‘३ हप्ताको प्रसव पीडापछि मन्त्री भएर आइयो, सम्मानजनक काम गरेर फर्किन्छु’ -श्रममन्त्री कुँवर

news-details

नेकपा (एकीकृत समाजवादी)को सिफारिसबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सपथ खाई मन्त्रालयको कार्यभार सम्हालेका शेरबहादुर कुँवरले जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् ।

श्रम मन्त्रालयका कर्मचारीलाई सोमबार संवोधन गर्दै मन्त्री कुँवरले सबै मिलेर जनताको मन जित्ने गरी काम गर्न आग्रह गरेका हुन् ।

पार्टीले मन्त्रीमा सिफारिस गरेको तीन हप्तापछि मन्त्री नियुक्त भएका कुँवरले कटाक्ष गर्दै भने–‘२१ दिनको प्रसव पीडापछि मन्त्री भएर यहाँ आएको छु, अव जनताको मन जितेर सम्मानजनक काम गरेर बिदा हुन चाहन्छु ।’

मन्त्री कुँवरले ३० वर्ष जनता र श्रमिकहरूसँग बिताएको र उनीहरूको अपमान हुने काम आफु पनि नगर्ने र अरुलाई पनि नगर्न निर्देशन दिए । पार्टीले दिएको जिम्मेवारी र श्रमिकको हकहितका लागि सबै पक्षसँग सहकार्य गर्दै काम गर्ने उनले बताए । ‘देशभित्र कसरी रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेमा मेरो ध्यान जानेछ’ मन्त्री कुँवरले भने ।

‘कामदारका समस्या सुन्न श्रमिकका घरआँगनमा पुग्नेछु,’ उनले भने, ‘मन्त्री पद अस्थायी हो, म अहिले मन्त्री भएँ तर हिजो पनि जनता नै थिएँ र भोलि पनि जनता नै हुनेछु, त्यही भएर जनता सम्झेर सक्दो काम गर्ने प्रयास गर्छु ।’

मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘हामी सबै जनताका सेवक हौँ । जनताको सेवाका लागि जस्तो समस्या परे पनि एक ठाउँमा उभिएर काम गर्नुपर्छ । हाम्रो कर्तव्य पनि त्यही हो ।’

अछाम जिल्लाका कुँवर पहिलो पटक मन्त्री भएका हुन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । मन्त्री कुँवर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

हाल उनी एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *