अनलाइनबाट वैदेशिक रोजगारको संस्थागत श्रम स्वीकृति सुरु

news-details

वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ । यो व्यवस्थासँगै म्यानपावर व्यवसायी वा उनिहरुका प्रतिनिधिको भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको काम हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने व्यवस्थाको शुभारम्भ गर्दै सूचना प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्ने मन्त्रालयको प्राथमिकता भएको बताए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यतावस कामका लागि विदेश जाने व्यक्तिलाई उत्प्रेरित गराएर पठाउने गरी छिटो, छरितो र पारदर्शी सेवाप्रवाह गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए।

कार्यालय प्रमुख रमेश अर्यालले श्रम स्वीकृतिलाई छिटो छरितो गर्न सेवाप्रवाहका ४ चरणलाई घटाएर २ चरणको बनाइएको जानकारी दिए । गत माघ देखि पुनस् श्रम स्वीकृतिको काम अनलाईनबाट मात्र गर्दा कार्यालयमा हुने दैनिक १ हजार बढीको भिडभाड हटेको छ।

कार्यालयले पुनस् श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । पुनस् श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र गरेसँगै छिटै नै व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाईनबाट हुने गरी काम भैरहेको कार्यालय प्रमुख अर्यालले बताए ।

चालु आर्थिक वर्षको चैत्रसम्ममा पुनस् श्रम स्वीकृतितर्फ २ लाख ११ हजार, संस्थागततर्फ २ लाख ३० हजार र व्यक्तिगततर्फ २३ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *