छनौंट भएपनि नेपाली युवाहरु इजरायल उड्न पाएनन्

news-details

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ ।

पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए ।

गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ । दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताए । उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ ।

इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *