काठमाडौं । मलेसियामा रहेको अन्तर्राष्ट्रिय आईटी कम्पनी विष्ट्रन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि सम्झौता गरेको छ । विष्ट्रनले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालका दुई मेनपावरसँग सम्झौता गरेको हो ।

मलेसियाको विष्ट्रन टेक्नोलोजी र नेपालमा रहेको मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा विष्ट्रन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार विष्ट्र्रन टेक्नोलोजिमा जाने नेपाली श्रमिकले यी दुई मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैया पनि नतिरी मलेसिया जान पाउनेछन् ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा चार सय ५० श्रमिक लैजाने जनाएको छ । आकर्षण इन्टरनेशनलबाट एक सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट एक सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जान पाउने कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ’ उनले भने –‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद हुनेछैन ।

रेष्पोन्सिबल विजिनेश एलाइन्स (आरबिए)मा आवद्ध विस्ट्रन कम्पनीको चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । यो कम्पनीमा विभिन्न देशमा गरी झन्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए ।

शुन्य लागतमा कामदार मलेसिया पठाउन मलेसियाको कम्पनीसँग सम्झौता

यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।
आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित आकर्षणले काम गरिरहेको बताए । उनले भने–‘हामी कामदारबाट कुनै पनि पैसा उठाउँदैनौ र हाम्रो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन हुँदैन, हामी इथिकल रिक्रुटमेण्ट मात्र गर्दछौ ।’

१८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको यो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । त्यसैगरी लालधनुषले पनि १८ बर्षदेखि वैदेशिक रोजगारमा कामदार पठाउँदै आएको र सन् २०१९ शुन्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाइरहेको जनाएको छ ।

शुन्य लागतमा कामदार मलेसिया पठाउन मलेसियाको कम्पनीसँग सम्झौता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले सबै कामदार तथा मेनपावरको चाहाना जिरो कष्टमा वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भएकोमा केही मेनपावरले शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले भने–‘ अव यी दुई मेनपावर मात्र होइन सबै मेनपावर जिरो कष्टमा नै जानु पर्छ ।’

सरकारले निशुल्क भिसा र टिकटको व्यवस्था गरेपनि अहिले केही मेनपावरले जिरो कष्ट लागु गर्दा वैदेशिक रोजगारमा जाने कामदारलाई धेरै सजिलो हुनेछ । नेपालका सबै मेनपावरले जिरो कष्ट लागु गर्ने हो भने विदेशी रोजगारदाताले पनि बाध्य भएर नेपालीलाई नै रोज्ने थिए ।

शुन्य लागतमा कामदार मलेसिया पठाउन मलेसियाको कम्पनीसँग सम्झौता