मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा विष्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार विष्ट्र्रन टेक्नोलोजिमा जाने नेपाली श्रमिकले यी दुई मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन् ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा चार सय ५० श्रमिक लैजाने जनाएको छ । आकर्षण इन्टरनेशनलबाट एक सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट एक सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जान पाउने कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद हुनेछैन ।

रेष्पोन्सिबल विजिनेश एलाइन्स (आरबिए)मा आवद्ध विस्ट्रन कम्पनीको चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । यो कम्पनीमा विभिन्न देशमा गरी झन्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।


यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।
आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित आकर्षणले काम गरिरहेको बताए । उनले भने–‘हामी कामदारबाट कुनै पनि पैसा उठाउँदैनौ र हाम्रो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन हुँदैन, हामी इथिकल रिक्रुटमेण्ट मात्र गर्दछौ ।’

१८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । त्यसैगरी लालधनुषले पनि १८ बर्षदेखि वैदेशिक रोजगारमा कामदार पठाउँदै आएको र सन् २०१९ शुन्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाइरहेको जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले सबै कामदार तथा मेनपावरको चाहाना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले भने–‘ अव यी दुई मेनपावर मात्र होइन सबै मेनपावर जिरो कष्टमा नै जानु पर्छ ।’

सरकारले निशुल्क भिसा र टिकटको व्यवस्था गरेपनि अहिले केही मेनपावरले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो हुनेछ । नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने थिए ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “शुन्य लागतमा कामदार मलेसिया पठाउन मलेसियाको कम्पनीसँग सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *